
प्रमुख प्रतिपक्ष माओवादी, एकीकृत समाजवादी, नेकपा र महिन्द राय यादव नेतृत्वको नेसपासहितको एकता प्रक्रिया अन्योलमा परेको छ । चारवटै दलले पार्टी एकताको सैद्धान्तिक निर्णय गरेका छन् । वार्ता समिति नै गठन गरेर अघि बढेका दलहरू एकताबारे अझै अन्योलमा छन् ।
माओवादीको २३ पुसमा सम्पन्न आठौँ केन्द्रीय समितिको छैटौँ बैठकले विचार मिल्ने पार्टीसँग एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गर्ने निर्णय गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने माओवादीको दाबी छ । समिति गठन गरेर एकताको पहल गर्ने माओवादी महासचिव देव गुरुङले बताए । ‘वैज्ञानिक समाजवाद मान्ने दलसँग ढिलोचाँडो एकता गर्नैपर्छ । एकताको पहल पनि भइरहेको छ । तर, निचोड निस्किसकेको छैन । केन्द्रीय कमिटीको म्यान्डेटअनुसार समिति गठन गरेर फेरि पहल गर्छौँ,’ उनले भने ।
माओवादीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रभु साह नेतृत्वको आमजनता पार्टी, विप्लव नेतृत्वको नेकपा र धर्मेन्द्र बास्तोता नेतृत्वको नेकपा बहुमतसँग एकताका लागि पहल गर्नेछ । माओवादीले यसअघि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समितिमा देव गुरुङ, शक्ति बस्नेत, जनार्दन शर्मा र वर्षमान पुन थिए । कार्यदलले एकीकृत समाजवादी, नेकपासहितका दलसँग एकता वार्तासमेत गरेको थियो । एकीकृत समाजवादीले पनि वरिष्ठ नेता डा. बेदुराम भुसालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । समितिमा डा. गंगालाल तुलाधर र डा. विजय पौडेल थिए । समितिले माओवादी, जसपालगायतका दलसँग वार्ता गरेको थियो । तर, अहिले माओवादी र समाजवादीका वार्ता समिति अस्तित्वमा छैनन् ।
१ साउनमै एकताका लागि गठन भएको थियो कार्यदल
पार्टी एकताको लक्ष्यसहित माओवादी, एकीकृत समाजवादी, नेकपा र नेसपा सम्मिलित समाजवादी मोर्चाले गत १ साउनमा कार्यदल गठन गरेको थियो । मोर्चामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष यादव सदस्य छन् । आलोपालो नेतृत्वको समझदारीअनुसार हाल मोर्चाको संयोजक विप्लव छन् । यसअघि एकीकृत समाजवादीका अध्यक्ष नेपाल संयोजक थिए । मोर्चाले माओवादीका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ सम्मिलित कार्यदललाई दस्तावेज तयार पार्न १५ दिनको समय दिएको थियो । तर, ६ महिनासम्म पनि कार्यदलले दस्तावेज तयार पार्न सकेको छैन ।
दस्तावेजको मस्यौदा तयार भइसकेको कार्यदल सदस्य श्रेष्ठले दाबी गरे । ‘हामीले दस्तावेजको मस्यौदा तयार पारिसकेका छौँ । तर, शीर्ष नेताहरूको समय अभावका कारण बुझाउन पाइएको छैन । छिट्टै मस्यौदा बुझाउने तयारी छ,’ उनले भने । पार्टी एकतातर्फ नै गृहकार्य भएको उनले बताए । ‘हाम्रो सोच पार्टी एकताकै हो । सहकार्य गर्दै जाँदा मिलनविन्दुमा पुग्न सकिन्छ,’ उनले भने ।
विप्लव नेतृत्वको नेकपाले पनि एकता र ध्रुवीकरणमा जोड दिएको छ । ‘एकताका लागि हामी सकारात्मक छौँ । एकता हामी सबैको चाहना हो । आज पनि माओवादी, समाजवादीसहित सबैको एकता र ध्रुवीकरण आवश्यक छ,’ नेकपा महासचिव विप्लवले भने । एकताको लक्ष्यसहित मोर्चा अगाडि बढे पनि बिचमा केही सुस्तता आएको उनले स्विकारे ।
स्रोतका अनुसार माओवादीले सुरुमा एकीकृत समाजवादीसँग एकता टुंग्याउने रणनीति लिएको छ । तर, एकीकृत समाजवादीमा पार्टी एकताबारे दुई धार छ । एकता गर्दै अगाडि बढ्नुपर्ने र एकतामा भन्दा संगठन निर्माणमा लाग्नुपर्नेमा एकीकृत समाजवादीका नेताहरू विभाजित छन् । एकीकृत समाजवादीको भर्खरै सम्पन्न सचिवालय बैठकले ‘आन्दोलनद्वारा पार्टी निर्माण’को प्रस्ताव पारित गरेको छ । विचार मिल्ने वामपन्थी, समाजवादी दलसँग एकता गर्दै जानुपर्ने सैद्धान्तिक निर्णय पनि एकीकृत समाजवादीको छ ।
एकीकृत समाजवादीसँग समझदारीपछि नेसपा, आमजनता पार्टी, नेकपा र नेकपा बहुमतलाई एकता प्रक्रियामा ल्याउने माओवादीका एक नेताले बताए । एकताको आधार समाजवादी मोर्चाले तयार पार्ने मोर्चामा आबद्ध दलका नेताहरूले दाबी गरेका छन् । ‘सहकार्य गर्दै जाँदा एकतामा पुग्न सकिन्छ । त्यसका लागि मोर्चा उपयुक्त माध्यम हो,’ मोर्चाका सचिवालय सदस्यसमेत रहेका गुरुङले भने ।
एकीकृत समाजवादी र आमजनता पार्टीसँग एकता गर्दा प्रतिनिधिसभामा ४३ सिट हुने र संसद्मा आवाज बुलन्द गर्न सकिने माओवादी नेताहरू बताउँछन् । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० र आमजनता पार्टीका प्रभु साह गरी ११ सांसद छन् । नेसपाका अध्यक्ष यादव भने माओवादीकै चुनाव चिह्नबाट निर्वाचित भएका हुन् । हाल संसदीय राजनीतिबाट बाहिर रहेको नेकपाले गत पुस पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा भाग लिने निर्णय लिएको छ ।
विचार मिल्ने दलहरूसँग सहकार्य गर्दै अगाडि बढ्छौँ : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष नेपालले मन र विचार मिल्ने दलसँग एकता हुने बताए । शनिबार आयोजित कार्यक्रममा नेपालले विचार मिल्न बाँकी दलहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारे । ‘वामपन्थी, कम्युनिस्ट र समाजवादीहरूलाई एक ठाउँमा ल्याउन पहल गरौँ । अरूलाई पनि भनौँ, विचारमा भिन्नता छ भने बहस गरौँ । मन मिल्छ, विचार मिल्छ भने सँगै जाऔँ । सँगै जान मन मिल्न बाँकी छ, विचारै मिल्न बाँकी छ भने साझा विषयमा सहकार्य गरौँ,’ उनले भने । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, जनजीविकाको विषयमा सहकार्य गर्दै अगाडि बढ्न चाहेको उनले बताए । ‘आन्दोलनको मैदानमा मिलेर अगाडि बढौँ भनेर सहकार्यको सोचमा छौँ । राष्ट्र, समाज र जनताको समस्यामा केन्द्रित भएर अगाडि बढ्न चाहन्छौँ,’ उनले भने ।
६ महिनापछि सक्रिय हुँदै समाजवादी मोर्चा
प्रमुख प्रतिपक्ष दल माओवादीसहित चार पार्टी सम्मिलित समाजवादी मोर्चा फेरि सक्रिय हुने भएको छ । माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले तत्काल बैठक बोलाउने र मोर्चालाई सक्रिय बनाउने निष्कर्ष निकालेका छन् । बिहीबार र शुक्रबार सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच पछिल्लो राजनीति र समाजवादी मोर्चाको सक्रियताबारे छलफल भएको थियो । ‘मुख्यतः समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा छलफल गरेका छौँ,’ एकीकृत समाजवादीका वरिष्ठ नेता भुसालले भने, ‘छिट्टै मोर्चाको बैठक राख्ने तयारी छ ।’
संसद् अधिवेशन, समाजवादी मोर्चासहित समसामयिक विषयमा छलफल भएको माओवादी महासचिव गुरुङले बताए । ‘सिंहदरबारमा भएका वेला नेताहरूबिचमा छलफल भएको हो । समसामायिक विषयमा कुराकानी भयो । समाजवादी मोर्चालाई सक्रिय बनाउनुपर्छ भन्ने छ,’ गुरुङले भने । संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने विषयमा समेत छलफल भएको छ । समय घर्किंदासमेत संसद् अधिवेशन नबोलाइएको माओवादी र एकीकृत समाजवादीका नेता रुष्ट छन् । नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्यसहित ४ असार ०८० मा गठन भएको मोर्चाको बैठक ६ महिनायता बस्न सकेको छैन । मोर्चाले आफैँले घोषणा गरेका कार्यक्रमसमेत अलपत्र छन् ।
नेसपा अध्यक्ष महिन्द्र राय यादवले मोर्चाको भेउ नै पाउन सकेका छैनन् । यादव मोर्चाको एउटा बैठकमा मात्रै सहभागी भएका छन् । मोर्चालाई सक्रिय बनाउन यादवले यसअघि नेपाल र विप्लवलाई भेटेर ध्यानाकर्षण गराएका थिए । मोर्चा गठनताका सदस्य रहेका जसपा अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनपछि औचित्य समाप्त भएको भन्दै मोर्चाबाट अलग भएका छन् । विगतमा एमाले–माओवादी–एकीकृत समाजवादी–जसपा सत्तागठबन्धन भएपछि मोर्चा संकटमा परेको थियो । त्यही वेला जसपा नेपाल विभाजन भएको थियो । त्यसपछि मोर्चा पुरानो लयमा फर्किन सकेको छैन । कांग्रेस–एमाले सत्तागठबन्धन बनेपछि गत १ साउनमा मोर्चाको बैठक बसेको थियो । बैठकमा महिन्द्र राय यादव सहभागी थिए । मोर्चाका घटकबिचमा पार्टी एकतासम्मको कुरा भए पनि त्यसपछि बैठक नै बस्न सकेको छैन । साउनमा बसेको बैठकले राजनीतिक घटनाक्रमको समीक्षा र भावी योजनासहित राजनीतिक दस्ताबेज तयार पार्न १५ दिनको समय दिएर कार्यदल गठन गरेको थियो । कार्यदलले कुनै निचोड दिन सकेन ।