
बंगलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहनेछ ।
अवामी लिग बंगलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार चार सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।
७७ वर्षीया हसिना भारतमा स्वनिर्वासनमा छिन् ।
बंगलादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए।
८४ वर्षीय युनुसले डिसेम्बरको सुरुमा र पछिल्लो समय जुन २०२६ सम्ममा संसदीय चुनाव हुने बताएका छन् ।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आफ्नो कारबाही सम्पन्न नगरेसम्म पार्टी र यसका सम्बद्धहरूलाई र्याली र सम्मेलनसहित कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गर्ने निर्देशन पनि जारी गरेको छ ।
बंगलादेशमा चुनावमा भाग लिनलगायत राजनीतिक गतिविधिहरूमा संलग्न हुन राजनीतिक दलहरू निर्वाचन आयोगसँग दर्ता हुनुपर्छ ।