
शुक्रबारबाट हेटौँडामा सुरु भएको राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजय सुरुवात गरेको छ ।
आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चितवनले विजयी सुरुवात गरेको हो । जितसँगै चितवन सेमिफाइनलमा पुगेको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा– ६ स्थित गौरीटार रंगशालाको फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलको निर्धारित समय एक–एक गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरमार्फत लिइएको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएकोमा चितवनले दोस्रो हाफको केहीबेरमै अग्रता बनाएको थियो । चितवनका लागि अनिता गुरुङले हेडमार्फत गोल गरेकी हुन् ।
मकवानपुरका डिफेन्डरले चितवनका खेलाडीलाई लडाएपछि पाएको फ्रिकिक बललाई उनले हेड गर्दै पोस्टको दिशा दिएकी हुन् । गोल खाएलगत्तै मकवानपुर १० खेलाडीमा सीमित बनेको थियो । मकवानपुरका खुसाना राईले चितवनकी गोलरक्षक सुजता तामाङलाई फाउल गरेपछि रेफ्रीले राईलाई रातोकार्ड दिएका थिए ।
१० खेलाडीमा सीमित भएको मकवानपुरले खेलको अन्तिम मिनेटमा सजिना स्याङ्तानको गोलमार्फत खेललाई एक–एकको बराबरीमा फर्काउन सफल भएको थियो । त्यसपछि अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
शुक्रबारको खेलको म्यान अफ दी म्याच चितवनका अनिता गुरुङ घोषित भइन् । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरेकी छन् । जारी प्रतियोगितामा शनिबार बाराको नवजनजागृति क्लब सिमरा र संकटा क्लबको खेल हुनेछ ।
यसअघि मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको हेटौँडाकी प्रमुखर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै लामाले खेलकुदसहित उपमहानगरपालिकाको सर्वांगीण विकासमा लागिपरेको बताइन् । ‘नगर खेलकुद विकास समितिमार्फत हामीले सकेसम्म सबै खेललाई समेटेर विभिन्न प्रतियोगिता गरिरहेका छौँ । विभिन्न संघले आयोजना गर्ने प्रतियोगितालाई पनि बजेटको व्यवस्था गरिरहेका छौँ,’ उनले भनिन्, ‘यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’
छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गरेको फुटबल संघ मकवानपुरले यस वर्ष महिला गोल्डकप गरेको हो । प्रतियोगितामा दुई विभागीय टोली, एउटा ए डिभिजन टोली र पाँचवटा जिल्ला गरी आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपिएफसहित संकटा क्लब तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।