
आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणाली ह्याक गरी करको रकम फरक देखाउने अपराध गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। चितवनको भरतपुरस्थित बिहादी बिजनेस मेनेजमेन्टमा कार्यरत १८ वर्षीय सन्तोष पराजुली र २२ वर्षीय परिन पाण्डे छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूमाथि साइबर अपराध मुद्दामा कारबाही अघि बढाएको छ।
उनीहरूले भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीको युजरनेम र पासवर्ड ह्याक गरी कर रकम फरक देखाएका छन्। भाटभटेनीले दुई अर्ब ३४ करोड १६ लाख रुपैयाँबराबरको कारोबारबाट ६ करोड २६ लाख ९४ हजार कर तिर्नुपर्ने थियो । तर, उनीहरूले सिस्टम नै ह्याक गरी त्यसलाई १३ करोड नौ लाख ५९ हजार बनाइदिएका थिए ।
भाटभटेनीका लेखापरीक्षकले सो विषयमा राजस्व अनुसन्धानसँग बुझ्दा ह्याकिङ भएको पत्ता लागेको हो । ह्याकिङमा प्रयोग गरिएका ल्यापटप र कम्प्युटर पनि बरामद गरिएको सिआइबीका एसपी सुधीरराज शाहीले बताए । उनका अनुसार उनीहरूले अन्य कम्पनीको पनि यसैगरी कर रकम तलमाथि बनाएको आशंकामा अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेका अडिट फर्मका दुई सञ्चालक भने फरार छन्।