१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १४:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिञ्चोक मन्दिर पुग्ने सडकमा कालोपत्रे सुरु, धार्मिक पर्यटकलाई सहज हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४१:oo

धार्मिक गन्तव्यका रूपमा परिचित प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिर पुग्ने मार्गमा कालोपत्रेको काम सुरु भएको छ । कालिञ्चोक प्रवेश गर्ने मुख्य मार्ग देउराली–कुरी सडकखण्डको देउराली बजारदेखि ओढारेसम्मको पाँच किलोमिटर सडकमा कालोपत्रेको काम सुरु भएको हो ।

चरिकोटस्थित पूर्वाधार विकास कार्यालयले व्यवस्थापन गरेको उक्त खण्डमा निर्माण कम्पनी याक्थुमहाङ-दाप्चा- सिमपानी जेभीले बिहीबारबाट उक्त सडकखण्डमा कालोपत्रेको काम सुरु गरेको निर्माण कम्पनीका साइड इन्चार्ज विकास खड्काले जानकारी दिए ।

साइड इन्चार्ज खड्काका अनुसार पाँच किलोमिटर सडकमध्ये दुई किलोमिटर दूरीमा सडक ढलानको काम सम्पन्न भइसकेको छ भने बाँकी तीन किलोमिटरमा प्रमिक्स प्रविधिको कालोपत्रेको काम सुरु भएको छ । नयाँ पत्रिकासँग कुरा गर्दै खड्काले भने, ‘काबुबाहिरको परिस्थिति सिर्जना नभए वैशाख मसान्तसमम सबै काम सम्पन्न गरी कार्यालयलाई बुझाउँछौँ ।’ निर्माण कम्पनीले मन्दिर जाने पर्यटकहरूलाई सहज हुने गरी सडकको एकातर्फीबाट कालोपत्रेको काम सुरु गरेको छ ।  

दोलखाको मुख्य धार्मिक स्थल कालिञ्चोक पुग्ने सडकमा पूर्वाधार विकास कार्यालयले देउराली–कुरी खण्डको पाँच किलोमिटर सडकमा नाला निर्माण , टेवा पर्खाल, ढलान र कालोपत्रे गर्ने काम गरिरहेको छ ।

कार्यालयका प्रमुख इन्जिनियर हरिप्रसाद ओझाले निार्माण कम्पनीलाई जतिसक्दो चाँडो गुणस्तरिय ढंगले काम सम्पन्न गर्न निर्देशनसहितको अनुगमन र प्राविधिक जाँच गराइरहेको बताउँदै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । सडक निर्माण पूरा भएपछि कालिञ्चोक जाने आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरूलाई निकै सहज हुनेछ । देउराली–कुरी खण्डमा हिउँदको समयमा हिमपात हुने भएपछि कार्यालयले भिरालो सडकमा ढलान गरेको छ  ।

प्रमुख इन्जिनियर ओझाका अनुसार भिरालो सडकमा हिमपात हुने र कालोपत्रे गर्दा सवारीसाधन चिप्लिने हुँदा त्यस्ता ठाउँमा ढलान गरिएको हो । कार्यालयले सो सडकखण्डमा झन्डै १२ करोड ७१ लाख बजेट विनियोजन गरी काम सुरु गरेको थियो । 

सहज हुँदै कालिञ्चोक यात्रा 

प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक पुग्न चरिकोटबाट कुरी उपत्यकाको डिलसम्म झन्डै १७ किलोमिटरको दूरी छ । जसमध्ये चरिकोटदेखि देउरालीसम्म पाँच किलोमिटर सडकमा कालोपत्रे भइसकेको छ भने देउरालीदेखि ओडारेसम्मको पाँच किलोमिटरमध्ये दुई किलाेमिटर सडकमा ढलान भएको र बाँकी तीन किलाेमिटरमा कालोपत्रे हुँदै छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख हरिप्रसाद ओझाले वैशाख मसान्तभित्रै उक्त खण्डको निर्माण कार्य पूरा हुने र बाँकी ओडारे गैरीदेखि कुरी बजारसम्मको आठ किलोमिटर सडक निर्माणका लागि ६ करोड बजेट स्रोत सुनिश्चितताका लागि मन्त्रालय पठाइएको बताए । उनका अनुसार तत्कालै स्रोत सुनिश्चित भएमा चालू अर्थिक वर्षभित्रै बाँकी खण्डका लागि ठेक्का व्यवस्थापन गरिने र आगामी एक वर्षभित्र कुरीसम्मकै सडक निर्माण सम्पन्न हुनेछ ।

सडक निर्माण सम्पन्न भएपछि चरिकोटदेखि कालिञ्चोक एक घण्टामा नै आवत–जावत हुनेछ । कालिञ्चोक मन्दिरमा मुख्य–मुख्य चाडपर्व, हिउँदको समय र खासगरी हिमपात भएको वेला  पर्यटकहरूको घुइँचो नै लाग्ने गरेको छ ।