
दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरूलाई सम्मान गरिएको छ ।
खत्रीसहित नेपाली कविहरू सुनीलदीप्त राई र दिलीप वान्तबाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष साे प्राप्त गरेको थियो । आयोजकका अनुसार सुरुवाती चलचित्र र समापनको चलचित्रलाई विशेष मानिन्छ र यसलाई महोत्सको अनुहार भनिन्छ ।
सो सम्मान खत्रीका साथै डकुमेन्ट्रीकी निर्माता तथा निर्देशक किम ओक यङ, सहायक निर्देशक किम सनहाय, नेपाली भाषाकी अनुवादक ई गिजु मुना र मोहन कार्कीलगायत डकुमेन्ट्री निर्माण टोलीलाई रातो कार्पेटले सम्मान गरिएको हो ।
महोत्सव कोरियाका तीन प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमध्ये एक हो । २६औँ जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजकका अनुसार महोत्सवमा विश्वभरबाट दुई हजार ४९७ चलचित्र पेस गरिएका थिए र ५७ देशका २२४ चलचित्र, नौ हजार १४८ कथानक चलचित्र र ७६ छोटा चलचित्रहरू प्रदर्शन गरिएका थिए । तीमध्येबाट उत्कृष्ट दुई चलचित्रलाई सुरुवात र समापनको विशेष साे प्रदान गरिएको थियो ।
१० दिन चलेको महोत्सवमा सुरुवाती फिल्म राडु जुडद्वारा निर्देशित ‘कन्टिनेन्टल’ २५ छनोट भएको थियो भने समापनका लागि काव्य डकुमेन्ट्री चलचित्र ‘मेसिनहरूको देशमा’ उत्कृष्ट हुँदै समापनको साे पाएको थियो । महोत्सव आयोजक समितिका अध्यक्ष मिन वू बेओमले हालसम्मकै संस्करणको उच्चतम रेकर्ड हासिल गर्न कार्यक्रम सफल रहेको बताए । सम्मानबाट मुलुकको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा बढेको कवि खत्रीले बताए । रासस