Skip This
सहिद स्मारक ‘बी’ डिभिजन लिग : प्लानिङ ब्वाइज  ‘ए’ डिभिजनमा उक्लियो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएपछि प्लानिङ ब्वाइजका खेलाडी र अफिसियल
Invalid date format o८:२o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ‘बी’ डिभिजन लिग : प्लानिङ ब्वाइज  ‘ए’ डिभिजनमा उक्लियो

अन्तिम दुई खेल अगावै प्लानिङ ब्वाइज सर्वाधिक २७ अंकका साथ शीर्ष डिभिजनमा बढुवा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२o:oo

प्लानिङ ब्वाइज युनाइटेड दुई खेलअगाडि नै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोवाटोको एन्फा कम्प्लेक्समा मंगलबार बाँसबारी क्लबलाई २–० ले हराउँदै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लन सफल भएको हो । ‘बी’ डिभिजनमा उक्लेको तीन वर्षभित्रै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा पुगेको छ । प्लानिङ ब्वाइजले ११ खेलबाट २७ अंक बनाएको छ । लिगका अन्तिम दुई अगाडि नै प्लानिङ ब्वाइजले शीर्ष डिभिजन खेल्ने सपना साकार बनाएको छ । 

‘ए’ डिभिजन लिगमा दुई क्लब उक्लने प्रावधान छ । दोस्रो क्लबका रुपमा श्री भगवती शीर्ष डिभिजनमा उक्लने सम्भावना छ । १० खेल खेलेको श्री भगवतीसँग २२ अंक छ । अब श्री भगवतीले बाँकी तीन खेलमा तीन अंक जोडे पनि ‘ए’ डिभिजनमा उक्लनेछ । बाँसबारीले प्लानिङ ब्वाइजलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेका थियो । तर, दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरिरहेको प्लानिङ ब्वाइजलाई बाँसबारीले रोक्न सकेन । 

खेलको ४७औं मिनेटमा बाँसबारीका गोलरक्षक सन्दीप राउतको गल्तीमा प्लानिङ ब्वाइजले आत्मघाती गोलको उपहार पाएको थियो । खेलको ८२औँ मिनेटमा पुजन थापाले गोल गरे । यस गोलसँगै प्लानिङ ब्वाइजले २–० को जित निकाल्यो । प्लानिङ ब्वाइजसँग पराजित भएको बाँसबारी ११ खेलबाट १५ अंकका साथ सातौँ स्थानमा झरेको छ । 

आठ खेलपछि शाहको निलम्बन फुकुवा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरस्वती क्लबका स्ट्राइकर धीरेन्द्रबहादुर शाहमाथि लगाइएको प्रतिवन्ध फुकुवा गरेको छ । एन्फाले ‘बी’ डिभिजन लिगको आठ खेलपछि शाहमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो । यसअघि एन्फाले अर्को निर्णय नभएसम्म उनलाई लिग खेल्नमाथि प्रतिबन्ध लगाएको थियो । एन्फाले मंगलबार सरस्वती क्लबलाई पत्र पठाउँदै धीरेन्द्र लिग खेल्न योग्य रहेको जनाएको थियो । अव उनले लिगका बाँकी सबै खेल खेल्नेछन् । 

‘संघको अपिल समितिले सरस्वतीका धीरेन्द्रबहादुर शाहलाई जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१ मा खेल्न अनुमति दिएको छ,’ एन्फाले जनाएको छ, ‘यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले गरेको निर्णयलाई बदर गर्दै अपिल समितिले शाहलाई खेल्न बाटो खुला गरिदिएको हो ।’ 

समितिले यसअघि नयाँबस्ती युवा क्लबलाई सरस्वती युवा क्लबविरुद्धको खेलमा दिएको ३–० को नतिजालाई उल्ट्याएको छ । सरस्वतीले नयाँबस्तीविरुद्धको तीन अंक प्राप्त गरेको छ । एन्फाले शाहलाई निलम्बन गरी सरस्वतीको पनि तीन अंक खोसिएको थियो । शाहले ०७९ सालमा टुसाल युथ क्लबसँग ‘बी’ डिजिनका लागि सम्झौता गरेका थिए । चालु लिगमा उनले सरस्वतीबाट खेल्दा नयाँबस्तीले उनीविरुद्ध उजुरी दर्ता गरेको थियो । २०७९ सालमा ‘बी’ डिभिजन स्थगित भएको थियो । त्यसपछि यस सिजनका लागि सरस्वतीले शाहको नाम फिफा कनेक्टमा दर्ता गर्दै ‘बी’ डिभिजनका लागि अनुबन्ध गरेको थियो । ‘बी’ डिभिजन सुरु भएपछि शाहले दुई खेल खेलेका थिए । जसमा उनले दुई गोल पनि गरे । 

एन्फाका कारण मानसिक यातना
८ वैशाखमा सरस्वती क्लबले आफ्ना खेलाडी शाहमाथि बिनागल्ती कारबाही गरिएको आरोप लगाएको थियो । टुसालसँगको सम्झौतालाई आधार बनाएर नयाँबस्ती क्लबले ७ चैतमा शाहविरुद्ध प्रोटेस्ट राखेको थियो । एन्फाले त्यसैलाई आधार बनाएर उनलाई अर्को निर्णय नभएसम्म निलम्बन गर्‍यो । सरस्वतीका अध्यक्ष उत्तमराम भण्डारीले विनाकारण खेलाडीलाई कारवाही गरेको बताए । एन्फाको कारवाहीका कारण खेलाडीले मानसिक यातना बोकेको अध्यक्ष भण्डारीको दाबी छ । ‘विनाकारण एन्फाले हाम्रा खेलाडीमाथि कारबाही गरेको थियो, प्रतिबन्धको समयमा खेलाडीले मानसिक यातना सिकार भए,’ उनले भने । सरस्वती युवाले मंगलबार वीरगन्ज युनाइटेडविरुद्ध ३–० को सहज जित दर्ता गर्‍यो ।

जितसँगै ११ खेलमा १५ अंक जोडेको सरस्वती आठौं स्थानमा उक्लेको छ । वीरगन्ज चौथो स्थानमा झरेको छ । सरस्वतीलाई जित दिलाउन ज्ञानेन्द्र जोशी, नरेशकुमार खत्री र धीरेन्द्रबहादुर शाहले गोल गरेका थिए । खेलको ७२औँ मिनेटमा शाहले सरस्वतीलाई ३–० को जित दिलाए । शाहले प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै गोल गरेका हुन् ।