पर्यावरणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रिन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिशा एलजीले उपाधि जितेका छन्।
शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए। छात्रातर्फ अमर माविकै विनिता पुलामीमगर दोस्रो र जनताकै ऋतु विष्ट तृतीय भए।
धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ‘१० वर्षमा १० इभेन्ट’अन्तर्गत खजुराको गौघाटमा ग्रिन रन आयोजना गरिएको हो। दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई ट्रफीसहित नगद पाँच हजार, तीन हजार र दुई हजारले पुरस्कृत गरियो।
लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, लुम्बिनी खेलकुद परिषद्का सदस्य डिबी तामाङ, वडासदस्य लक्ष्यबहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह र समाजसेवी कृष्णमान श्रेष्ठले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे।