१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:२६:oo
Read Time : > 1 मिनेट
समाचार

बुवाहरूलाई मदिराको लत, छोराछोरीको पढाइ बर्बाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का बालबालिकाहरूले बुबाहरू मदिराको कुलतमा लट्ठिँदा छोरोछोरीको पढाइ बर्बाद भइरहेको दुखेसो गरेका छन् । पढाइ मात्रै नभई मदिराको कुलतले बालविवाह दर बढेको, परिवार आर्थिक रूपमा संकटमा पर्ने गरेको गुनासो गरेका छन्। 

बुधबार विनायक नगरपालिका–२ को कार्यालयमा आयोजित बाल कचहरीमा सहभागी १६ वर्षीया निमा नेपालीले अधिकांश बालबालिकाका बुबाहरूले मदिरा सेवन गरेर हिंसा गर्ने गरेका कारण पढाइ प्रभावित भइरहेको बताइन्। ‘बाबाले रक्सी खाने, पिट्ने र पढ्न नदिने समस्या छ,’ उनले भनिन्, ‘त्यस्ता बुबाहरूलाई सम्झाइदिनुस् न।’ उनका अनुसार धेरै बालबालिका घरपरिवारबाटै हिंसा भोगिरहेका छन्। 

निमाकै साथी १६ वर्षीया कल्पना न्यौपानेले पनि मदिरा, छाउपडी र बालविवाहजस्ता हिंसा खेपिरहेको गुनासो गरिन्। उनले परिवारमा बुबाले मदिरा सेवन गरेर अशान्ति मच्चाउने, हजुरबुबा हजुरआमाहरू छाउ बार्न बाध्य बनाउने गरेको बताइन्। बाल कचहरीमा सहभागी नौरता न्यौपाने, धिर्जा ढकाल, बिन्दु न्यौपाने, उमेश न्यौपानेलगायतका बालबालिकाले पनि निमा र कल्पनाले जस्तै छाउपडी, बालविवाह र मदिराका कारण असुरक्षित बनेकोप्रति स्थानीय सरकारका प्रतिनिधिको ध्यानाकर्षण गराए । 

इलाका प्रहरी कार्यालय विनायकका वरिष्ठ हवल्दार राजेन्द्र बुढाऐरका अनुसार यहाँका अधिकांश बस्ती साँझ परेपछि मदिराले मातेकाहरूको होहल्लाले अशान्त बन्छन् । उनीहरू घर पुगेर छोरी, श्रीमती र आमाहरूलाई कुटपिट गर्छन् । जसका कारण हिंसा बढेको हवल्दार बुढाऐरले बताए । यस्तो हुँदा पनि लिखित उजुरी नआउँदा समस्या भएको उनी बताउँछन् । 

बाल कचहरीमा उठेका गुनासोहरू सुनिसकेपछि पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष कृपाबहादुर धामीले बालबालिकामाथि हुने हिंसाको पहिलो कारण मदिरा सेवन बनेको बताए । यसले घर, समुदाय र विद्यालयसम्म असर गरिरहेको उनको भनाइ छ । ‘यो हाम्रो समुदायको पहिलो समस्या हो,’ उनले भने, ‘यसले छोरीचेली सुरक्षित छैनन । जसले सबैभन्दा बढी बाल हिंसा बढाएको छ ।’ यही कारण वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियानमा समेत चुनौती थपिएको वडाध्यक्ष धामीको भनाइ छ । उनका अनुसार वडालाई आस्था नेपाल र वल्र्डभिजनसँगको साँझेदारीमा छिट्टै बालमैत्री वडा घोषणा गर्ने तयारी छ ।

आस्था नेपालका अनुगमन अधिकृत हर्क खड्काका अनुसार वडालाई बालमैत्री स्थानीय शासन घोषणाका लागि सबै सूचक पूरा भइसकेका छन्। बाल कचहरीमा नेपाली कांग्रेसका नवराज देवकोटा, एमालेका डम्बर चलाउने, इलाका प्रशासन कार्यालयका नायब सुब्बा मनबहादुर बडुवाल र बाल सञ्जालका अध्यक्ष कल्पना न्यौपानेलगायत उपस्थित सरोकारवालाहरूले बालमैत्री वडा घोषणा गर्नुअघि सम्पूर्ण सूचक पूरा भए-नभएकोबारे बृहत् छलफल र समन्वय गर्न सुझाव दिएका थिए । पञ्चदेवल विनायक नगरपालिका–२ बालमैत्री स्थानीय शासन घोषणा हुन लागेको पहिलो वडा हो।