मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रासस खोटाङ
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निरीक्षकको लापरबाहीले अनुत्तीर्ण छात्र परीक्षा बोर्डद्वारा उत्तीर्ण

Read Time : < 1 मिनेट
रासस, खोटाङ
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरबाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ।

केपिलासगढी गाउँपालिका– ५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए। उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो।

०८० चैत २० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए। गत असोज १३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक ४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुबा परशुराम राईले जानकारी दिए।

हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जिपिएसहित उत्तीर्ण भएका छन्। पूरक परीक्षामा भने शिवकुमारको जिपिए ३.५५ थियो। अब भने पछिल्लो नतिजा अर्थात् (३.४५ जिपिए) कायम हुने जनाइएको छ। परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जिपिए ल्याएर एसइई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएका गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए।

थर्पुडाँडा माध्यमिक विद्यालयकै क्याल्सी राईले ३.३९ जिपिए ल्याएर छात्रातर्फ उत्कृष्ट भएकी थिइन्। केपिलासगढी गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई प्रोत्साहनस्वरूप रु एक–एक लाख पुरस्कार दिँदै आएको छ। गाउँपालिकाले पुरस्कार दिन थालेपछि थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई फेल गराउने नियतले उत्तरपुस्तिका कोरेको बुबा पर्शुरामको आरोप छ।

उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै गत असोज २२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए। तर, उनलाई हालसम्म कुनै कानुनी कारबाही गरिएको छैन।