
प्लास्टिकको पुनः प्रयोगका लागि मानकीकरण (गुणस्तर चिह्न) र कानुनी आधार तयार गर्न विज्ञहरूले सुझाव दिएका छन्।
काठमाडौंमा मंगलबार क्रिएसन नेपालद्वारा आयोजित ‘रिसाइकल’ गरिएका प्लास्टिकको मानकीकरणका लागि मुख्य सरोकारवालाको संवादमा सहभागीले प्लास्टिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए।
विभिन्न थरीको प्लास्टिक उपयोगमा रहेकोले त्यसको व्यवस्थापनका लागि ‘रिसाइकल’ उपयुक्त विकल्प भएको प्राडा रामेश्वर अधिकारीले बताए। पूर्ववातावरणमन्त्री गणेश साहले प्लास्टिक मानिसको जीवनमा अभिन्नसरह भइसकेकाले यसलाई नकार्नुभन्दा व्यवस्थापन र महत्वपूर्ण हुने र पुनः प्रयोग सहयोगी हुने बताए।
दक्षिण एसियाका लागि प्लास्टिमुक्त नदी तथा समुद्र आयोजना तथा क्रिएसनद्वारा आयोजित कार्यक्रम स्क्याप, युएनओपिएस र विश्व बैंकको सहयोगमा कार्यान्वयन भएको हो।
कार्यक्रमका सहभागीहरू डेढ महिनाभित्र मानकीकरणको खाका तयार गर्नेमा सहमत भए। उनीहरूले नीति निर्माता रहेको राजनीतिकर्मीलाई पनि यसबारे जानकार बनाउन जरुरी रहेको औँल्याए।
नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक आलोक मिश्राले आवश्यकता अध्ययन गरेर स्ट्यान्डर निर्धारित गर्ने गरेको बताए। प्लास्टिक ‘रिसाइकल’का लागि मानकीकरण गर्न पनि विभाग सकारात्मक रहेको बताए। प्लास्टिक रिसाइकल उद्यमी पंकज परियारले प्लास्टिक पुनःप्रयोग आफैँमा ठुलो आर्थिक स्रोत रहे पनि सबै फोहोरमा मोहर नभएको जिकिर गरे। मानव समाजको भविष्यका लागि प्लास्टिक रिसाइकलमा जानै पर्ने उनले जिकिर गरे। आयातकर्ताले भन्सारविन्दुमा र उद्योगीले उद्योगतर्फबाट आफूले ल्याउने वा प्रयोग गर्ने प्लास्टिकको परिमाण स्वघोषणा गर्नुपर्ने बताए।
वातावरण विभागका उपमहानिर्दैशक शैलेश झाले वातावरणीय अध्ययनको पालनाको अनुगमन विभागले नियमित गरिरहेको दावी गरे। रिसाइकलको लागि सरकार, निजी क्षेत्र र जनता सहकार्य आवश्यक रहेको उनले बताए।
प्लास्टिक व्यवस्थापनमा समुदाय र केही स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्दै आएको संस्था क्रिएसनका महासचिव सुजाता कोइरालाले प्रदूषणकर्तालाई जिम्मेवार बनाउँदै रिसाइकलमा समेत उनीहरूको योगदान सुनिश्चित जरुरी रहेकोे बताइन्।
केमिकल इन्जिनयिर राजेन्द्र जोशीले प्लास्टिकलाई केमिकल प्रतिक्रिया गराएर पुनःप्रयोग गर्न सकिने सुझाए। उनले कवाडी संकलनजस्ता फोहोरसँग जोडिएको पेसाप्रति हेय दृष्टि अन्त्य गर्न सचेतना आवश्यक रहेको बताए।
उद्यमविज्ञ अनिल चित्रकारले प्लास्टिकको व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र, अनुसन्धानमा लागेका विद्यार्थी र अध्ययेता लगायतसँगको सहकार्य आवश्यक रहेको बताए ।
क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्राले पुनःप्रयोग गर्न सकिने प्लास्टिकको उपयोग गर्दै जाँदा पुनः प्रयोग गर्न नसकिने भएपछि त्यसलाई व्यवस्थित नष्ट गर्नुको विकल्प नरहेको बताए।