नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी)बिच नेपाल पे कार्ड जारी तथा प्राप्ति गर्न पूर्वाधार तयार गरी एकीकृत गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीलेशमानसिंह प्रधान तथा एससिटीका सिइओ मनोज घिमिरेले हस्ताक्षर गरेका छन् ।
एनसिएचएले चरणबद्घ रूपमा स्थापना गर्दै गरेको नेसनल पेमेन्ट स्विचको दोस्रो चरणअन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे’ र एनपिएस नेसन कार्ड स्विच कार्यान्वयनका लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको बताइएको छ ।
उक्त कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्न एससिटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरेपछि एनपिएस–एनसिएसको प्राविधिक सदस्यतालाई नेपाल पे कार्ड जारी गर्न सक्नेछ । सञ्चालनमा आएपश्चात् उक्त कार्डको राउटिङ, स्विचिङ तथा सेटलमेन्ट एनसिएचएलको नेसनल पेमेन्ट स्विचमार्फत हुने बताइएको छ ।