मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format o७:४७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एउटा तार र बकेट फेर्न नसक्दा बन्द भयो नेपालकै पहिलो ग्राभिटी रोपवे

सामान ढुवानीबापतको भाडा उठाएर ठेकेदार सम्पर्कविहीन, रोपवे नचल्दा स्थानीय समस्यामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४७:oo

१० वर्षअघि मकवानपुरको कैलाश गाउँपालिका– ९ स्थित नामटारको कपचेरी र घैराङडाँडा जोड्ने गरी बनेको नेपालकै पहिलो ग्राभिटी रोपवेको तार चुडिँदा स्थानीय समस्यामा परेका छन् । गुरुत्वाकर्षण शक्तिबाट विनाविद्युत् र इन्धनबाट चल्ने ग्राभिटी रोपवे बन्द भएपछि स्थानीय समस्यामा परेका हुन् ।

एक हजार दुई सय १४ मिटर लामो ग्राभिटी रोपवे निर्माण भएपछि सडक सञ्जाल नपुगेको घैराङमा तरकारी तथा स्थानीयस्तरमा उत्पादित खाद्यान्न बजारसम्म पुर्‍याउन र बजारबाट घरायसी सामग्री ल्याउन सहज भएको थियो । हिँडेर दुई घण्टा लाग्ने बाटोमा रोपवेमार्फत दुई–चार मिनेटमै सामान ओसारपसार गर्न सकिने भएपछि घैराङका स्थानीयले काउली, आलु, मुला, बन्दालगायतका तरकारी र अन्न नामटार बजारसम्म झार्ने गरेका थिए । किसानले तरकारी उत्पादनबाटै गाउँमा वार्षिक डेढ करोडभन्दा बढी आम्दानी गर्ने गरेको कैलाश– ९ का वडाध्यक्ष भुवनसिंह घलान बताउँछन् ।

रोपवेको तार परिवर्तन गरेर आवश्यक मर्मत गर्न नसक्दा स्थानीयले आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन र आवश्यक सामान ल्याउन लामो बाटो प्रयोग गर्नुपरेको छ । रोपवेको तार छिनेपछि किसानको उत्पादन बजारसम्म पुर्‍याउन असहज भइरहेको छ भने रोपवे कसले मर्मत गर्छ भन्ने अन्योल छाएको छ । सञ्चालनकै क्रममा रहेको रोपवेको एउटा तार छिनेपछि गत असोजबाट रोपवे बन्द भएको घैराङका स्थानीय पूर्णसिंह गोलेले बताए । तार छिनेसँगै रोपवेमा रहेको दुईवटा बकेटमध्ये एउटा बकेट पूर्णरूपमा क्षति भएको छ । 

रोपवे मर्मत गर्नेबारे उपभोक्ता समितिमै एकमत नभएपछि अब सधैँका लागि बन्द हुन्छ कि भन्ने चिन्ता लागेको उनको भनाइ छ । ‘तार छिनेर रोपवे बन्द भएको तीन महिना नाघ्यो । एउटा तार फेरेर बकेट नयाँ हाल्न सके यसलाई पुनः चलाउन सकिन्थ्यो,’ उलने भने, ‘उपभोक्ता समितिले पनि चासो दिएको छैन । रोपवे चल्दा यहाँ धेरै सुविधा भएको थियो । सामान ल्याउन लैजान पनि सस्तो पर्थ्यो ।’ 

०७१ मा सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं र स्थानीय उपभोक्ताको लागत सहभागितामा २५ लाख ५२ हजार रुपैयाँमा रोपवे निर्माण भएको थियो । रोपवे सञ्चालनका लागि उपभोक्ता समितिमार्फत ठेकेदारलाई जिम्मा लगाइएको थियो । यसबिचमा चार–पाँचजना ठेकेदार फेरिए । अन्तिमकालमा पूर्णराज बल ठेकेदार थिए । तर, कुनै पनि ठेकेदारले उपभोक्ता समितिलाई हिसाब–किताब देखाएका छैनन् । 

ठेकेदार पैसा उठाएर सम्पर्कविहीन भएपछि रोपवे मर्मत गर्न खर्च नभएको कैलाश– ९ का अध्यक्ष भुवनसिंह घलानले बताए । उनका अनुसार उपभोक्ता समितिले रोपवेमा सामान ढुवानीबापतको भाडा उठाउन ठेक्का दिने गरेको र ठेकेदारले नै भाडाको पैसा नदिएपछि उपभोक्ता समिति संकटमा परेको छ । ‘हामीले पहिले नै गाउँपालिकामार्फत रोपवे सञ्चालन गर्ने गरी ठेक्का लगाउँछौँ भनेका थियौँ । तर, त्यसवेला उपभोक्ता समितिले आफैँले ठेक्का लगाएर सञ्चालन गर्‍यो, अब अहिले समस्या पर्‍यो,’ उनले भने, ‘अब यसलाई मर्मत गरी व्यवस्थित तरिकाले कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल गर्दै छौँ ।’

रोपवे उपभोक्ता समितिका अध्यक्ष ठाकुरसिंह रुम्बाले ठेकेदारले भाडाको पैसा उठाएर नदिएपछि रोपवे मर्मत गर्न नसकेको बताए । भाडाबापत वर्षको तीन लाखसम्म उठ्ने गरेको भए पनि ठेकेदारले उपभोक्ता समितिलाई पैसा नबुझाएको उनको दाबी छ । ‘भाडाबापत वर्षमा करिब तीन लाखसम्म उठ्थ्यो । ठेकेदारले पैसा नदिँदा रोपवे मर्मत गर्न सकिएन,’ उनले भने, ‘रोपवे मर्मत गर्नुपर्छ, तर कसरी गर्ने भन्नेमा अन्योल छ ।’ 

रुम्बाले रोपवेमा रहेको दुईवटा भारी बोक्ने क्यारीमार्फत माथिबाट र तलबाट एकैसाथ दुईवटा भारी लोड गराएर सामान तलमाथि पुर्‍याउने गरेको जानकारी दिए । उनका अनुसार घैराङ डाँडाबाट एक मिनेट ५५ सेकेन्डमा नामटार कप्चेरी स्टेसनमा सामान ढुवानी गर्न सकिन्छ । दुई घण्टा लाग्ने बाटोमा रोपवेले दुई मिनेटमै सामान ल्याइदिने र भाडा पनि निकै सस्तो पर्ने भएपछि स्थानीयलाई सहजता थियो । प्रतिकिलो दुई रुपैयाँमा सामान तलको माथि र माथिको तल ल्याउने गरिन्थ्यो । हिउँदयाममा गाडी चले पनि रोपवेको भन्दा गाडी भाडा दोब्बर लाग्ने गरेको उनले बताए । अहिले रोपवे बन्द हुँदा स्थानीय महँगोमा आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन बाध्य भएका छन् ।