
र्यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठको संयुक्त प्रस्तुतिमा तयार भएको र्याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक भएकाे छ।
जमलस्थित विश्वज्योति सिनेप्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको र्याप गीतको अडियो गायक श्रेष्ठले तयार गरेका हुन्। गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्यापर हाकिम, मोडल युकी, एलिसबहादुर सिंहलगायतले अभिनय गरेका छन्।
गीत सार्वजनिक समारोहमा उपस्थित र्यापर गिरीश खतिवडाले र्यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए। ‘यसरी र्यापर अगाडि आएर आफूलाई चिनाउँदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ। यो गीत अडियो र भिडियो पनि राम्रो बनेको छ,’ र्यापर खतिवडाले भने।
कार्यक्रममा शुभकामना दिन र्यापर मानस घले पनि उपस्थित थिए। विवेक मगरको छायांकन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ।
र्यापर हाकिमको ‘राक्षस’ र ‘चोरिदेऊ लौन मलाई’ तथा ब्रिजेशको ‘रंग’, ‘ओ मैचा’, ‘डल्ली’लगायतका गीत लोकप्रिय छन्।
हेर्नुस् भिडियाे :