मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Thursday, 05 December, 2024
बारीमा फलेको ड्रागन फ्रुट देखाउँदै जानकी गाउँपालिका– ४, नहरपुर्वाका कमलबहादुर राना ।
२o८१ कार्तिक २३ शुक्रबार १o:३o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुबईको भिसा त्यागेर ड्रागन खेती

वैदेशिक रोजगारीमा जान ठिक्क परेका कमलबहादुर राना अहिले आफ्नै बारीमा ड्रागन खेती गरेर मनग्यै आम्दानी गर्दै छन्, सुरुमा खिसीट्युरी गर्ने छिमेकी र आफन्त पनि उनको पौरख देखेर दंग छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १o:३o:oo

- २० लाखको लगानी दुई वर्षमै उठ्यो, अहिले प्रतिफल लिँदै
- अर्काको देशमा श्रम गर्न जान लागेका रानाले अहिले आफ्नै बारीमा दिइरहेका छन् ६ जनालाई रोजगारी

वैदेशिक रोजगारीका लागि दुबईको भिसासमेत लगाएर बसेका जानकी गाउँपालिका– ४ नहरपुर्वाका कमलबहादुर राना एक दिन युट्युबमा आएका भिडियो मोबाइलमा हेरिरहेका थिए । त्यही वेला ड्रागन खेतीको बजार र उत्पादनबारे विस्तृत जानकारीसहितको भिडियो हेर्न पुगे । भिडियो हेरिसकेपछि उनले विदेश जाने भिसा रद्द गरेर तत्कालै ड्रागन खेती थाल्ने निर्णय लिए ।

‘विदेश जानुभन्दा स्वदेशमै केही गरौँ भन्ने भावना पहिलेदेखि नै थियो । युट्युबमा हेरेको एउटा भिडियोले मेरो जिन्दगीमा नयाँ आयाम थपिदियो,’ उनले भने । युट्युबमा हेरेको भिडियोबाट प्राप्त जानकारीअनुसार उनले आफ्नो १० कट्ठा जमिनमा पाँच सय बोट ड्रागन फ्रुटका बिरुवा रोपेका छन् । सुरुवातमा छिमेकी र आफन्तले कृषि गरेको देखेर हँसीमजाक गरेको उनले विगत सम्झिए । ‘टन्टलापुर घाममा ड्रागनको बोट लगाएको देखेर धेरैले खिसीट्युरी गरे । कतिपयले त बहुलायोसमेत भनेर गिज्याए,’ कमलले भने । 

तर, उनले हिम्मत हारेनन् । बरु, वैदेशिक रोजगारीमा रहेकाहरूको भन्दा बढी प्रगति गरेर देखाउने अठोट गरेका कारण अहिले सफलता मिलेको उनले बताए, ‘चर्को घाममा ड्रागनको ससाना टुप्पा मात्र देखिन्थ्यो । देख्नेहरूले हाँसीमजाक गर्थे । ड्रागनको फूल फुलेपछि भने सुन्दर देखियो । मन आनन्दित भयो,’ उनले भने, ‘वरपरका छिमेकी खेतमै आएर हेर्न थाले र बिस्तारै तारिफ गर्न थाले ।’ परिश्रमले फल दिन ,थालेपछि विगतको हेपाहा प्रवृत्ति र दुःख सबै बिर्सिएको उनले सुनाए ।

उनले ड्रागन खेती थालेको तीन वर्ष पुगिसकेको छ । यो अवधिमा करिव २० लाख रुपैयाँ खर्च भए पनि दुई वर्षमै लगानी उठिसकेको छ । अहिलेसम्म तीनपटक ड्रागन टिपिसकेका छन् । प्रतिकिलो चार सय रुपैयाँका दरले हालसम्म २५ क्विन्टल बिक्री गरिसकेको उनले जानकारी दिए । ‘लगानी उठिसक्यो, अब कमाइखाने वेला भएको छ,’ उनले खुसी हुँदै भने । 

वैदेशिक रोजगारीमा जाने सोच बनाएका उनले बारीमा ६ जनालाई रोजगारी दिएका छन् । अन्यत्रभन्दा बढी ज्यालासमेत दिएको उनको भनाइ छ । बिचौलियाका कारण उपभोक्ता मारमा परेको बताउँदै उनले व्यापारीलाई भन्दा सर्वसाधारणलाई प्राथमिकता दिएर ड्रागन फ्रुट बिक्री गरिरहेको बताए । ‘मसँग चार सय रुपैयाँ प्रतिकेजी किनेर व्यापारीले ग्राहकसँग सात सय रुपैयाँमा बिक्री गर्छन् । म त व्यापारीलाई भन्दा सीधै किसानलाई बेच्छु । पाक्नेबित्तिकै सर्वसाधारण किन्न पनि आउँछन्,’ उनले भने । 

ड्रागन फ्रुट तीन प्रकारको भएको बताउँदै उनले रातो रङ भएको पहिलो श्रेणी र खाँदा पनि स्वादिलो हुने जानकारी दिए । उनले ड्रागनको बोटनजिक सिमेन्टको पिलर गाडेर त्यसको माथि मोटरसाइकलको टायर बाँधेका छन् । त्यही टायरमा ड्रागनको बोट चारैतिर फैलिएको छ । प्रतिटायर ५० रुपैयाँका दरले खरिद गरेको उनले बताए । विदेश जाने युवालाई स्वदेशमै रोजगारी गर्न पनि उनले सुझाव दिए ।