१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमलाई क्यानले फेरि सोध्यो स्पष्टीकरण   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:२o:oo

नेपाल वायुसेवा निगम (नेवानि)ले न्यारोबडी जहाज सि–चेक गर्न नियामक निकायबाट स्वीकृति नै नलिई चिनियाँ कम्पनीसँग सम्झौता गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तीनदिने स्पष्टीकरण सोधेको छ । 

निगमले केही दिनअघि चिनियाँ ‘चाइना साउर्दन एयरलाइन्स कम्पनी लिमिटेड सेनयाङ मेन्टेनेस बेस चीन’लाई एयरबस३२० ‘९एन–एकेडब्लू’ विमान सि–चेकका लागि एमआरओ (मेन्टेनेन्स, ओभरहल, अर्गनाइजेसन) छनोट गरी नियुक्त गरेको थियो । तर, नेपाल नागरिक उड्डयन नियमावली, २०५८ को नियम २८ तथा नेप्लिज सिभिल एयरवर्दिनेस रिक्वायरमेन्ट्स (एनसिएआर)को च्याप्टर डी.१ अनुसार जहाज मर्मत–सम्भार कम्पनीले प्राधिकरणबाट एप्रुभल लिएको हुनुपर्छ । निगम व्यवस्थापनले भने प्राधिकरणबाट अनुमोदन नै नगराई एमआरओ नियुक्त गरेको हो ।

यसअघि पनि निगम नेतृत्वले वाइडबडी ९एन–एएलवाई जहाजको सि–चेकमा पनि यस्तै गल्ती गरेको थियो । निगमले इटालियन कम्पनी एटिटेक–एसपिएलाई एमआरओ नियुक्त गरेर प्राधिकरणबाट अनुमति नै नलिई सेड्युल फ्लाइटमा दुबई गएको जहाज उतैबाट इटाली पुर्‍याएको थियो । त्यसवेला जहाज इटाली लैजान क्यानसँग अनुमति पनि लिएको थिएन । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पटक–पटक आग्रह गरेपछि प्राधिकरणले इटालियन कम्पनीलाई सि–चेकका लागि अनुमति दिएको थियो ।

यसपटक पनि निगम व्यवस्थापनले सोही गल्ती दोहोर्‍याएको छ । निगमले सोमबार ९एन–एकेडब्लू जहाजलाई चीनको सेनयाङमा ५ सि–चेकका लागि लैजान फ्लाइट गर्न अनुमति मागेको छ । त्यसपछि प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले निगमका निमित्त अकाउन्टेबल म्यानेजरलाई मंगलबार स्पष्टीकरण सोध्दै भनेको छ, ‘प्राधिकरणबाट स्वीकृति प्राप्त नभएको संस्थालाई ५ सि–चेक मेन्टेनेन्सका लागि किन छनोट गरिएको हो ? साथै, प्राधिकरणबाट स्वीकृत नभएको मर्मत–सम्भार संस्थामा वायुयान पठाउन फेरि फ्लाइटका लागि किन अनुमति माग भएको हो ? पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइन्छ ।’

यदि तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरण पेस नभएमा नागरिक उड्डयन नियमावली, २०५८ तथा प्राधिकरणबाट जारी भएको म्यानुअल–रिक्वायरमेन्ट्समा व्यवस्था भएअनुसारको कानुनी कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।