
ललितपुर महानगरपालिका– १० की ४५ वर्षीया सविना पौडेल आचार्य परिवारका चारजना सदस्य लिएर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि आइतबार साँझ ताप्लेजुङ सदरमुकाम पुगिन् । १० वर्षीय छोरा अविमय, १६ वर्षीया छोरी आध्यासहित झापाको भद्रपुर नगरपालिका– ८ माइत आइपुगेकी उनी त्यहाँबाट ७० वर्षीय बुवा विनोद पौडेल र ६९ वर्षीया आमा सरितालाई लिएर ताप्लेजुङ पुगिन् । सपना थियो पाथीभरा देवीको दर्शन गर्ने ।
आइतबार साँझ उनीहरू सदरमुकाम फुङलिङमा रहेको होटेल प्यारिजमा वास बसे । पाथीभराको फेदी काफ्लेपाटीसम्म पुग्न सविनाले फुङलिङ नगरपालिका– १० का ट्याक्सीचालक ४२ वर्षीय दुर्गा भट्टराईको ट्याक्सी बन्दोबस्त गरिन् । वर्षौँदेखि त्यही रुटमा यात्रुको सेवा गर्दै आएका चालक भट्टराई सुकेटारबाट काफ्लेपाटीसम्मको खाल्डाखुल्डीबारे जानकार थिए । तर, बिजुलीको तार बाटोमा लत्रिएको पत्तै पाएनन् ।
सधैँ यात्रुलाई गन्तव्यमा पुर्याउने भट्टराई सोमबार बिहान भने गन्तव्यमा पुर्याउन नपाउँदै अस्ताए । सविनाका बुवा–आमालाई पाथीभरा पुर्याउने सपना पनि अधुरै रह्यो । मन्दिर पुग्ने यात्रा केही दूरी बाँकी रहँदै सधैँका लागि रोकियो । पाथीभरा पुग्ने त्यो सपना क्षणभरमै चकनाचुर भयो ।
सविनाका बुवा विनोद, आमा सरिता र छोरी आध्या पाथीभराको दर्शन गर्न नपाउँदै सधैँका लागि अस्ताए । सविना र उनका छोरा अविमय घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।
पाथीभरा मन्दिर जाने सुकेटार–काफ्लेपाटी सडक खण्डअन्तर्गत फुङलिङ– १०, सेवारो चोकमा उनीहरू सवार मे १ भ ३०११ नम्बरको बोलेरो जिप लत्रिएको बिजुलीको तारमा अल्झिएर आगो लागेको थियो । सदरमुकाम फुङलिङबाट करिब १४ किलोमिटर टाढा रहेको त्यो ठाउँमा कच्ची सडक छ । उनीहरू त्यहाँ करिब बिहान साढे चार बजे पुगेका थिए । ‘घटना बिहान साढे ४ मै भएको हुनुपर्छ । हामीलाई बिहान ५ बजे पाथीभरा क्षेत्र विकास समितिले जानकारी गरायो । त्यसपछि हामी तत्कालै घटनास्थल पुग्यौँ,’ रावलले भने, ‘त्योभन्दा अघि पनि अरू गाडी त्यो बाटो हिँडेको देखिन्छ । तर, चालकले खाल्डा जोगाउन कुनातिर च्याप्दा लत्रिएको तारले छोएको देखिन्छ । बिहानै भएर नदेखेर वा चालकले ध्यान नपुर्याएर दुर्घटना भएको देखिन्छ ।’ उनका अनुसार उक्त ठाउँमा पानी परिरहन्छ । हावाहुरीले अघिल्लो राति तार लत्रिएको हुन सक्ने उनी बताउँछन् ।
प्रहरी नायब उपरीक्षक रावलका अनुसार मृतक चारमध्ये विनोद, सरिता र आध्याको शव मृतकका आफन्तले बुझिसकेका छन् । चालक भट्टराईको शव भने परिवारले बुझेका छैनन् । सोमबार साँझ परिसकेकाले मंगलबार बुझ्ने उनले बताए ।
दैनिक सयौँ यात्रु आवतजावत गर्ने सुकेटार–काफ्लेपाटी सडक लामो समयदेखि लथालिङ छ । सडक नबन्दा चालकले खाल्डाखुल्डी छल्दै सवारी चलाउँछन् । त्यसमाथि विद्युत् प्राधिकरणको लापरबाहीले सडकमै तार लत्रिँदा चारजनाको मृत्यु हुन पुग्यो ।
नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेशप्रसाद चौधरीले भने लापरबाही नभई आइतबार रातिको वर्षा र चट्याङले तारको पिन फुटाएका कारण तार लत्रिएको बताए । यो एउटा दुर्घटना मात्र भएको उनकोे दाबी छ । ‘पहिला नै थाहा भएको भए हामी यसलाई बनाउने थियौँ । तर, थाहा नै भएन,’ उनले भने ।
हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार
बिजुलीको तारका कारण गुडिरहेको गाडीमा आगलागी भई घाइते भएका सविना आचार्य र उनका छोरा अविमयको काठमाडौंस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकसमेत रहेका सविनाका श्रीमान् निरन्जन आचार्यसहितको चिकित्सकको टोली आएर उनीहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको डिएसपी रावलले बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छोरी र सासूससुरा गुमाएका निरन्जनलाई फोन गरी कोशी प्रदेश सरकारले उपचारसहितको सबै खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।