१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
Invalid date format २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार

कर्मचारी र व्यवसायी कुटेको आरोपमा पोखरा–४ का वडाध्यक्ष पराजुली पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o५:oo

कर्मचारी र व्यावसायीमाथि हातपात गरेको आरोपमा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्। महानगरपालिकामा सातौँ तहमा कार्यरत कर्मचारी र वडा नम्बर ४ मै व्यवसाय गर्दै आएका एक व्यवसायीमाथि कुटपिट एवं अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको उजुरीको आधारमा प्रहरी टोलीले पराजुलीलाई पोखरा–१६, ढिकीडाँडाबाट पक्राउ गरेको हो। कुटपिट र हातपात गरेको उजुरी परेपछि पराजुलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

वडाध्यक्ष पराजुलीमाथि महानगरको प्रशासन महाशाखाका सातौँ तहका अधिकृत ईश्वरीप्रसाद पोखरेल र पोखरा–४ सर्वेश्वरमार्गका व्यवसायी लेखनाथ सुवेदीलाई कुटपिट गरेको आरोप छ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्ष पराजुलीले पोखरेललाई हातपात गरेको आरोप छ। पोखरेल र पराजुलीबिच कर्मचारी व्यवस्थाबारे विवाद भएको थियो। 
कस्मेटिक व्यवसायी सुवेदीले सडकमा सामान राखेर बिक्री गरेको र नगरप्रहरीले सामान उठाएर लगेपछि सोही विषयमा विवाद भएको थियो। विवादकै क्रममा वडाध्यक्ष पराजुलीले हातपात गरेको आरोप छ। 

कर्मचारी संघ संगठनको विरोध
यसैबिच महानगरमा क्रियाशील कर्मचारी संघ संगठनले कर्मचारी कुटिएको घटनाको विरोध गर्दै वडाध्यक्षलाई कारबाहीको माग गरेका छन्। 
स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन्। उनीहरूले घटनामा संलग्न वडाध्यक्षलाई कानुनबमोजिम कारबाही गर्न मागसमेत गरेका छन्। यस्तै, कर्मचारी संघ संगठनको आह्वानमा महानगरको काम ठप्प भएको छ।