मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १९ सोमबार
  • Saturday, 14 December, 2024
रासस कञ्चनपुर
२o८१ कार्तिक १९ सोमबार १३:५५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव

Read Time : > 1 मिनेट
रासस, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ कार्तिक १९ सोमबार १३:५५:oo

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ नौखरीका महादेव डगौरा व्यावसायिक तरकारीखेती गर्ने किसानका रूपमा परिचित छन्। दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन्। कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच कट्ठा जग्गाबाट उनले तरकारीखेती सुरु गरेका हुन्। अहिले डगौरा एक बिघाभन्दा बढी जग्गामा तरकारीखेती गर्छन्।

‘पाँच कट्ठा जग्गा आफ्नै स्वामित्वको छ,’ उनले भने, ‘बाँकी १५ कट्ठा जग्गा लिज (भाडा)मा लिएर तरकारीखेती गर्दै आएका छौँ।’ बारीमा उत्पादित तरकारी बेचेर वर्षमा रु. पाँच लाखदेखि रु. सात लाखसम्मको आम्दानी हुने गरेको उनी बताउँछन्।

वर्षातको समयमा लहरे तरकारी लौका, फर्सी, काँक्रा, बोडी बाली रोप्ने डगौरा हिउँदको मौसममा काउली, बन्दागोभी, गोलभेँडा, फर्सी, खुर्सानी, आलु, तितेकरेलालगायतको खेती गर्छन्। जेठ–वैशाख महिनामा काँक्रा, लौकाको खेती गर्छन्। योसँगै तरकारीका बेर्ना तयार गरी किसानलाई उनले बिक्री गर्ने कार्य पनि गर्दै आएका छन्। उत्पादित तरकारी स्थानीय बजारमा सहज रूपमा खपत हुने गरेको छ। ‘उत्पादित तरकारी केही बारीबाटै बिक्री हुन्छ,’ उनले भने, ‘बारीमा बिक्री हुन नसकेको तरकारी बजारसम्म पुर्‍याएर बिक्री गर्छौँ।’

तरकारी बिक्रीबाट डगौराले गाउँमा पक्की घर ठड्याएका छन्। घरमै बेरोजगार भएर बसेका छोराका लागि अटोरिक्सा खरिद गरेर स्वरोजगार बनाएका छन्। सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्नका लागि पावर टिलर डगौराले जोडेका छन्। तरकारी बजारसम्म पुर्‍याएर बेच्नका लागि डगौरासँग मोटरसाइकल पनि छ। घरको अन्न, नुन, तेलदेखि लुगाफाटोसम्मको खर्च तरकारीखेतीको कमाइले धानिएको छ।

भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा बजारमा तरकारी बेच्न कुनै वेला निकै समस्या हुने गरेको उनी सम्झन्छन्। सरकारी तवरबाट उपलब्ध हुने अनुदान अहिलेसम्म नपाएको डगौरा बताउँछन्। ‘दातृ निकायले अगुवा कृषकलाई व्यावसायिक तरकारीखेती गर्ने तालिम दिएको थियो,’ उनले भने, ‘त्यही तालिममा सहभागी हुने मौका पाएँ, तरकारीखेती गर्ने किसानको बारी अवलोकन गरेँ, त्यसपछि तरकारीखेतीमा संलग्न भएँ।’

विद्यालयको मुखसम्म देख्न नपाएका महादेव व्यावसायिक तरकारीखेती गर्दा मलको मात्रा कति राख्ने, कुन जातको बिउ प्रयोग गर्ने, कुन वेला सिँचाइ गर्ने, कुन विषादी प्रयोग गर्ने, खेत तयार गर्ने कुरामा निपुण छन्। ‘बाबु–बाजेले अरूकहाँ कमैया बसेर कार्य गरे,’ उनले भने, ‘मैले पनि कमैया बसेकै घरमा सानै छँदादेखि गोरुगोठाला भएर काम गरेँ, १३ वर्षको उमेरदेखि नै गोरु जोत्न थालेँ, विद्यालय जानुपर्छ भन्ने थाहै भएन।’ कमैया बसेकै वेला त्यहीँ विवाह भएको उनले बताए।

कमैया मुक्तिको घोषणापछि सरकारले पुनर्स्थापना गराउँदा यहाँ आएर बसेपछि कमाउने साधन नहुँदा केही दिन ज्याला–मजदुरीमा काम गर्नुपरेको विगत सम्झिँदै उनले सुनाए। गैरसरकारी संस्थाहरूले सञ्चालन गरेको तरकारीखेतीसम्बन्धी तालिम लिएपछि अरू कार्य छाडेर तरकारीखेती गर्न थालेपछि पैसाका लागि कसैसँग हात थाप्नु नपरेको उनको भनाइ छ।

महादेवको जस्तै नौखरीका मिसालु चौधरी, विपदराम चौधरी, फूलमती चौधरी र जगत डगौराले व्यावसायिक तरकारीखेतीलाई निरन्तरता दिँदै आएका छन्। तरकारीखेतीको कमाइले परिवारको खर्च सहज रूपमा चल्ने गरेको जगत डगौरा बताउँछन्। तरकारीखेती गर्ने सबैजनाको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ। व्यावसायिक तरकारीखेतीमा लागेका मुक्त कमैया परिवार भन्छन्, ‘बजारको व्यवस्थापनसँगै अनुदानका कार्यक्रम गरिखानेसम्म पुर्‍याइनुपर्छ।’