१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
नयाँ पत्रिका म्याग्दी
Invalid date format १३:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ट्र्याक खुलेको १४ वर्षपछि दरबाङ-बिम-दिच्याम सडक स्तरोन्नति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १३:११:oo

ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरबाङ-बिम-दिच्याम सडक स्तरोन्नति थालिएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरबाङ-बिम-दिच्याम सडकअन्तर्गत खारा-बिम-डाँडागाउँखण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।

गत असार महिनामा रु. ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ ।०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा संकलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो ।

हाल ३.५ देखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।

दरबाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँ हुँदै डाँडागाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १ (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीले बताए ।

जुुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रु. चार करोड बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन रु. २० करोडको बजेटको स्रोत सुनिश्चितता भएको थियो । चालू आर्थिक वर्षमा भने रु. एक करोड ५० लाख मात्र विनियोजन भएको छ ।

सडकको शनिबार अनुगमन गरेका प्रदेश सभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिए । लुरवाङ–तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ । यो सडकबाट मालिका गाउँपालिका- ७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका- ५ मल्कवाङ र ६ मराङ तथा मालिका गाउँपालिका- ६ दिच्यामका बासिन्दा लाभान्वित हुने खाराका बासिन्दा बुद्धि जुग्जालीले बताए ।

धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुम्न तथा दर्शन गर्न जाने पर्यटक एवं भक्तजनलाई सहज हुनेछ ।

सुन्तला, आलुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।