एक निजी इन्जिनियरिङ कम्पनीको कार्यक्षेत्रमा निकै धेरै बिजुलीका प्यानल लगाइएका थिए । कम्पनीका कर्मचारीले प्यानलनजिक रहेर घन्टौँ काम गर्नुपर्थ्यो । काम गर्दैगर्दा जतिसुकै सावधानी अपनाए पनि कर्मचारीलाई करेन्ट लागिरहन्थ्यो । विद्युतीय झड्काले कम्पनीका कर्मचारी निकै हैरान थिए ।
यस समस्याबाट छुटकारा पाउन कम्पनीले विशेष बैठक आयोजना गर्यो र करेन्टको झड्काबाट बच्ने अनेकौँ उपायमाथि विचार विमर्श गरियो । अन्त्यमा प्यानलको छेवैमा रबरका ‘इन्सुलेटिङ म्याट’ राख्ने निर्णय भयो । त्यसमाथि टेकेर काम गर्दा कर्मचारीलाई करेन्ट लाग्ने समस्या हुँदैनथ्यो । यो उपाय सस्तो र प्रभावकारी दुवै देखिएकाले तत्काल यसलाई कार्यान्वयन गरियो ।
यसबाट कर्मचारीलाई करेन्ट लाग्ने समस्या त समाधान भयो । तर, कम्पनीको सो कार्यक्षेत्र खुला स्थानमा रहेको हुनाले म्याट चोरी हुने समस्या बढ्यो । त्यसका लागि सुरक्षा गार्ड राख्नु थप खर्चिलो हुन्थ्यो । त्यसैले कम्पनीका अधिकारी पुनः चिन्तामा परे ।
म्याट चोरी हुने समस्याबाट कसरी छुटकारा पाउने भन्ने विषयमा लामो छलफल हुँदा पनि समाधान निस्किन सकिरहेको थिएन । अचानक एक सामान्य स्तरका कर्मचारीले भने– हाम्रो म्याट चोरी हुनबाट जोगाउन एउटा उपाय काम लाग्न सक्छ । हामी ती प्रत्येक म्याटलाई चार–पाँच टुक्रा पारेर काटौँ र एकै स्थानमा मिलाएर राखौँ । हामीले काटिएका टुक्रामाथि पनि टेकेर काम गर्न सकिहाल्छौँ । तर, त्यसरी काटिएका म्याट अरूका लागि कुनै कामका हुँदैनन् । यस्तोमा त्यसलाई कसले चोरी गर्ला र ? त्यसपछि तिनै कर्मचारीले भनेजसरी नै प्रत्येक म्याटलाई चार–पाँच टुक्रा पारेर काटियो । त्यस दिनदेखि म्याट चोरी साँच्चै रोकियो ।