
एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको अनुगमन भ्रमण गरेको छ ।
एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।
टोलीले प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरू, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको छ।
कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत रूपमा छलफल गरी टोलीले निर्माण प्रगति, व्यहोरिरहेका समस्या, निर्माण तालिकालगायतका विषयमा जानकारी लिएको छ ।
तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, व्यहोरिरहेका समस्यालगायतका विषयमा टोलीलाई जानकारी गराए ।
टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्यालगायतका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँगसमेत छलफल गरेको छ । जग्गासम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरिएको छ ।
आयोजनाले कार्यान्वयनमा ल्याएका वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरूको कार्यान्वयन र प्राविधिक पक्षमा एडिबीको विशेष चासो रहेको उल्लेख गर्दै नियोगका निर्देशक कुश्वाले हाल देखिएका समस्या तत्काल समाधान गरी तोकिएकै समय र गुणस्तरमा निर्माण सम्पन्न हुने बताए ।
सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठुलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
विद्युतगृह, प्रसारणलाइनलगायतका संरचना निर्माण अन्तिम चरणमा रहेको, तर बाँध निर्माण चुनौतीपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै घिसिङले बाँध निर्माणलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाउन सम्बन्धित पक्षहरूलाई निर्देशन दिए ।
मुख्य संरचनाहरूलाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।
ऋषिङ गाउँपालिका– १ र व्यास नगरपालिका– ५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिनेछ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ ।
मुख्य बाँध निर्माण छिट्टै सुरु गर्न लागिएको छ । प्याकेज–१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलेर) गरी कंक्रिट लाइननिङ भइरहेको छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिनेछ । यसका लागि पेनस्टक पाइप जडान अन्तिम चरणमा छ । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ ।
विद्युतगृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ । स्विचयार्ड निर्माण, विद्युतगृहमा रहने उपकरणहरू जडानलगायतका कार्यहरू भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ । प्याकेज–३अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । ३४.७ किलाेमिटर प्रसारणलाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरहरूको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।
यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरूसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरूमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरूमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायतका गरी ६३ वटा परियोजना सम्पन्न भएका छन् । १० वटा परियोजना सञ्चालित छन् । आयोजना प्रभावितहरूको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन भइरहेका छन् ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको छ ।