१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १६ बुधबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १६ बुधबार १९:२८:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

वसन्त बस्नेतले ल्याए ‘सिमसारा’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १६ बुधबार १९:२८:oo

पत्रकार एवं लेखक वसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘सिमसारा’ लोकार्पण गरिएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, डबलीमा बुधबार आयोजित विशेष कार्यक्रममा लेखक बस्नेत, चलचित्र निर्देशक मीन भाम, कवि अस्मिता गौतम र संगीतकार एवं गायक उज्ज्वल सागरले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे। 

कार्यक्रममा गायक उज्ज्वल सागरको पियानोकाे सोलो प्रस्तुतिसमेत रह्यो। उनले विभिन्न गीतमार्फत आफ्नो प्रस्तुति दिए। साथै, कवि अस्मिता गौतमले लेखक बस्नेतसँग अन्तर्संवादसमेत गरिन्। 

कार्यक्रममा चलचित्र निर्देशक भामले आफू ‘सिमसारा’का पात्रहरूको प्रेममा परेको टिप्पणी गरे। ‘भेटघाटका क्रममा साथीहरू सोध्थे— वास्तवमा तपाईं कसको प्रेममा हुनुहुन्छ? म उत्तर दिन्नथेँ,’ निर्देशक भामले भने, ‘तर, वास्तवमा म पहिल्यैदेखि पारिजातको प्रेममा थिएँ। उनका उपन्यास एवं कथाहरूको पात्रको प्रेममा थिएँ। अहिले पनि उत्तिकै प्रेम गर्छु। अहिले वसन्तजीको सिमसाराका पात्रहरूको प्रेममा परेँ।’

वसन्त बस्नेतले नेपालको पूर्वी क्षेत्र इलामको सेरोफेरोमा रहेर उपन्यास लेखेको र आफू कर्णालीको एउटा जिल्ला मुगुमा जन्मे-हुर्केको भए पनि कथा आफ्नै भनिदिएको जस्तो लागेको चलचित्र निर्देशक भामले जनाए। 

‘वसन्तजीले इलामको सेरोफेरोलाई आधार बनाएर उपन्यास लेख्नुभयो, तर म कर्णालीको मुगुको एउटा गाउँमा हुर्के–बढे पनि उहाँको र मेरो कथा मिल्दो रहेछ। मेरा बा पनि सरकारी जागिरे हुनुहुन्थ्यो, त्यति वेला मैले मेरी आमाको पीडालाई नजिकबाट नियालेको छु। ‘सिमसारा’ पढ्दा आफूलाई बाल्यकालमा पाएको भामले बताए। 

कार्यक्रममा सांगीतिक प्रस्तुति दिने क्रममा गायक एवं संगीतकार उज्ज्वल सागरले यो पुस्तक आफूलाई असाध्यै मन परेको बताए। सरल भाषामा सुललित ढंगले लेखिएको उपन्यास ‘सिमसारा’ सबै पाठकलाई रुचिकर लाग्ने उनको भनाइ छ। 

लेखक बस्नेत अहिलेको समयको उपहारका रूपमा आफूहरूले पाएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए। भन्छन्, ‘वसन्त बस्नेत हाम्रा लागि अहिलेको समयको गिफ्ट हुनुहुन्छ। किनकि आख्यान र गैरआख्यान दुवै विधामा उहाँको कमल जबर्जस्त चल्छ।’ ‘सिमसारा’मा सरल एवं सहज रूपमा वसन्त बस्नेतले कथा बुनेको उनले बताए। ‘जुन मार्मिक छ, यथार्थपरक छ र हृदयस्पर्शी छ,’ उनले भने। 

कार्यक्रममा लेखक बस्नेतले आफूले हृदय निचोरेर उपन्यास ‘सिमसारा’ लेखेको बताए। यसमा आफूले बाल्यकालमा देखेको र केही भोगेको कथालाई प्रस्तुत गरेको उनको भनाइ छ। ‘परिवार भनेको युद्ध हो, शान्ति हो, माया हो र अलिअलि अप्रेम पनि हो,’ उनले भने, ‘मैले उपन्यासमा यसैको सेरोफेरोमा रहेर कथा बुनेको छु। मलाई लाग्छ, यसले तपाईंहरूको हृदय छुनेछ।’ 

‘इमोसन’ मायाभित्र खतरनाक अभ्यासका रूपमा आउने गरेको उनले जनाए। यसलाई पनि आफूले उपन्यासमा उतारेको बस्नेतको भनाइ छ। पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो।