Skip This
हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
Invalid date format o८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:oo:oo
  • खानी तथा भूगर्भ विभागले भन्यो– जमिनमुनिको सिल्टयुक्त माटो बोरिङका कारण निरन्तर बाहिर निकालिँदा जमिन कमजोर भई सिंकहोल बनेकाले अहिले समस्या निम्तिएको हो

हेटौँडा उपमहानगरपालिका– १६ स्थित गैरीगाउँमा बोरिङका कारण जमिन भासिएर बोलेरो गाडी धसिएको खानी तथा भूगर्भ विभागले निष्कर्ष निकालेको छ । घटनास्थलको प्रारम्भिक अध्ययनपछि खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उक्त स्थानमा भएको घटनालाई जमिनमुनिको कमजोर संरचना र गलत ढंगले गरिएको बोरिङलाई मुख्य कारणका रूपमा औँल्याइएको हो ।

२२ वर्षअघि नै खतरापूर्ण क्षेत्रका रूपमा चिनिएको गैरीगाउँमा लापरबाहीपूर्वक गरिएको बोरिङले अहिलेको समस्या निम्त्याएको विभागको निष्कर्ष छ । विभागले सार्वजनिक गरेको प्रतिवेदनमा जमिनमुनिको सिल्टयुक्त माटो बोरिङका कारण निरन्तर बाहिर निकालिँदा जमिन कमजोर भई सिंकहोल बनेको छ । विभागका भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, असिस्टेन्ट जियोलोजिस्ट मणि खनाल र जियोटेक्निकल ल्याबका टेक्निसियन अमरबहादुर थापा संलग्न टोलीले गरेको अध्ययनअनुसार जमिन भासिएको ठाउँको केन्द्रमा कम्तीमा ११ मिटर गहिरो सिंकहोल देखिएको छ ।

भूगर्भविद् कृष्ण पाण्डेले सिंकहोल निर्माण हुनुमा जमिनमुनि रहेको मसिनो माटो बाहिर निकालिनु मुख्य कारण देखिएको बताए । उनले हाल जमिन भासिएको स्थानमा करिब पाँच वर्षअघिदेखि बोरिङ खनिएको र सो बोरिङबाट धमिलो लेदो माटो मिसिएको पानी आउने गरेको पाइएको जानकारी दिए । ‘लामो समयसम्म सिल्टयुक्त माटो मिसिएको पानी बाहिर निष्कासन हुँदा जमिनभित्र नयाँ भ्वाङ पार्ने र भएका पुराना भ्वाङलाई समेत ठुलो पार्ने गर्दछ,’ उनले भने, ‘गैरीगाउँमा भएको घटना पनि त्यही हो । त्यस स्थानमा बनेको बोरिङबाट नियमित सिल्ट निष्कासन नरोकिँदा जमिनमुनि परेको भ्वाङ बढ्दै गएको र जमिन भासिएको हो ।’ भूगर्भविद् पाण्डेले निरन्तर बोरिङबाट धमिलो लेदो माटो मिसिएको पानी बाहिरिएको र तल्लो भागमा भ्वाङ पर्दै जाँदा जमिनमुनिको भागले माथिको लोड धान्न नसक्दा उक्त स्थानमा रोकेर राखेको गाडी भासिएको स्पष्ट पारे । ‘हाल गैरीगाउँ क्षेत्रमा भएको घटना पनि यस्तै प्रकृतिको हो । सिंकहोल बनेको स्थानमा रहेको बोरिङ पनि भत्किएको छ,’ उनले भने, ‘सिंकहोलको केन्द्रमा अहिले पनि जमिनभित्रबाट सिल्ट मिसिएको पानी बाहिर आइरहेको छ ।’

अध्ययनले जमिनमुनिबाट निरन्तर सिल्ट मिश्रित पानी निस्किरहेकाले भविष्यमा जमिन अझै भासिने जोखिम रहेको चेतावनी दिएको छ । ‘कमजोर जमिनले माथिको लोड धान्न नसक्दा जमिन भासिएको हो । अहिले पनि उक्त स्थानमा जमिनका सतह भासिने घटना हुन सक्छ,’ पाण्डेले भने । यसअघि खानी तथा भूगर्भ विभागले ०६२ मै तयार गरेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सामा पनि गैरीगाउँ क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चित्रित गरिएको उनको भनाइ छ । विभागको पछिल्लो अध्ययनमा भूउपग्रह तस्बिर, पुराना प्रतिवेदन र वैज्ञानिक परीक्षणका आधारमा जमिन भासिएको पुष्टि गरेको उनले बताए ।

गत १९ वैशाखमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमास्थित भित्री सडकखण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने ना.४च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) जमिन भासिएर बेपत्ता भएको थियो । गाडी अहिलेसम्म फेला परेको छैन । गाडीको अगाडिपट्टिको पांग्रा धसिएपछि निकाल्ने क्रममा एक्कासि जमिन नै थर्किएर गाडी भासिएको गाडीका चालक हरेराम राईको भनाइ छ ।