१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
युद्धविराम घोषणापछि पाकिस्तानको मुल्तानमा खुसियाली मनाउँदै सर्वसाधारण । तस्बिर : एएफपी/रासस
Invalid date format o६:o९:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

भारत–पाकिस्तान युद्धविराम : द्विपक्षीय मुद्दामा वार्ता गर्न सहमत

चार दिनको गोलाबारीमा कम्तीमा पाकिस्तानमा ३१ र भारतमा १६ को मृत्यु

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o९:oo

युद्धविराम गर्दै छन् भनेर अमेरिकी राष्ट्रपति ट्रम्पको पहिल्यै घोषणा

भारत र पाकिस्तानबिच बुधबारदेखि सुरु भएको हवाई बमबारी बन्द भएको छ । दुवै देशले शनिबार अपराह्न युद्धविराम गर्दै दुईपक्षीय मुद्दामा छलफल गर्ने घोषणासमेत गरेका छन् । चार दिनदेखिको भारत–पाकिस्तान गोलाबारीले क्षेत्रीय अशान्ति बढ्दै गएको थियो । 

भारत र पाकिस्तानले युद्धविरामको औपचारिक घोषणा गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले यसबारे सार्वजनिक गरेका थिए । उनीहरूले भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको सूचना सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका थिए । तर, भारत र पाकिस्तानले भने युद्धविराममा अमेरिकी भूमिकाबारे केही बोलेका छैनन् । 

नयाँदिल्लीको साउथ ब्लकस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशसचिव विक्रम मिश्रीले युद्धविराम भएको सार्वजनिक गरे । मिश्रीले शनिबार दिउँसो ३ः३५ बजे पाकिस्तानी सेनाका युद्धकार्य महानिर्देशक (मेजर जनरल कासिब अब्दुल्लाह)ले भारतीय समकक्षी (लेफ्टिनेन्ट जनल राजीव घई)लाई फोन गरेको र युद्धविरामका लागि सहमत भएको जानकारी दिए । मिश्रीका अनुसार दुई सैनिक जनरलबिच आइतबार मध्याह्न १२ बजे फेरि कुराकानी गर्ने तय भएको छ । भारतीय समयअनुसार शनिबार साँझ ५ बजेदेखि दुवै पक्षबिच स्थल, हवाई तथा जलमा युद्धविराम भएको छ र आफ्ना सबै फौजलाई यो निर्देशन दिइसकेको छ । तर, मिश्रीले सीमाक्षेत्रमा घुसपैठ भइरहेको भन्दै युद्धविरामको पालना गर्न र गोलाबारी रोक्न पाकिस्तानलाई आग्रह गरेका छन् । 

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा भने, ‘भारत र पाकिस्तानले आज गोलीबारी र सैन्य कारबाही रोक्ने विषयमा समझदारी गरेका छन् । भारतले सबै प्रकारका आतंकवाद र अभिव्यक्तिविरुद्ध निरन्तर दृढ र सम्झौताहीन अडान कायम राखेको छ । यो जारी रहनेछ ।’

त्यस्तै, पाकिस्तानी विदेशमन्त्री दारले सामाजिक सञ्जाल एक्समार्फत युद्धविरामका लागि सहमत भएको सार्वजनिक गरेका छन् । ‘पाकिस्तान र भारत तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानले सधैँ आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षा चाहेको छ,’ उनले भने । 

जम्मु–कस्मिरस्थित पहलगाममा ९ वैशाखमा आतंककारी हमला भएपछि त्यसको जवाफमा भारतले ‘अप्रेसन सिन्दूर’ घोषणा गरेको थियो । त्यसक्रममा बुधबार पाकिस्तानमा रहेका आतंकवादी समूहहरूको पूर्वाधार र सेल्टरमा हमला गरेको भारतीय दाबी थियो । पाकिस्तानले भारतविरुद्ध जवाफी हमला गरेसँगै चार दिनदेखि लगातार भारत र पाकिस्तानबिच हवाई गोलाबारी चलेको थियो । पाकिस्तानले शनिबारै भारतविरुद्ध ‘अप्रेसन बुनयान उम मरसुस’ घोषणा गरेको थियो । यसबिचमा भएका मानवीय एवं भौतिक क्षतिको विवरण दुवैले सार्वजनिक गरेका छैनन्, तर दुवै देशले अर्को पक्षलाई ठूलो क्षति पुगेको दाबी गर्दै आएका छन् । 

शुक्रबारदेखि युद्ध रोक्न भएका अन्तर्राष्ट्रिय प्रयासले शनिबार अपराह्न मूर्त रूप लिएपछि साँझ दुवै देश युद्धविरामका लागि तयार भएका हुन् । जानकारहरूका अनुसार अमेरिकी प्रयासमा युद्धविरामका लागि पाकिस्तान सुरुमा सहमत भएपछि अन्तर्राष्ट्रिय मुद्राकोषले पाकिस्तानी अर्थतन्त्रको उद्धार गर्न राहतका लागि तत्कालै एक अर्ब अमेरिकी डलर निकासा गर्ने घोषणा गरेको थियो । यसको पृष्ठभूमिमा अमेरिकी कूटनीतिक अधिकारी सक्रिय थिए । 

‘म हृदयको गहिराइदेखि नै भारत र पाकिस्तानबिच युद्धविराम घोषणा भएको भारत सरकारका प्रवक्ताको भनाइलाई स्वागत गर्दछु,’ जम्मु–कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लहले भने ।

अमेरिकाको पहिल्यै घोषणा
भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समा पहिले सार्वजनिक गरेका थिए । यसपछि मात्रै भारत र पाकिस्तानले घोषणा गरे । युद्धविरामका लागि पृष्ठभूमिमा साउदी अरबले पनि प्रयास गर्दै आएको थियो । 

‘उपराष्ट्रपति जेडी भान्स र मैले ४८ घण्टायता प्रधानमन्त्री नरेन्द्र मोदी र साहबाज सरिफ, विदेशमन्त्री सुव्रमण्यम जयशंकर, सेना प्रमुख असिम मुनिर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र असिम मलिकलगायत वरिष्ठ भारतीय र पाकिस्तानी अधिकारीसँग कुराकानी गरेका छौँ,’ अमेरिकी विदेशमन्त्री रुबियोले भनेका छन्, ‘भारत र पाकिस्तान सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा खुसी छु । शान्तिको बाटो रोज्ने क्रममा हामी प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र राजनेतापनको प्रशंसा गर्छौँ ।’ अमेरिकी विदेश मन्त्रालयले दुई देशको युद्धविराममा अमेरिकाले मध्यस्थता गरेको वेबसाइटमै राखेको छ ।

पहलगाम आक्रमणदेखि युद्धविरामसम्म : चार दिनको गोलाबारीमा कम्तीमा पाकिस्तानमा ३१ र भारतमा १६ को मृत्यु
जम्मु–कस्मिरको पहलगाममा ९ वैशाखमा भएको आतंकवादी आक्रमणमा एक नेपाली र २५ भारतीय नागरिक मारिए । आतंककारीले पुरुष र गैरमुस्लिमलाई छुट्याएर मारेका थिए । पाकिस्तानलाई आधारभूमि बनाएको आतंककारी समूह लस्कर–ए–तैयबाको अर्को समूह द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ)ले घटनाको जिम्मा लियो । गुप्तचर विवरणका आधारमा भारतले घटनामा संलग्न रहेको समूहलाई प्रत्यक्ष पाकिस्तानी संरक्षण रहेको र उनीहरूमाथि कारबाही नगरेको आरोपसहित पाकिस्तानसँग सिन्धु जलसन्धि निलम्बन गर्‍यो, सीमा पूर्णतः बन्द गर्‍यो, भारतमा रहेका पाकिस्तानी नागरिकलाई फिर्ता पठायो भने कूटनीतिक नियोगका सुरक्षा दरबन्दीहरू रद्द गर्‍यो । 

भारतले बुधबार पाकिस्तान प्रशासित कस्मिरका पाँच र सिन्धु प्रान्तका चारसमेत नौ ठाउँमा मिसाइल हमला गर्‍यो । अप्रेसन सिन्दूर नामको हमलामा आतंककारी आधार र पूर्वाधार ध्वस्त पारेको भारतले घोषणा गर्‍यो जसलाई पाकिस्तानले अस्वीकार गर्‍यो । भारतीय आक्रमणमा पाकिस्तानतर्फ कम्तीमा ३१ जनाको ज्यान गयो भने पाकिस्तानद्वारा भारतीय सीमा (वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसी)मा जबाफी हमला गर्दा १६ भारतीय नागरिकको मृत्यु भयो । भारतले दुई दर्जन विमानस्थल बन्द गर्‍यो । 

बिहीबार र शुक्रबार दुवैले ड्रोन हमला गरे । शुक्रबार पाकिस्तानले भारतका ३६ सैन्य र नागरिक संरचनालाई निसाना बनायो । बदलामा भारतले पाकिस्तानका चार सैन्य स्थलमा ड्रोन आक्रमण गर्‍यो । नियन्त्रण रेखामा बमबारी शनिबारसम्म जारी रह्यो । पाकिस्तानले भारतका उधमपुर, आदमपुर, भुज र पठानकोटका वायुसेना स्टेसनमा क्षति पुर्‍यायो । भारतले पाकिस्तानी सेनाका हतियार भण्डारण, कमान्ड र नियन्त्रण तथा नियन्त्रण रेखामा राडार साइटहरू र तोपखाना फायरसहित कम्तीमा ६ पाकिस्तानी सैन्य निसानामा हवाई–प्रक्षेपित प्रहार गर्‍यो । 

यहीबिचमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र असिम मुनिरसँग टेलिफोन कुराकानी गरे । शनिबार अपराह्न पाकिस्तानी सेनाका अप्रेसन महानिर्देशक (डिजिएमओ) मेजर जनरल कासिब अब्दुल्लाहले भारतीय समकक्षी लेफ्टिनेन्ट जनरल राजीव घईलाई फोन गरे, त्यसपछि दुवै पक्षले जमिन, हावा र समुद्रमा गोलाबारी बन्द गर्न सहमति जनाए । जानकारहरूका अनुसार दुवै देशका नेतालाई अमेरिका, साउदी अरेबिया र बेलायती अधिकारीहरूले पनि फोन गरेका थिए ।