१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गढीमाई मेला मंसिर १ देखि लाग्ने, यस्तो छ मन्दिरको इतिहास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:१८:oo

बारा जिल्लाको बरियारपुरमा लाग्ने गढीमाई मेला मंसिरदेखि लाग्ने भएको छ। मेलाका लागि शोभायात्रा निकालिसकिएको तथा थप तयारी भइरहेको मेला व्यवस्थापन समितिले जनाएको छ।

प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपालसहित छिमेकी भारतबाट पनि लाखौँ श्रद्धालु गढीमाई आउने गर्छन्। महागढीमाई नगरपालिका– १ बरियारपुरमा पर्ने यो तुलजा भवानीका रूपमा समेत पुजिने गढीमाई मन्दिर विशेष गरी बलिका कारण सधैँ चर्चामा रहने गरेको छ।

भाकल पूरा भएमा त्यसैअनुसार श्रद्धालुले बलि दिने गर्छन्। हजारौँको संख्यामा पशुबलि दिइने यस मन्दिरमा तान्त्रिकले रगत चढाएपछि बलि प्रदान सुरु हुन्छ। मन्दिरमा राँगा, बोकाजस्ता जनावरको बलि दिइने गरिन्छ।

मेला सुरु हुनुभन्दा केही दिनअघि निकालिने शोभायात्रामा हजारौँ श्रद्धालु सहभागी भएका थिए। मन्दिरपरिसरबाट हात्ती, घोडा, उँटलगायत झाँकी प्रदर्शन गर्दै यसै वर्षको दसैँको घटस्थापनाको दिन शोभायात्रा निकालिएको थियो। मंसिर शुक्ल पक्ष सप्तमी तिथिका दिन तान्त्रिक वा मूल धामीले विधिपूर्वक विशेष रूपमा पूजा गरी पञ्चबलि दिने परम्परा छ।

आगामी मंसिर १ गतेदेखि मेला लाग्दै छ। गढीमाईको विशेष पूजा मंसिर २३ देखि २५ गतेसम्म हुने र मंसिर ३० गते आइतबार विसर्जन हुने मेला व्यवस्थापन समितिले जनाएको छ। विशेष पूजाका लागि भने श्रद्धालुले पाँच सय रुपैयाँ मन्दिरमा दान गर्नुपर्ने व्यवस्था छ।

स्थानीयका अनुसार हजारौँ वर्ष पहिले हत्या कसुरमा जेल सजाय भोगिरहेका एक व्यक्तिको सपनामा देवीले दर्शन दिएकी थिइन्। मकवानपुरगढीकी तुलजा भवानी अर्थात् गढीमाईले सपनामा आफूलाई आफ्नो गाउँमा लैजान भनेकी थिइन्। यसो गरेमा जेलजीवनबाट मुक्त हुनेसमेत उनले बताएकी लोकोक्ति छ। 

जसपछि जेलमा रहेका भगवानदास चौधरी कैदमुक्त भएको र उनका दुःख तथा समस्या समाप्त भएको मान्यता स्थानीयको छ । गढीमाईले दिएको त्रिशूल चौधरीले बरियारपुरमा ल्याएर गाडेपछि पूजापाठ सुरु भएको र मन्दिर बनाइएको स्थानीय विश्वास गर्छन्।

चौधरीकै पुस्ता हाल उक्त मन्दिरमा नियमित पूजा गर्छन्। मन्दिरको रेखदेख र दैनिक पूजा गर्ने मूल पुजारी आफूलाई भगवानदास चौधरीको १०औँ पुस्ता मान्छन्।

गढीमाई नेपाल मात्रै नभई भारतसहित हिन्दुधर्म मान्नेहरूका लागि महत्त्वपूर्ण शक्तिपीठका रूपमा रहेको छ। यहाँ आएर गरिएको मनोकामना पूरा हुने जनविश्वास छ। गढीमाईमा विशेषगरी राँगाको बलि दिने गरिन्छ। साथै मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच पशु एवं पक्षीलाई पञ्चबलिका रूपमा देवीलाई अर्पित गर्ने परम्परा छ।

मेला भर्न पञ्चकोशी वर्गबाट करोडौँ दर्शनार्थी आउने गर्छन्। मेला व्यवस्थापन समितिका अनुसार यो वर्ष एक हजार बिघामा मेला लाग्नेछ। जसमा विभिन्न स्टलदेखि मनोरञ्जनका साधन, पार्किङ, सातै प्रदेशका कृषिजन्य वस्तु आदि राख्ने तयारी गरिएको छ। संसारमै सबैभन्दा बढी बलि चढ्ने मन्दिर भएकाले यहाँको मेलाले अन्तर्राष्ट्रिय चर्चा पाउने गरेको छ।