
निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिमखण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ ।
राजमार्गको पश्चिमखण्डमा ४२४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र ३५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् ।
राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाइ हुँदा योजनाको काम प्रभावित भएको छ ।
विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको मुग्लिन–पोखरा सडक योजना पश्चिमखण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले बताए ।
उनका अनुसार विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत यसबारे चासो व्यक्त गरिएको र समाधानका लागि सहजीकरण भएको छ ।
‘चार लेन सडकभित्र परेका पोल प्राधिकरणले हटाउँदै गइरहेको छ । अब बाँकी रहेका पोलसमेत एक साताभित्रमा विस्थापित गरिसक्ने सहमति भएको छ । यसबाट काममा देखिएको प्रमुख समस्या समाधान हुनेछ,’ योजना प्रमुख कुँवरले भने ।