१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Wednesday, 25 June, 2025
२o८१ फाल्गुण ११ आइतबार o६:o९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

केबलकार विवादले झडप बढ्न थालेपछि फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार o६:o९:oo

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार’ समूहको आन्दोलन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शनिबार मध्यरातिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । 

‘बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडपले प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गर्नुपरेको हो,’ सिडिओ शर्माले भने, ‘यो निषेधाज्ञा आइतबार बिहान ५ बजेबाट अर्काे आदेश नभएसम्मका लागि कायम हुनेछ ।’ प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ । नो केबलकार समूहले शनिबार साँझ फुङलिङको वीरेन्द्र चोकमा मसाल जुलुस निकालेर राँको निजी घरमा फ्याँक्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत पक्षका तीनजना घाइते भएका छन् । आन्दोलनरत समूहले चोकमा राँको सबैतिर छर्न थालेपछि प्रहरी आगो निभाउन पानी लिएर पुगेको थियो । चोकमा बालेको आगो सर्वसाधारणका घरमा फालेकाले रोक्न खोज्दा झडप भएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी रवि रावलले बताए । पराजुली चोकदेखि सुरु भएको र्‍याली फुङलिङ बजारको तोक्मे हुँदै वीरेन्द्रचोक पुगेपछि आगो सल्काइएको थियो ।

फुङलिङमा गत बिहीबार पनि झडप भएको थियो । केबलकार निर्माण गर्न नहुने अडानमा रहेको समूहको पदयात्रालाई प्रहरीले निर्माणस्थल जान नदिएपछि झडप भएको हो । झडपमा ११ प्रहरी, एक आन्दोलनकारी र एकजना सवारीचालक घाइते भएका छन् । 

महतोलाई कालोझन्डा
पाथीभराको पदयात्रा गरेर फर्किएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिबार एक समूहले ताप्लेजुङ सदरमुकाममा कालोझन्डा देखाएको छ । महतोलाई विकासविरोधी भन्दै स्थानीय महिला समूहले कालोझन्डा देखाएको हो । ‘नो केबलकार पक्ष’ भने केबलकार निर्माणमा अवरोध गर्दै चरणबद्ध आन्दोलनमा छ । योे समूहले ६ देखि ८ फागुनसम्म पाथीभरा क्षेत्रमा पदयात्रा आयोजना गरेको थियो ।

कात्तिक र माघमा पनि भएको थियो झडप
‘नो केबलकार’ पक्ष र प्रहरीबिच कात्तिक र माघमा पनि झडप भएको थियो । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको शिलान्यासका क्रममा २३ कात्तिकमा फुङलिङ नगरपालिका– ४ मा झडप हुँदा ६ जना घाइते भएका छन् । झडपमा सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली र असइ अविनाश माझी घाइते भएका थिए । आन्दोलनकारीतर्फ दामोदर अधिकारी, कुमार शेर्पा, चन्द्र मादेन र अर्जुन लिम्बू घाइते भएका थिए । गत १२ माघमा पाथीभरामा केबलकार निर्माण सुरु भएको तीन दिनपछि प्रहरी र केबलकार खारेजी समूहबिच झडप हुँदा जनपद र सशस्त्र प्रहरीका तीनजना घाइते भएका थिए । घाइते हुनेमा प्रहरी जवान अनुज विक, प्रहरी सहायक निरीक्षक रामदेव यादव र सशस्त्र प्रहरी जवान सञ्जीव बस्नेत थिए ।