मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समयमै पुल नबनेपछि दसैँको मुखमा दुर्घटनाको जोखिम, यात्रुहरू कमजोर बेलिब्रिजबाट यात्रा गर्न बाध्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o२:oo

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको दुधौरा खोलामा निर्माण कम्पनीको लापरबाहीले समयमै पुल नबनेपछि पूर्व-पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू दसैँको मुखमा दुर्घटना जोखिम रहेको बेलिब्रिजबाट यात्रा गर्न बाध्य बनेका छन्।  

पुल निर्माणमा ढिलासुस्ती भएपछि सडकको डाइभर्सनमा जडान गरिएको बेलिब्रिजसमेत कमजोर भएकाले सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको हो। बेलिब्रिजमा जडान भएका कतिपय नटबोल्ट खुस्किएको र पुलमा राखिएको फलामे पाताहरूमा समेत प्वाल परेर भाँच्चिने अवस्थामा पुगेका छन्। 

असोज ११ र १२ गते आएको बाढीपहिरोले बिपी राजमार्ग ठप्प हुँदा अहिले यस लोकमार्गमा बिपी राजमार्ग भएर चल्ने सवारीसाधनको चापसमेत यस मार्गमा रहेको छ। यस क्षेत्रका सडक निकै व्यस्त छन्, तर जीर्ण भएको बेलिब्रिजमर्मत गर्न कुनै पहल गरिएको छैन।

३० टनको भार क्षमता रहेको बेलिब्रिजमा क्षमताभन्दा बढीका मालबाहक र सवारीसाधन प्रवेश गर्दा बेलिब्रिज हल्लने गरेको हुँदा दुर्घटना जोखिम रहेको चालकहरू बताउँछन्। 

ठेकेदार कम्पनी महादेव–खिम्ती–हिराचन जेभी काठमाडौंले तीन वर्षभित्र दुधौरा पुल निर्माणको काम सम्पन्न गर्ने गरी लिएको ठेक्का आठ वर्ष पूरा हुन लाग्दा पनि पूरा हुन नसकेको हो। 

सम्झौताअनुसार २३ असार २०७८ सालमा निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अहिलेसम्म पनि पूरा भएको छैन। तोकिएको समयभित्र काम सम्पन्न नहुने देखेपछि निर्माण कम्पनीलाई अन्तिमपटक ०८१ साउन मसान्तसम्मको लागि म्याद बढाएको थियो। तर, सो अवधिमा पनि कार्य सम्पन्न नभएपछि अवधि लम्ब्याएर आगामी मंसिर मसान्तसम्म पुर्‍याएको छ। 

चार लेन, दुई स्पान, ९० मिटर लम्बाइको उक्त पुल निर्माण गर्न निर्माण कम्पनी महादेव–खिम्ती–हिराचनले मूल्य अभिवृद्धि करबाहेक १५ करोड २२ लाखमा ठेक्का सम्झौता गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ।