१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १७:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थतन्त्रका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौँ : अर्थमन्त्री पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४२:oo

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ। स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो।

बिहीबार महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने जिकिर गरे। मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरूलाई निराश नहुन आग्रह गरे। ‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ,’ उनले भने।

सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने दाबी गरे। ‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ,’ उनले भने, ‘उद्योगी व्यापारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीको समस्या छन्। ती अब समाधान हुन्छन् भन्ने आमनागरिकमा विश्वास हुँदै गएको छ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न पौडेलले आग्रह गरे। ‘विमानस्थलबारे सरकारले गरेका निर्णयहरू क्रमशः कार्यान्वयन हुँदै छन्। निजी क्षेत्रले गर्ने कामहरू गर्नुपर्छ। विमानस्थल राम्रोसँग चल्छ। कसरी चल्छ, हामी चलाएर देखाउँछौँ,’ पौडेलले भने।

भैरहवालाई अझै पूर्वाधारयुक्त बनाएर पर्यटक आकर्षित गर्नुपर्ने उनको भनाइ छ। अर्थमन्त्री पौडेलले निर्माणाधीन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गरे। बुटवल–नारायाणगढ सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको उनले बताए।

तीन सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए। उनका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदै छन्।

महोत्सव उद्घाटनअघि करिब तीन सय संघसंस्थाका प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिका झाँकीसहित र्‍याली निकालिएको थियो। महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ। करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।