
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग निजीकरण गर्ने सरकारको निर्णयको हेटौँडामा विरोध भएको छ। १५ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले हेटौँडा सिमेण्ट उद्योगलगायत अन्य सात वटा सरकारी स्वामित्वका उद्योगहरू निजीकरण गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयको विरोधमा माओवादी केन्द्र मकवानपुरले बिहीबार हेटौँडामा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ। माओवादी केन्द्रले बिहीबार हेटौँडा–२ स्थित मानसचोकबाट विरोध जुलुस निकाल्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई सरकारको निर्णयविरुद्ध ध्यानाकर्षणपत्र बुझाएको थियो। माओवादी केन्द्रले मन्त्रिपरिषद्को सरकारी स्वामित्वमा रहेका उद्योगहरु निजिकरण गर्ने १५ बैशाखको निर्णय गलत भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
ध्यानाकर्षणपत्रमा हालैका वर्षहरूमा लामो सयमदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई समेत पुनः सञ्चालनमा ल्याउने माग भइरहँदा चलिरहेको सिमेण्ट उद्योगलाई निजीकरण गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको उल्लेख छ। साथै, वर्तमान सरकार जनता र राष्ट्रको हितमा नभई, मुठ्ठीभर दलाल र विचौलियाको पक्षमा काम गरिरहेको आरोप लगाइएको छ।
माओवादी केन्द्र मकवानपुरका जिल्ला संयोजक भीम पाख्रीन र इन्चार्ज विजय गौतमद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा हेटौँडा सिमेण्ट उद्योगलाई संरचनागत, प्रविधिगत र प्रशासनिक सुधारसहित नियमित सञ्चालनमा ल्याउन माग गरिएको छ। उद्योगको कमजोर व्यवस्थापन र कमिसनमुखी प्रवृत्तिका कारण अहिलेको अवस्था आएको भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाइएको छ।