वर्षभरलाई खान पुग्ने धान घरमा थन्क्याएर बढी भएको बिक्री गरी परिवारको खर्च धान्ने प्रमुख बाली धान नै हो । त्यसैले सबैभन्दा बढी किसान धानखेतीमा आश्रित छन् भने अन्य बालीको तुलनामा बढी मिहिनेत पनि गर्छन् ।
असारमा ‘मानो’ खाएर रोपाइँ गरेको धान अहिले फलेको छ । त्यसैले देशभरका किसान खेतबारीमा पाकेको धान काट्न र भित्र्याउन व्यस्त छन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष देशभर १३ लाख ७८ हजार ६ सय ११ हेक्टरमा रोपाइँ भएको छ । रोपाइँअनुकूल मनसुन भएकाले यो वर्ष उत्पादनमा सुधार हुने मन्त्रालयको प्रारम्भिक आकलनसमेत थियो, तर असोज ११ र १२ को बेमौसमी वर्षाले उत्पादनमा क्षति गरेको छ ।
खेतमा पहेँलपुर भएर पोकेको धान काट्न, चुट्न र भित्र्याउन मधेशका किसान अहिले बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । मधेशमा यो वर्ष तीन लाख ८६ हजार हेक्टरमा रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका बाली संरक्षण अधिकृत सुदीप चौधरीले बेमौसमी वर्षाका कारण यो वर्ष धान उत्पादनमा कमी आउने प्रक्षेपण गरेको बताए ।
‘बेमौसमी वर्षाका कारण धानबाली प्रभावित भई अपेक्षाअनुसार उत्पादन हुन सकेको देखिँदैन,’ उनले भने । यो वर्ष मधेशमा १२ लाख ३१ हजार मेट्रिकटन धान उत्पान भएको प्रारम्भिक आकलन छ । गत वर्ष १३ लाख ५५ हजार ६ सय तीन मेट्रिकटन फलेको थियो ।
मकवानपुरका किसान दसैँ–तिहार मनाएर अहिले खेतमा धान काट्न व्यस्त छन् । हेटौँडा– १७, रानी खोलाका सुशील दाहाल तिहारअघि काटेको धान थ्रेसर लगाएर भित्र्याइरहेका छन् । उनले १३ कट्ठामा लगाएको धान यसपटक मनग्गे फलेको भन्दै खुसी व्यक्त गरे । ‘विगतका वर्षहरूमा भन्दा यस वर्ष समयमै र पर्याप्त पानी पर्दा पोहोर–परारभन्दा बढी धान फलेको छ,’ उनले भने ।
फाँट गुरौ खोलाछेउको जग्गामा मेसिनले धान काटिरहेका किसान विकास श्रेष्ठले पनि यो वर्ष राम्रो उत्पादन भएको बताए । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सुजन कँडेलले भने प्रदेशको समग्र उत्पादनमा कमी आउने देखिएको बताए । यसपालि बागमती प्रदेशमा एक लाख ११ हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बाढीपहिरोका कारण पाँच हजार पाँच सय तीन हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । प्रवक्ता कँडेलले मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली, धादिङलगायतका जिल्लाहरूमा बाढीपहिरोले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको जानकारी दिए ।
सबैभन्दा बढी मकवानपुरमा दुई हजार ९०२.८३ हेक्टरमा लगाइएको धानखेतीमा क्षति पुगेको छ । त्यस्तै, सिन्धुलीमा आठ सय ५५ हेक्टर, काभ्रेमा ६ सय २.१ हेक्टर, ललितपुरमा दुई सय ११.५ हेक्टर, नुवाकोटमा एक सय ९८.२२ हेक्टर, धादिङमा एक सय ८४ हेक्टर र रामेछापमा एक सय ५७.५५ हेक्टरमा लगाइएको धानखेतीमा बाढीपहिरोले क्षति पुर्याएको छ ।
कृषिका लागि उर्वर मानिएको चितवनका किसानले यान्त्रिकीकरणको प्रयोग गरेर धान काट्ने र भित्र्याउने गरिरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाका अनुसार किसानले ११ हजार हेक्टरमा लगाएको धान मेसिनको सहयोगमा भित्र्याइरहेका छन् ।
चितवनका किसानहरूले धान काट्न रिपर र पराल तथा धानको दाना छुट्याउन कम्बाइन हार्भेस्टरको प्रयोग गरिरहेका छन् । चितवनमा २७ हजार दुई सय सात हेक्टरमा धान रोपाइँ भएको र प्रतिहेक्टर ३.९ मेट्रिकटनका दरले उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलले बताए ।
गत वर्षको २२ हजार सात सय ७० हेक्टरमा मात्र रोपाइँ भए पनि यस वर्ष चितवनमा २७ हजार दुई सय सात हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ । यद्यपि, उत्पादन भने घट्दै गएको छ । पौडेलका अनुसार हाल प्रतिहेक्टर ३.९ टन धान उत्पादन हुने अनुमान गरिएको छ, गत वर्ष भने ४.३ टन प्रतिहेक्टर थियो ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की, नवलपुर, स्याङ्जा र तनहुँमा धेरै धानखेती हुने भएकाले यहाँका किसान बाली भित्र्याउन व्यस्त छन् । कतिपयले भने तिहारअघि नै धान थन्क्याइसकेका छन् ।
गण्डकीमा सावित्री, राम, लोकतन्त्र, जेठोबुढो, खुमलटार, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्ध, बमेर्ली, गुर्दीलगायत जातका धान धेरै रोप्ने गरिएको छ ।
पोखरा– २५ का कृष्ण पौडेलले अघिल्लो वर्षको भन्दा यस वर्ष खेतीका लागि मौसमले निकै साथ दिएकाले बालीसमेत राम्रो भएको, तर असिनापानीले पाकेको धान झारेकाले धेरै नोक्सानी खेप्नुपरेको गुनासो गरे । ‘खेतका फाँटमा कतै काटेको धानमा असिनाले असर पारेको छ भने कतै नकाटेको धानसमेत लडाएर ठूलो क्षति गर्यो,’ उनले भने । यो वर्ष प्रदेशभर ९६ हजार पाँच सय हेक्टरमा धानखेती गरिएको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।
लुम्बिनी दोस्रो धेरै धान उत्पादन हुने प्रदेश हो । कृषि भूमि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप तिवारीका अनुसार यस वर्ष तुलनात्मक रूपले बढी धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । ‘यो वर्ष धान भित्र्याउने क्रममा नवलपरासीमा सामान्य क्षति भए पनि अन्य जिल्लाका किसानले कुनै समस्याविना धान भित्र्याइरहेका छन्,’ उनले भने ।
लुम्बिनीमा गत आर्थिक वर्ष ०८०/८१ मा १२ लाख ९६ हजार आठ सय ९३ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष रोपाइँ पनि समयमा भएकाले उत्पादनमा वृद्धि हुने अनुमान छ । लुम्बिनीमा तीन लाख ११ हजार हेक्टरमा धानखेती भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका– ७, गेन्दवाका कैयम मुकेरी भर्खरै धान भित्र्याएर बसेका छन् । उनले यस वर्ष करिब २५ प्रतिशत बढी धान फलाएको बताए । डुडुवा गाउँपालिका– ४, हलबलडोलीका रामचन्द्र मौर्यले पनि प्रतिकट्ठा करिब दुई क्विन्टलका दरले धान उत्पादन भएको बताए । बाँकेमा यसपटक करिब साढे ४ प्रतिशतले उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद घिमिरेले बताए ।
सुदूरपश्चिमका किसानले भने धान भित्र्याइसकेका छन् । मध्य जेठबाटै रोपाइँ थाल्ने भएकाले त्यहाँका किसानले छिटो धान काटेका हुन् । अहिले धान काटेको जग्गा जोतेर हिउँदे बाली मुसुरो, तोरीलगायत लगाउने तयारीमा किसान छन् ।
तिहारअघि नै धान भित्र्याएका धनगढी उपमहानगरपालिका– ५ का कृषक रामप्रसाद चौधरीले खेत जोतेर गहुँ छर्न लागेको बताए । कृषि ज्ञानकेन्द्र कैलालीका सूचनाअधिकारी श्याम जोशीले उत्पादन ७–८ प्रतिशतसम्म बढेको आकलन गरिएको बताए ।
जिल्लाभरि ५० ठाउँमा किसानको खेतमै गएर धान कटानी र थ्रेसिङ गरेर तथ्यांक संकलन गरिएको ज्ञानकेन्द्र प्रमुख हरिप्रसाद पनेरूले जानकारी दिए । सुदूरपश्चिममा यो वर्ष एक लाख ७४ हजार पाँच सय ७६ हेक्टरमा रोपाइँ भएको थियो ।
धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४.७ मेट्रिकटन रहेको ज्ञानकेन्द्रले जनाएको छ । आधुनिक प्रविधि र उन्नत बिउको बढ्दो प्रयोगले पनि उत्पादकत्वमा सुधार हुँदै गएको कृषि प्राविधिकको भनाइ छ । कैलालीमा करिब ६८ हजार हेक्टरमा धानखेती हुने गरेको छ ।
जनकपुरमा हदिश खुद्दार, मकवानपुरमा पोष्टराज अधिकारी, चितवनमा विवेक पोख्रेल, कास्कीमा रोहितराज पराजुली, दाङमा दीपक बोहरा, बाँकेमा विश्वराज पछल्डङ्ग्या, धनगढीमा तेजराज भट्ट