१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
Invalid date format १४:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विनाजानकारी अमेरिका बस्ने वडाध्यक्षलाई माओवादी केन्द्रले गर्‍यो निलम्बन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

नेकपा (माओवादी केन्द्र)ले विनाजानकारी अमेरिका बस्ने वडाध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेको छ। माओवादी केन्द्र कोशी प्रदेश समितिले विनाजानकारी अमेरिका बस्दै आएका खोटाङको साकेला गाउँपालिका– ४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई अनिश्चितकालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको हो।

विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिई अमेरिका बसेको तथा पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले कटवाललाई निलम्बन गरेको माओवादी केन्द्र खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए। वडाध्यक्ष कटवाललाई कारबाहीका लागि माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिले गत पुस ११ गते सिफारिस गरेको थियो।

माओवादी केन्द्रको प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ र सचिव गणेश उप्रेती ‘सुशील’ले हस्ताक्षर गरेको निलम्बनपत्रमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नुपरेको उल्लेख छ। ०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित कटवाल ०८० माघ १७ गतेदेखि वडा कार्यालयमा अनुपस्थित छन्।

वडाध्यक्ष अनुपस्थित हुँदा जनताले पाउने सेवा, सुविधा, विकास निर्माणलगायत सम्पूर्ण सेवा प्रभावित भएको स्थानीयले बताएका छन्। भ्रमण भिसामा अमेरिका गएका वडाध्यक्ष नफर्केपछि पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वदलीय–सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै गत कात्तिकमा वडा कार्यालयमा तालाबन्दीसमेत गरेको थियो।

छोरीज्वाइँले पठाएको भिसामा अमेरिका गएका वडाध्यक्ष कटवाल नफर्किएपछि माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि वडाध्यक्षको विरोधमा ताला लगाउन सहभागी भएका थिए। नेकपा (माओवादी केन्द्र)सँगै नेपाली कांग्रेस, नेकपा(एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) मात्तिमले संयुक्त विज्ञप्ति जारी गरेर वडाध्यक्ष कटवालको विरोध जनाएका छन्।

वडाध्यक्ष कटवाल २०७९ सालमा पनि साढे दुई महिना अमेरिका बसेर फर्किएका थिए। कटवालले त्यसबेला चारजना वडा सदस्यलाई पालैपालो १५–१५ दिनको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए।

भ्रमण भिसामा अमेरिका गएका वडाध्यक्ष कटवाल दसैँ–तिहार मान्न पनि नफर्केपछि अमेरिकामै बस्नका लागि पिआरको प्रक्रियामा रहेको स्थानीयवासीले आरोप लगाएका छन्। निर्वाचित वडाध्यक्ष अमेरिका गएर बसेको विषयमा साकेला गाउँपालिकाको कार्यालय अहिलेसम्म केही बोलेको छैन। आक्रोशित स्थानीयले भने जनमतलाई बेवास्ता गर्ने वडाध्यक्षलाई तत्काल कानुनी कारबाही गरेर अर्को वडाध्यक्षको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्।