
लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले षड्यन्त्र गर्दै आफूलाई हटाउन खोजेको आरोप लगाएका छन् । गुरुङले बुधबार आफूविरुद्ध अवैधानिक रूपमा अविश्वासको प्रस्ताव ल्याएको र त्यसको विरुद्धमा कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । ‘मविरुद्ध जिल्लाले विश्वास गरेको छ, तर केन्द्रबाट षड्यन्त्र भइरहेको छ,’ गुरुङले पत्रकार सम्मेलनमा भने, ‘केन्द्रका अध्यक्षले जिल्ला–जिल्ला पुगेर मविरुद्ध जबर्जस्ती लिखित र ‘म्यासेन्जर’बाटै हस्ताक्षर संकलन गरेको थाहा पाएको छु ।’ क्यानले गुरुङविरुद्ध २२ चैत ०८१ मा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । सात जिल्लाबाट दुईतिहाइ हस्ताक्षर संकलन गर्दै लुम्बिनी उपाध्यक्ष विनयराज भण्डारीलाई अविश्वास प्रस्ताव बुझाएको थियो ।
आन्तरिक छलफल नगरी सीधै क्यानको केन्द्रीय कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनु गैरकानुनी भएको गुरुङले बताए । अविश्वासको पत्रमा चन्दकै हस्ताक्षर रहेको उनले खुलाए । लुम्बिनी प्रदेश क्रिकेट संघले आगामी ३ जेठमा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि निर्णय गर्न विशेष साधारणसभा बोलाएको छ । उनको कार्यकाल सकिन अझै दुई वर्ष बाँकी छ । गुरुङले अविश्वास प्रस्ताव प्रक्रिया नै अवैधानिक भएको दाबी गरेका छन् ।
गुरुङले विशेष साधारणसभा रोक्न राष्ट्रिय खेलकुद परिषद्मा निवेदन दिएका छन् । राखेपबाट पनि न्याय नपाए आफू अदालत जाने गुरुङले बताए । ‘एक त अविश्वासको प्रस्ताव नै गैरकानुनी छ, सुनियोजित रूपमा विशेष साधारणसभा बोलाइएको छ,’ गुरुङले भने, ‘कहीँकतैबाट न्याय पाइनँ भने अदालत जानेछु ।’
क्यानका अध्यक्ष चन्दले गुरुङका सबै आरोप निराधार रहेको बताए । उनले लुम्बिनी प्रदेशका बहुमत सदस्यको गुनासो मात्र आफूले सुनेको बताए । ‘अहिले मविरुद्ध लागेको आरोपमा कुनै प्रमाण छैन, यो निराधार छ, मैले केवल प्रदेशका साथीहरूको गुनासो सुनेर कारबाही अगाडि बढाएको हुँ,’ चन्दले भने, ‘प्रदेशको समस्या केन्द्रसम्म आउनु राम्रो होइन, यो प्रदेशका साथीहरूले मिलाउनुपर्ने हो, तर साथीहरू केन्द्रसम्मै आएपछि कदम चालियो ।’ लुम्बिनी क्रिकेट संघका अध्यक्ष गुरुङले सुदूरपश्चिम र लुम्बिनीपछि कोशी प्रदेशका अध्यक्ष हटाउने चलखेल सुरु गरेको दाबी गरेका छन् । लुम्बिनीमा सफल भए कोशी प्रदेशका अध्यक्षलाई हटाउने योजना रहेको गुरुङको भनाइ छ । चन्दले सुदूरपश्चिम प्रदेश क्रिकेट संघमा अध्यक्षविरुद्ध कार्यसमितिका ११ जनालाई राजीनामा गराएका थिए । त्यसपछि लुम्बिनी अध्यक्ष फेर्ने षड्यन्त्र थालेको गुरुङको दाबी छ ।
लुम्बिनीलाई आर्थिक सहयोग रोक्का
लुम्बिनीका अध्यक्ष गुरुङले कोषाध्यक्षको हस्ताक्षरविना नै संघ चलाइरहेका कारण क्यानले दिँदै आइरहेको आर्थिक सहयोग रोक्का गरेको चन्दले बताएका छन् । ‘लुम्बिनीको विवाद समाप्त नहुँदासम्म त्यहाँका लागि आर्थिक सहयोग रोक्का गरेका छौँ,’ उनले भने । चन्दले गुरुङको कार्यशैली शंकास्पद रहेको बताए ।
‘अध्यक्ष गुरुङको कार्यशैलीप्रति प्रदेशका सदस्य जिल्लाबाट नै असन्तुष्टि छ, उहाँले कोषाध्यक्षको हस्ताक्षरविना नै संघ चलाइराख्नुभएको छ,’ क्यानका अध्यक्ष चन्दले भने, ‘बहुमतभन्दा बढी सदस्यले आर्थिक रूपमा अध्यक्षको कार्यशैलीमा शंका जनाएका छन् ।’ चन्दले क्यान विधि र विधानले चल्ने संस्था भएको बताए ।
महत्वपूर्ण सिरिजका लागि नेपाल तयार
आइसिसी विश्वकप लिग २ मा अहिले नेपाल सातौँ स्थानमा छ । नेपालले अहिलेसम्म १२ मध्ये दुई खेलमा मात्र जित हात पारको छ । नेपालले ६ अंक जोडेको छ । युएईको पनि ६ अंक छ । तर, नेपालले रनरेटमा युएईलाई पछि पारेको हो । लिग २ को शीर्ष चारमा रहँदा मात्र एकदिवसीय मान्यता रक्षा हुनेछ । नेपालले सन् २०२५ का तीनवटा सिरिज खेल्दै छ । यस वर्षको पहिलो सिरिज खेल्न नेपाली टोली बुधबार बेलायत गएको छ ।
नेपालले १२ जेठसम्म इंग्ल्यान्डमा अभ्यास गर्नेछ । त्यसपछि खेलाडीले स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ ।
विश्वकप लिग २ मा प्रतिस्पर्धा गर्न नेपाल तयार भएको क्यानले जनाएको छ । बेलायतको अभ्यासपछि नेपालले स्कटल्यान्डको भ्रमण गर्नेछ । नेपालले स्कटल्यान्ड ‘ए’ टोलीसँग दुईवटा अभ्यास खेल्नेछ । त्यसपछि लिग २ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेल्नेछ । १९ जेठबाट लिग २ सुरु हुनेछ ।
सन्दीपले क्यानको केन्द्रीय सम्झौता नगर्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौतामा हस्ताक्षर नगर्ने भएका छन् । सन्दीपले सामाजिक सञ्जालबाट क्यानसँगको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने घोषणा गरेका हुन् । उनले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रूपमा अघि बढ्न यो कदम चालेको बताएका छन् । क्यानका प्रवक्ता छुम्बी लामाले सन्दीपको निर्णयबारे जानकारी आएको र छलफलपछि मात्र निर्णय लिने बताए । सन्दीप बुधबारै स्कटल्यान्ड भ्रमण गर्ने टोलीमा समावेश थिए । क्यानले गत फागुनमा सार्वजनिक ग्रेडअनुसार सन्दीप शीर्षमा थिए । शीर्ष ग्रेडमा रहेका खेलाडीले क्यानबाट मासिक एक लाख रुपैयाँ पाउँछन् । ग्रेड ‘बी’ले ७० हजार, ग्रेड ‘सी’ ले ५५ हजार र ग्रेड ‘डी’मा रहेका खेलाडीले क्यानबाट मासिक ३५ हजार रुपैयाँ पाउँछन् ।