मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २९ शनिबार
  • Tuesday, 14 January, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ मङ्सिर २९ शनिबार o६:३o:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नर्सहरूको डरलाग्दो पलायन

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २९ शनिबार o६:३o:oo

भर्खर पेसामा छिरेका मात्र होइन, पर्याप्त अनुभव बटुलेका नर्सहरूको पलायन रोक्न पनि छैन सरकारको पहल, चाँडै नै हुन सक्छ स्वास्थ्य संस्थाहरूमा नर्सिङ जनशक्तिको ठुलो अभाव 

उदाहरण १ : विराटनगरको विराट मेडिकल कलेजले नर्सिङ जनशक्ति अभाव भएपछि तीन महिनाअघि एक हजार नर्स माग गर्‍यो । तर, २६ जना मात्रै नर्सले जागिरका लागि फारम भरे । मासिक ४५ हजार तलब दिँदा पनि नर्सहरू जागिरका लागि फारम भर्न आएनन् । नर्स नआएपछि कलेजले पुनः आवेदन खोल्ने तयारी गरेको छ ।

उदाहरण २ :  कान्ति बाल अस्पतालले गत भदौमा २४ जना नर्स जनशक्तिका लागि आवेदन खोल्यो । एक सयहाराहारीको आवेदन पर्‍यो । र, कोटाअनुसार नर्सले रोजगारी पनि पाए । तर, जागिर खाएको दुई महिनामै २० जना नर्सले जागिर छाडिसकेका छन् । जागिर छाड्नेको संख्या बढेपछि अस्पतालले फेरि नर्स माग गर्ने योजना बनाएको छ । 

उदाहरण ३ :  निजामती कर्मचारी अस्पताललाई नर्स टिकाउन धौधौ परेको छ । जागिर छाड्ने नर्सहरूको संख्या बढ्दा अस्पताल प्रशासनले अस्थायी नर्स राख्दै आएको छ । अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलका अनुसार मासिक पाँचजना नर्सले जागिर छाड्ने गरेका छन् । 

निजी क्षेत्रको विराट मेडिकल कलेज, सरकारी स्वामित्वको कान्ति बाल र निजामती कर्मचारी अस्पतालले भोगिरहेका समस्या नर्सिङ जनशक्तिको गम्भीर अभाव हुँदै गरेको बलियो उदाहरण हुन् । आज नै सरकारी होस् वा निजी कुनै पनि अस्पतालले सहज जनशक्ति पाएका छैनन् । यसले भोलिका दिनमा नर्सिङ जनशक्तिको ठुलै अभाव हुन सक्ने संकेत गरेको छ । 

अहिले नेपालका अधिकांश स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति कम छ । तलब–सुविधा कम भएका कारण अधिकांश नर्सले बिचैमा काम छाड्ने क्रम बढ्दो छ । एकातिर जागिर छाड्नेको संख्या धेरै हुँदै जाने र नयाँ कर्मचारी माग गर्दा पनि फारम भर्नेको संख्या कम हुँदै जानु स्वास्थ्य संस्थाहरूका लागि चिन्ताको विषय बनेको छ । 

एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले नर्सिङ क्षेत्रमा जनशक्तिको अभाव हुन नदिन गम्भीर रूपमा सोच्ने वेला भएको बताए । ‘पछिल्लो समय नेपालमा चिकित्सकपछि नर्सिङ जनशक्तिको पनि अभाव देखिन थालेको छ । राज्यले यसतर्फ सोच्नुपर्छ, यसले स्वास्थ्य क्षेत्रमा ठुलो संकटको अवस्था ल्याउन सक्छ,’ उनले भने । 

निजामती कर्मचारी अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलका अनुसार मासिक पाँचजना नर्सले जागिर छाड्ने गरेका छन् । भोलिका दिनमा नर्स जनशक्तिको ठुलै अभाव हुन सक्ने उनको भनाइ छ । ‘अहिलेसम्म त चलिरहेकै छ, कसैले छाडेपछि अस्थायी रूपमा भए पनि नर्स पनि पाइएकै छ, तर भोलिका दिनमा कठिन हुने अवस्था देखिन्छ,’ उनले भने, ‘अहिले त विदेश जान नपाएकाहरू यहाँ बस्छन्, दक्ष जनशक्ति बाहिरिनु राम्रो होइन, काम सिकेकाहरू बाहिरिँदा स्वास्थ्य क्षेत्रमा ठुलो असर पर्छ ।’ कान्ति बाल अस्पतालका सूचना अधिकारी रमेशसिंह केसीका अनुसार पछिल्लो समय नियुक्त गरिएका अधिकांश नर्सले जागिर छाड्ने क्रम बढेको छ ।

नेपालमा नर्सिङ जनशक्तिको अभाव हुनुमा कम उत्पादन र भएको जनशक्ति विदेश जानुलाई सरोकारवाला मुख्य कारण मान्छन् । यसलाई बुझ्न हरेक वर्ष उत्पादन हुने जनशक्ति र विदेश जानेहरूको तथ्यांक हेर्नुपर्ने हुन्छ । नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हालसम्म दर्ता भएका नर्सको संख्या एक लाख २१ हजार छ । तर, सबै जनशक्ति नेपालमा छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमानअनुसार अहिलेकै अवस्थामा पनि निजी र सरकारीमा गरी ६५ हजार नर्स जनशक्ति नेपालमा कार्यरत हुनुपर्ने अवस्था हो । तर, हाल १८ हजार सरकारी र ३२ हजार पाँच सय निजी स्वास्थ्य संस्थामा कार्यरत गरी नर्सको संख्या ५० हजार पाँच सय छ ।

स्वास्थ्य मन्त्रालयले २०२१ मा गरेको राष्ट्रिय मानव स्रोत रणनीतिक अध्ययन प्रतिवेदन २०२१ अनुसार हाल सरकारी अस्पतालमा कार्यरत नर्सको संख्या १८ हजार छ । अध्ययनले सन् ०३० सम्ममा नेपालमा निजी र सरकारीमा गरी ८१ हजार नर्स चाहिने प्रक्षेपण गरेको छ । तर, यसैगरी नर्स पलायन भइराख्ने हो भने सन् ०३० मा हाल कार्यरत रहेकोभन्दा पनि कम नर्स जनशक्ति हुने चेतावनी विज्ञहरूको छ । 

स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखाका अनुसार हाल नर्सिङ शिक्षामा हरेक वर्ष एक हजार आठ सय विद्यार्थी भर्ना हुन्छन् । निजीतर्फका १३७ वटा क्याम्पसमा नर्सिङ शिक्षा पढाइ हुँदा हरेक वर्ष चार हजारहाराहारी विद्यार्थी भर्ना हुन्थे । नर्सिङ कलेजको संख्या घटेसँगै विद्यार्थी संख्या पनि घटेको स्वास्थ्य मन्त्रालय नर्सिङ महाशाखाको भनाइ छ । नर्सिङ महाशाखा प्रमुख हिराकुमारी निरौलाका अनुसार देशभर जम्मा नर्सिङ पढाइ हुने क्याम्पस संख्या ५५ छ । यसमध्ये ३९ वटा निजी र अन्य सरकारी हुन् । 

गत वर्ष सरकारले झन्डै ९८ वटा नर्सिङ कलेज बन्द गराएको थियो । सुरुमा १३७ कलेजले नर्सिङ शिक्षा पढाउँदै आए पनि मापदण्ड नपुगेपछि बन्द गरिएको हो । सरकारले नर्सिङ कलेजलाई नियम तथा कडाइ गरेपछि पछिल्लो समय नेपालमा नर्सिङ पढाउने कलेजको संख्या पनि निकै कम छ । सीमित कलेजमा सीमित कोटामा पढाइ हुन थालेपछि नर्सको संख्या घट्दो अवस्थामा गएको हो । 

नर्सिङ जनशक्तिको अभावको अर्को प्रमुख कारण उनीहरूको विदेश पलायन हो । मन्त्रालयको नर्सिङ महाशाखाका अनुसार बिदेसिने नर्सको संख्या ठुलो छ । हरेक वर्ष एक हजारभन्दा बढी नर्स बिदेसिने गरेका छन् । मन्त्रालयका अनुसार ०५९ देखि हाल ०८१ असोजसम्म ४३ हजारले विदेश जान एनओसी लिएका छन् । 

एनओसी लिएकामध्ये ९० प्रतिशत नर्स विदेश गइसकेको र बाँकी १० प्रतिशत जाने तयारीमा रहेको मन्त्रालयकै अधिकारी बताउँछन् । ‘काउन्सिलको रेकर्डअनुसार विदेश जान एनओसी लेटर लिने नर्सको संख्या ४३ हजार छ । यो निकै ठुलो संख्या हो,’ नर्सिङ महाशाखा प्रमुख निरौलाले भनिन्, ‘एकातिर विदेश जानेको संख्या धेरै छ । अर्कोतिर नर्स उत्पादन संख्या कम छ । यसले भविष्यमा असर पर्न सक्ने देखिन्छ ।’

तर, स्वास्थ्य मन्त्रालय र नर्सिङ काउन्सिलको तथ्यांकमा बिदेसिने नर्स जनशक्तिको तथ्यांकमा धेरै अन्तर देखिन्छ । काउन्सिलले व्यवस्थित रूपमा तथ्यांक नराख्दा बिदेसिने नर्सको तथ्यांक यकिन छैन । काउन्सिलका रजिस्ट्रार शुक्ला खनालले ०५९ देखि ०८० सम्म सात हजार ३६४ नर्स कामको खोजीमा विदेश गएको बताइन् । ‘हामीकहाँ अन्य धेरै तथ्यांक हुँदैन, हालसम्म सात हजार ३६४ जना नर्स विदेश जानुभएको छ, यो तथ्यांक अप्लाई गरेको आधारमा राखेका छौँ,’ उनले भनिन्, ‘तर नर्सिङ जनशक्ति पलायनको क्रम बढ्दो छ, बाहिर जानेको संख्या बढेपछि यहीँ काम गरेकालाई पनि प्रभाव पारेको छ, यसतर्फ सरकारले चासो दिन जरुरी छ ।’

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति नलिई विदेश जाने नर्सको संख्या उल्लेखीय छ । तर, सीमित नर्सले मात्रै श्रम स्वीकृति लिएर विदेश जाने गरेका छन् । आर्थिक वर्ष ०८०/८१ मा श्रम स्वीकृति लिएर विदेश जाने नर्सको संख्या ७३४ छ । साउनयता कात्तिकसम्म श्रम स्वीकृति लिएर १६७ जना नर्स विदेश गएका छन् । 

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार विदेश गएका नर्सहरूको यकिन तथ्यांक छैन । उनले श्रम स्वीकृति लिएर जानेको मात्रै तथ्यांक विभागसँग रहने बताए । ‘श्रम स्वीकृति नलिई विदेश जानेको संख्या पनि धेरै छ । सीमितले मात्रै श्रम स्वीकृति लिएर जाने गरेका छन्,’ उनले भने, ‘आफ्नो अवस्था र समस्याका कारण कतिपयले श्रम स्वीकृतिविनै जाने गरेका होलान् ।’ 

विदेश जानेमध्ये सबैभन्दा धेरै नर्स युके, जापान, अस्ट्रेलिया, क्यानडालगायत देश पुग्ने गरेका छन् । त्यहाँ तलब–सुविधा पनि राम्रो भएका कारण नेपालका नर्स ती देशमा पुग्ने गरेका हुन् । त्यस्तै, जर्मनी, अमेरिका, माल्दिभ्स, दुबई, साउदी अरब, कतारलगायत देशहरूमा पनि नर्स जाने गरेका छन् । विभागका अनुसार नेपालबाट जापान, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जाने नर्सले मासिक दुईदेखि पाँच लाखसम्म कमाउने गरेका छन् । तर, सबै देशमा एउटै किसिमको सेवा–सुविधा भने छैन । कतिपय देशमा क्षमताका आधारमा पनि नर्सलाई तलब–सुविधा प्रदान गरिएको हुन्छ । 

नेपालमा भने नर्सको तलब न्यून छ । सर्टिफिकेट तथा स्नातक तहसम्म पढेका नर्सलाई १५ देखि ४० हजासम्म तलब दिने गरिएको छ । सोभन्दा माथिल्लो शैक्षिक अनुभव र कार्यानुभव भएका नर्सलाई ४५–७० हजारसम्म तलब दिने गरिएको पाइन्छ । कतिपय निजी अस्पतालले राम्रो तलब–सुविधा दिने गरेको उदाहरण पनि छन् । तर, अधिकांश सरकारी अस्पतालमा नर्सिङ जनशक्तिको तलब–सुविधा न्यून छ । सोही कारण सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सको जागिर छाड्ने क्रम बढेको बताइन्छ ।

विज्ञहरूका अनुसार नेपालबाट नर्स विदेश पलायन हुनुको मुख्य कारण यहाँ तलब–सुविधा पनि कम हुनु नै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले नर्सलाई नेपालमा टिकाउन कठिन हुने अवस्था आएको बताए । ‘विदेश जानेलाई रोक्न त सकिन्न । तर, अब नर्सिङ जनशक्तिलाई नेपालमा टिकाउन उनीहरूलक्षित व्यवस्था राखेर छुट्टै स्वास्थ्य सेवा ऐन चाहिन्छ । उनीहरूको तलब–सुविधा वृद्धि गर्नुपर्छ,’ उनले भने । 

कुन देशमा छ नेपाली नर्सको आकर्षण ?
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार श्रम स्वीकृति नलिई विदेश जाने नर्सको संख्या उल्लेख्य छ । सीमित नर्सले मात्रै श्रम स्वीकृति लिएर विदेश जाने गरेका छन् । आर्थिक वर्ष ०८०/८१ मा श्रम स्वीकृति लिएर विदेश जाने नर्सको संख्या ७३४ छ । साउनयता कात्तिकसम्म श्रम स्वीकृति लिएर १६७ जना नर्स विदेश गएका छन् । विदेश जानेमध्ये सबैभन्दा धेरै नर्स युके, जापान, अस्ट्रेलिया, क्यानडालगायत देश पुग्ने गरेका छन् । त्यहाँ तलब–सुविधा पनि राम्रो भएका कारण नेपालीको आकर्षण छ । त्यस्तै, जर्मनी, अमेरिका, माल्दिभ्स, दुबई, साउदी अरब, कतारलगायत देशहरूमा पनि नर्स जाने गरेका छन् । विभागका अनुसार नेपालबाट जापान, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जाने नर्सले मासिक दुईदेखि पाँच लाखसम्म कमाउने गरेका छन् । तर, सबै देशमा एउटै किसिमको सेवा–सुविधा भने छैन । कतिपय देशमा क्षमताका आधारमा पनि नर्सलाई तलब–सुविधा प्रदान गरिएको हुन्छ । नेपालमा भने नर्सको तलब न्यून छ । सर्टिफिकेट तथा स्नातक तहसम्म पढेका नर्सलाई १५ देखि ४० हजारसम्म तलब दिने गरिएको छ ।

‘पाइलटिङ’का रूपमा सरकारले नै युके पठाएको थियो ४५ नर्स 
सरकारले गत वर्ष युकेसँग समन्वय गरेर ४५ नर्स युके पठाएको थियो । वैदेशिक रोजगार विभागले ‘पाइलटिङ’का रूपमा नेपालबाट ४५ जना नर्सलाई युके पठाएको हो । एक सय नर्सलाई युके पठाउने कोटामा त्यतिवेला ६ सयजनाले आवेदन दिएका थिए । तर, ४५ जनाले मात्रै नाम निकाल्न सके । ती नर्स ०८० को चैतअघि नै युके गएका हुन् । नेपाल र युकेबिच भएको श्रम समझदारीका कारण त्यहाँ गएका नर्सहरूले ‘रजिस्टर्ड नर्स’बराबरको तलब–सुविधा पाएका छन् । सम्झौताअनुसार गएका नर्सले वार्षिक रूपमा २७ हजार पाउन्ड अर्थात् साढे ४३ लाख नेपाली रुपैयाँ कमाउँछन् । अन्य ढंगबाट युके जाने नर्सले पनि वार्षिक ३० लाखभन्दा बढी कमाउने गरेका छन् ।