
नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतीय नेताहरूसँग प्रवासी नेपालीका समस्याबारे कुराकानी भएको बताएका छन् । प्रगतिशील नेपाली समाज भारतको प्रथम अधिवेशनमा सहभागी भएर मंगलबार स्वदेश फर्किएका उनले भारतमा रहेका नेपालीलाई संगठित गर्ने मुख्य उद्देश्य रहेको बताए ।
‘भारतमा विभिन्न कारणले अहिले पनि ३० लाखभन्दा बढी नेपाली भएको अनुमान गरिन्छ । १९५० को सन्धिले खुला सिमाना, दुई देशका नागरिकलाई समान अधिकार र खुला आवातजावत गर्ने अधिकार दिएको छ । त्यसमा परिवर्तन नभएसम्म नेपालीले आफ्नो नेपाली परिचयपत्र लिएर नै बैंक एकाउन्ट खोल्ने, सिमकार्ड लिने, अन्य गतिविधि गर्ने सुविधा पाउनुपथ्र्यो । तर, त्यहाँ छुट्टै आधार कार्डलगायत व्यवस्था गर्नुपर्ने कारणले गर्दा नेपाली समस्यामा छन् । ती समस्याबारे कुरा उठाएका छौँ,’ उनले भने ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग दुई देशका प्रधानमन्त्रीस्तरमा सघन वार्ता गरेर दुई देशका समस्या समाधान गर्नुपर्ने विषय राखेको उनले जानकारी दिए । ‘प्रधानमन्त्री (मोदी)सँग सन्देश पुगोस् भन्ने कुरा गरेँ । नेपालको सम्बन्धलाई सहजीकरणमा ध्यान पुगोस् भन्ने ध्यानाकर्षण गरेका छौँ,’ उनले भने, ‘भारत सरकारसँग सम्बन्ध बढाएर आर्थिक विकासलाई तीव्रता दिने विषयमा मेरो अलि बढी चासो पनि थियो । भारतका रक्षामन्त्री तथा सत्तारूढ दल भाजपाका वरिष्ठ नेता राजनाथ सिंहसँग सकारात्मक कुराकानी भयो । उहाँ नेपालप्रति सकारात्मक हुनुहुन्छ ।’
खुला सिमानाले जोडिएको र धेरै आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधिका कारणले नेपाल–भारत सम्बन्ध विशेष रहेको उनले बताए । ‘भारतसँगको सम्बन्ध सामान्य नभएसम्म हामीलाई यहाँ थुप्रै गतिविधि गर्न असहज हुन्छ । इतिहासदेखि देखिएका कतिपय समस्यालाई समाधान गरेर सम्बन्धलाई सुमधुर बनाउने र मुख्य रूपमा नेपालमा राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तन÷क्रान्तिको जुन आवश्यकता छ, त्यसका निम्ति भारतीय अर्थतन्त्रको मुख्य शृंखलासँग जोडिएर नै अगाडि बढ्दा नेपाली अर्थतन्त्रमा फाइदा हुन्छ,’ उनले भने ।
समष्टिगत ढंगले इपिजीमार्फत दुई देशको समस्या समाधान गर्न आफू प्रधानमन्त्री भएकै वेला पहल गरे पनि पछि इपिजी गठन भएको उनले बताए । तर, उक्त इपिजीले अघि बढाउन नसकेको उनले स्मरण गरे । भारतमा भएको आतंकवादी हमलामा भारतीय सरकार र जनताप्रति ऐक्यबद्धता जनाएको पनि भट्टराईले बताए ।
भारतमा रहँदा भट्टराईले नेपाली समुदायका साथै भाजपा, भारतीय कंग्रेस, समाजवादी पार्टीका नेता र पूर्वराजदूतहरूसँग कुराकानी गरेका थिए । सो क्रममा भट्टराईले नेपालमा व्यवस्था परिवर्तन नहुने स्पष्ट पारेका छन् । ‘नेपालमा व्यवस्थाकै विरुद्धमा जाने आन्दोलन त होइन भन्ने चासो थियो । लोकतन्त्रलाई नै असर पर्ने गरी पछाडि फर्किने ढंगले त जाँदैन भन्ने आशंका गम्भीर ढंगको रहेछ । मैले प्रस्ट ढंगले भनेँ– हामीले ठूलो संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेका छौँ । त्योभन्दा पछाडि फर्किने नेपाली जनताको झिनो संख्याबाहेक कसैको पनि त्यस्तो मत छैन । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित छ । यसमा हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदाय ढुक्क रहनुभए हुन्छ ।’