कठघरामा विद्यार्थी आन्दोलन

२०७६ जेठ १४ मंगलबार ०८:५०:००

जेठ १ गते ५४औँ विद्यार्थी दिवससँगै अखिलले आफ्नो स्थापनाको ५४औँ वसन्त पार ग-यो । स्थापनाकालमा अहिलेको नेविसंघ अर्थात् तत्कालीन नेपाली कांग्रेस  निकट विद्यार्थी पनि अखिलमै आबद्ध थिए । ०२७ सालमा आइपुगेपछि अखिलबाट एउटा समूह अलग्गियो र नेविसंघको रूपमा अर्को धार अघि बढ्यो । अखिल भने वामपन्थी धारको रूपमा बढिरह्यो । यसले कम्युनिस्ट पार्टीसँगै ठूला, साना गरी दर्जनौँ फुट बेहो-यो । यस अवधिमा मूलतः राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा अग्रणी भूमिका खेल्न पुग्यो ।

शिक्षालाई नागरिकको जन्मसिद्ध मौलिक हकका रूपमा संविधानमा संस्थागत गराउने उपलब्धि हासिल ग-यो । संगठित र असंगठित सबैखाले आन्दोलनको कुल योग हेर्दा यसले संघर्ष र बलिदानमा कयौँ कीर्तिमान कायम ग-यो । राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा श्रेष्ठ साबित भएको विद्यार्थी आन्दोलन अहिलेको नयाँ सन्दर्भमा इतिहासको कठघरामा उभिएको छ । यसको औचित्य समाप्तिको बहस गर्नेलाई सकारात्मक ढंगले व्यवहारतः जवाफ दिएर हिँड्ने चुनौती यसका सामु छ । 

हिजोआज विद्यार्थी आन्दोलनको औचित्यमाथि विभिन्न कोणबाट प्रश्न उठाउन थालिएको छ । यसमा मूलतः दुई कोणबाट बहस हुन खोजेको देखिन्छ । पहिलो, यो आन्दोलनबाट उज्यालो खोज्ने पक्षले रचनात्मक कोणबाट नयाँ सन्दर्भमा औचित्यको बहस उठाएको पाइन्छ । दोस्रो, यो आन्दोलनको राप, तापले सेकिएका र यसलाई आत्मसात् नगरेकाहरू विद्यार्थी आन्दोलनको औचित्यमाथि जबर्जस्त प्रश्न उठाइरहेका छन् । रूपमा जे–जसरी अभिव्यक्त गरिए पनि सारमा विद्यार्थी आन्दोलनको अवसानमा आफ्ना निजी भविष्यको स्वर्ण सपना बुनिरहेछन्  ।

यस परिवेशमा हामीले विद्यार्थी आन्दोलन किन र केका लागि भन्ने प्रश्नलाई यथेष्ट उत्तरित गरेर मात्र अघि बढ्न सक्छौँ । विद्यार्थीका समस्या र मुद्दा रहुन्जेल विद्यार्थी आन्दोलनको औचित्य समाप्त हुने भन्ने प्रश्नै रहँदैन । तर, बदलिएको सन्दर्भ र नयाँ आवश्यकताअनुरूप विद्यार्थी आन्दोलनलाई अद्यावधिक भने गर्नैपर्छ ।

नयाँ परिवेशअनुरूप बदल्न सकिएन भने विद्यार्थी आन्दोलन एकादेशको कथा नबन्ला भन्न सकिन्न । दिशा स्पष्ट गरेपछि आन्दोलनको स्वरूपको विषय उठ्ने हो । तर, अहिले हामीले स्वरूपको कुरा मात्र उठाएर आन्दोलनको औचित्य समाप्तिको शंख फुक्ने पण्डितको सामना गरिरहेकै छौँ । एउटा यथार्थ के हो भने हिजोको भन्दा आजको विद्यार्थी आन्दोलन एजेन्डा र आवश्यकताका हिसाबले समेत निकै फरक ठाउँमा आइपुगेको छ । समयको यो बदलावको जगमा मात्र विद्यार्थी आन्दोलनको सही मार्गचित्र तय हुन सक्छ ।

आजका दिनमा राजनीतिक एजेन्डा विद्यार्थी संगठनले उठाउनुपर्ने अवस्था छैन । पहिलो, यसका लागि राजनीतिक पार्टी नै पर्याप्त छन् । हिजोको जस्तो पञ्चायती कालरात्रिको समय होइन, यो । दोस्रो, मूलभूत रूपमा राजनीतिक क्रान्तिको अभिभारा सम्पन्न गरेका छौँ र त संघीय गणतन्त्र नेपालमा छौँ । अर्थात् मुलुकको व्यवस्था बदलेर अवस्था बदल्ने मोडमा आइपुगेका छौँ । अब शैक्षिक एजेन्डा तथा विद्यार्थीको हक, हित र अधिकारकेन्द्रित मुद्दाको सेरोफेरोमै आजको विद्यार्थी आन्दोलन अगाडि बढाउने सूक्ष्म परिवेश तयार भएको छ । यो आफ्नो जनवर्गीय मुद्दामा केन्द्रित हुने स्वर्णिम क्षण हो ।
हिजोभन्दा आजको हाम्रो आन्दोलनको स्वरूप बदलिँदो छ ।

हिजो साना मुद्दामा ठूला संघर्षको उठान गर्नुपथ्र्यो । जटिल र निर्मम प्रकृतिका आन्दोलन गर्ने कुरा सामान्य थिए, तर आज त्यस्तो छैन । आज वार्ता, संवाद, अन्तक्र्रिया, दबाब, प्रदर्शन, धर्ना र अनसनजस्ता संघर्षका रूप हाम्रा अघि विकल्पका रूपमा छन् । यसमा अझ नयाँ र रचनात्मक स्वरूपको खोजी बढ्दो छ । अर्थात्, विनाक्षति वा सबैभन्दा कम क्षतिमा धेरै उपलब्धि प्राप्तिको हुटहुटी समाजमा हुर्कंदो छ ।

मुख्य कुरा अहिले विद्यार्थी आन्दोलन कमजोर भएको छैन, बरु सुविचारित ढंगले मुख्यतः शैक्षिक एजेन्डामा केन्द्रित भएर अगाडि बढिरहेको छ । सामान्यतया राज्यले चाल्ने कदम र निर्णयले पनि आन्दोलनको दिशा निर्धारण गर्छ । कतिपय सन्दर्भमा चालिएका सुझबुझपूर्ण कार्यले आन्दोलन अराजक हुन र भड्किन दिएको छैन । मुद्दागत माग सार्वजनिक हुनासाथ या आन्दोलनको आह्वान हुनासाथ वार्तामा बोलाएर समस्याको समाधान खोज्ने प्रवृत्ति राज्यसत्तामा विकसित हुन थालेको देखिन्छ । यसले विद्यार्थी आन्दोलनको भावी स्वरूप कस्तो हुने र बनाउने भन्ने कुरालाई निर्देश गरेको छ ।

विद्यार्थी आन्दोलन वैचारिक रूपले आफुनिकट पार्टीको होस् या अरूको, जनविरोधी र गलत प्रवृत्तिविरुद्ध अविलम्ब प्रतिवाद गर्ने खालको हुनुपर्छ । विद्यार्थी आन्दोलनले शैक्षिक मुद्दामा मात्र होइन, आमगरिखाने जनताका खिलाफमा हुने सबैखाले गतिविधिविरुद्ध बोल्नुपर्छ । राष्ट्रियताको सन्दर्भमा हिजोको गर्विलो विरासतझैँ अग्रपंक्तिमा उभिने चरित्र जीवन्त राख्नुपर्छ । वास्तवमा अबका दिनमा पनि विद्यार्थी आन्दोलन गलत कुराको प्रतिवाद गरिरहने, तर रचनात्मक चरित्रको हुनुपर्छ ।

शिक्षामा भएको निजीकरण, व्यापारीकरण र माफियाकरणविरुद्ध नीतिगत र कार्यान्वयनका तहमा निरपेक्ष संघर्ष गर्ने खालको हुनुपर्छ । शिक्षालाई उत्पादनसँग जोड्ने, सार्वजनिक शिक्षाको स्तरोन्नोति गर्ने, उच्च शिक्षामा आमजनताका छोराछोरीको पहुँच वृद्धि गर्ने, प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने, गुणस्तरीय शिक्षासँगै अन्तर्राष्ट्रिय समकक्षता कायम गर्नेलगायत विषयमा विद्यार्थी आन्दोलनलाई सूक्ष्म ढंगले केन्द्रित गर्नुपर्छ । अब नेपाललाई इन्जिनियरिङ, मेडिकललगायत प्राविधिक शिक्षाको हबको रूपमा विकास गर्न सक्ने सम्भावनामा टेक्दै विदेशी विद्यार्थीलाई भिœयाउने कुरामा विद्यार्थी आन्दोलनले ध्यान दिनुपर्छ ।

त्यस्तै, देशको आवश्यकताअनुकूलको कृषि तथा वन विज्ञान, जडीबुटी, पर्यटन, जैविक विविधताजस्ता विषयमा तहगत र विविध प्रकृतिको पाठ्यक्रमको विकास गरी दक्ष जनशक्ति उत्पादन गर्ने, शिक्षालाई जीवन व्यवहार र प्रविधिसँग जोड्ने, समाजवादी शिक्षाको दिशामा अघि बढ्ने कुरामा अबको विद्यार्थी आन्दोलनलाई केन्द्रित गर्नुपर्छ । विद्यार्थी आन्दोलनमा क्रान्तिकारी सार बोकेको र सोहीअनुसारको रूप बोकेको संगठन हुनुपर्छ ।

विद्यार्थी आन्दोलन शैक्षिक मुद्दामा मात्र होइन, आमगरिखाने जनताका खिलाफमा हुने सबैखाले गतिविधिविरुद्ध बोल्नुपर्छ । राष्ट्रियताको सन्दर्भमा हिजोको गर्विलो विरासतझैँ अग्रपंक्तिमा उभिने चरित्र जीवन्त राख्नुपर्छ र शिक्षामा भएको निजीकरण, व्यापारीकरण र माफियाकरणविरुद्ध नीतिगत र कार्यान्वयनका तहमा निरपेक्ष संघर्ष गर्ने खालको हुनुपर्छ ।

समाजवादी शिक्षा प्राप्तिको आन्दोलनको कार्यदिशा भएपछि त्यसको संगठनात्मक स्वरूप पनि सोहीअनुरूप हुनुपर्छ । विद्यार्थी र शिक्षण संस्थाकेन्द्रित तहगत संरचना एवं कार्यकारी संरचनाको स्वतःस्फुर्त र चुस्त–दुरुस्त कार्यप्रणाली  हुनुपर्छ । त्यस्तै, राज्य पुनर्संरचनासँगै भएको अधिकारको विकेन्द्रीकरणले आन्दोलन पनि विकेन्द्रीकरण गराउनुपर्ने अनिवार्यता सिर्जना भएको छ ।

संगठनात्मक विधिद्वारा कसिलो गरी बाँधिएको र फलामे अनुशासन लागू गर्न सक्ने वास्तविक विद्यार्थीको संगठन नै क्रान्तिकारी विद्यार्थी संगठन हो । जसले कलेजमा समय गुजारेका भन्दा पनि नियमित रूपमा अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व गर्नुपर्छ । त्यसैगरी, शैक्षिक माफियाविरुद्ध सम्झौताहीन संघर्ष गर्ने आन्दोलन अब तिनै शैक्षिक माफियासँग चन्दा लिएर चल्नुपर्ने परिस्थितिबाट हरहालतमा मुक्त हुनुपर्छ ।

क्रान्तिकारी विरासतमा संगठनसँग आफ्नै पारदर्शी आर्थिक प्रणाली हुनुपर्छ । नियमित गरिने संगठनात्मक काम र संघर्षको योजनासहितको वार्षिक क्यालेन्डर तयार गर्नुपर्छ । अनि गुण र दोषका आधारमा, क्षमता, प्रतिभा र सक्रियताका आधारमा मूल्यांकनको परिपाटी र नेतृत्व विकासको वैज्ञानिक विधि हुनुपर्छ । जनवादको अभ्यासको क्रममा अपनाइने चुनावी प्रणालीलाई वास्तविक रूपमा स्वस्थ र मर्यादित बनाउन आवश्यक विधि निर्धारणमा सूक्ष्म ध्यान पुग्नुपर्छ । 

यी समग्र पक्षलाई मध्यनजर नगरी अबको विद्यार्थी आन्दोलन ठीक ढंगले अघि बढ्न सक्दैन । हिजो लाल कार्यकर्ता र विद्यार्थी उत्पादनको अगुवाइ गर्ने विद्यार्थी आन्दोलनले अबका दिनमा निपुण कार्यकर्ता र निपुण विद्यार्थी उत्पादनमा जोड गर्नुपर्छ । सारमा हिजोको गौरवशाली विगतबाट आलोकित हुँदै चुनौतीपूर्ण वर्तमानसँग जुध्दै समाजवादी शिक्षाप्राप्तिको सुनौलो अभियानमा जुट्नुपर्छ । यही समयको माग हो ।

(लेखक विद्यार्थी नेता हुन्)
 

सम्बन्धित समाचार