
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पहिलोपटक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका छन् । एमाले विभाजन भएर ०७८ भदौमा एकीकृत समाजवादी गठन भएयता ओलीको माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरूबिच तिक्ततापूर्ण सम्बन्ध छ । साढे तीन वर्षदेखि ओली र नेपालबिच पानी बाराबारकै स्थिति छ ।
पार्टी विभाजनपछि नौ महिनासम्म एमालेले संसद् बैठक नै चल्न दिएको थिएन । तर, यी सबै तिक्ततालाई बिर्सेर ओली सोमबार एकीकृत समाजवादी कार्यालय पुगेर नेताहरूसँग कुराकानी गरे । आलोकनगर पुगेर ओलीले वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिए ।
आलोकनगरमा ओलीले पुराना सहकर्मीसँग भलाकुसारी गरे । सन्चोबिसन्चो सोध्नुका साथै हार्दिकता साटासाट गरे । प्रधानमन्त्री ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, एमाले पूर्वउपाध्यक्ष भीम रावललगायत नेताहरू एउटै कोठामा सौहार्दपूर्वक बसेर कुराकानी गरेका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले ‘आइसब्रेक’कै संज्ञा दिएका छन् ।
‘भेट्दा बोलचालै नहुने नेताहरू एउटै कोठामा बसेर संवाद गर्ने स्थिति बन्यो । यसले संवाद र सहकार्यको वातावरण बनाएको छ । यसले राम्रो सन्देश दिएको छ,’ उनले भने । ओली र रावलको बिचमा नेपाल बसेका थिए । ओलीको छेउमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रावलको छेउमा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल थिए । उनीहरू एउटै लहरमा थिए ।
ओलीलाई एकीकृत समाजवादीको अस्तित्व स्विकार्नै कठिन भएको थियो । गत राष्ट्रपतिको निर्वाचनमा एमालेले एकीकृत समाजवादीलाई दलको रूपमा स्विकारेर सहयोग गर्न पत्र काटेको थियो । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेता पत्र लिएर एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका थिए ।