Skip This
विनाविभागीयमन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय फुटाइँदै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २७ मंगलबार
  • Sunday, 01 June, 2025
२o८१ कार्तिक २७ मंगलबार o६:१९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विनाविभागीयमन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय फुटाइँदै

मदुकुमार श्रेष्ठ १११ दिनदेखि विनाविभागीयमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २७ मंगलबार o६:१९:oo

बागमती प्रदेशमा १४औँ मन्त्रालय थपिने भएको छ । १११ दिनदेखि विनाविभागीयमन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन एउटा मन्त्रालय थप्ने तयारी भएको हो । बागमतीमा हाल १३ मन्त्रालय र १४ मन्त्री छन् ।

संसद्का दुई ठुला दल कांग्रेस र एमालेको सरकारमा सबैभन्दा लामो समयसम्म विनाविभागीयमन्त्री बनाएको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्रालयको संख्या बढाएर जिम्मेवारी दिइने भएको हो । उनी कांग्रेसका सांसद हुन् । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको टुंगो लगाउने र मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिने बताए । 

स्रोतका अनुसार मन्त्री श्रेष्ठलाई नयाँ मन्त्रालयका रूपमा गरिबी निवारण तथा सहकारी मन्त्रालय वा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट समायोजना गरेर नयाँ मन्त्रालय बनाएर जिम्मेवारी तोक्ने सम्भावना छ । संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारी विभाग छुट्याउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको संघीय सरकारबाट प्राप्त हुने अनुदान, समपूरक, विशेष अनुदानको क्षेत्र हेर्ने गरी दुवैलाई मिलाएर गरिबी निवारण तथा सहकारी मन्त्रालय बनाउने विषयमा कांग्रेस र एमालेमा छलफल भइरहेको छ । मुख्यमन्त्री कार्यालयका सचिव श्रवणकुमार पोखरेल सरुवा भइसकेको र नयाँ सचिव नियुक्ति नभएकाले मंगलबार सचिवको नियुक्ति गरेर मात्रै मन्त्री श्रेष्ठलाई विभागीय जिम्मेवारी दिने सम्भावना छ । 

कांग्रेस र एमालेको गठबन्धन बनेपछि बनेको नयाँ सरकारमा मन्त्री बनेका मदुकुमार श्रेष्ठले १११ दिनदेखि विभागीय जिम्मेवारी पाउन सकेका छैनन् । उनले गत ९ साउनमा प्रदेशका मुख्यमन्त्री लामासँगै शपथ लिएका थिए । यसअघि तत्कालीन मुख्मन्त्री शालिकराम जम्कट्टेलको पालामा कांग्रेसबाट मन्त्री बनेका रामकृष्ण चित्रकार ९२ दिनसम्म विनाविभागीयमन्त्री बनेका थिए । उनलाई मन्त्रालय विभाजन गरेर मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

बागमतीमा मुख्यमन्त्रीबाहेक एमाले र कांग्रेसले ६–६ मन्त्रालय लिने सहमति भएको थियो । तर, मुख्यमन्त्री लामाले आफूबाहेक एमालेबाट ६ र कांग्रेसबाट सात मन्त्री बनाए । १३ वटा मन्त्रालय रहेको प्रदेशमा १४ जना मन्त्री भएपछि श्रेष्ठले अहिलेसम्म जिम्मेवारी पाउन नसकेका हुन् । आफूभन्दा पछि मन्त्री नियुक्त भएकाहरूले विभागीय जिम्मेवारी पाए पनि मन्त्री श्रेष्ठले आश्वासनकै भरमा १११ दिन बिताएका छन् । ‘यसपटक मैले मन्त्रालयको जिम्मेवारी पाउँदै छु । यही मन्त्रालय भनिएको छैन, तर मुख्यमन्त्रीज्यूको भनाइअनुसार यसपटक फरक पर्दैन,’ उनले भने ।