मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्राहकलाई खान दिएको समोसामा किरा, २० हजार रुपैयाँ जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

सिराहाको लहान नगरपालिका– ८ को १ नं सडकस्थित होटेलमा ग्राहकलाई खान दिइएको समोसामा किरा भेटिएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको छ। स्थानीय माखनभोग स्विट्स एन्ड नमकिनमा गएका ग्राहकले समोसा खाने क्रममा किरा भेटिएपछि जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै आर्थिक जरिवाना गरिएको हो।

ग्राहकले गरेको गुनासोको आधारमा मंगलबार दिउँसो तत्काल लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो, घरेलु तथा साना उद्योग कार्यालय लहानका कार्यक्रम संयोजक वैद्यनाथ झा, खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराजका राजिन बुढाथोकी र राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो। ‘अनुगमन गर्दासमेत ग्राहकलाई दिएको समोसामा किरा भेटिएपछि खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपैयाँ जरिवाना गरेको हो,’ घरेलुका कार्यक्रम संयोजक झाले भने।

यसैगरी, अनुगमन टोलीले लहान– ३ अस्पताल चोक नजिक रहेको पेय पदार्थ बिक्रेता कृष्णा सप्लायर्समा म्याद गुज्रिएका पेय पदार्थ भेटिएपछि नष्ट गर्न निर्देशन दिएको लहानका उपप्रमुख महतोले बताए। उनका अनुसार सप्लायर्समा म्याद गुज्रिएका करिब सवा लाख रुपैयाँ मूल्यका कोकाकोला, स्प्राइट र बियरलगायतका पेय पदार्थ भेटिएपछि बिहीबारसम्म नष्ट गर्न समयसीमा तोकिएको छ।

टोलीले लहान– ३, हुलाक कार्यालय नजिक रहेको ऋषिजल पानी उत्पादक कम्पनीले पानीको बोतलमा टाँसेको स्टिकरमा बजार मूल्यभन्दा बढी मूल्य प्रिन्ट भएको पाइएपछि सच्याउन निर्देशन दिएको जनाएको छ। स्थानीय सरकारसहित सरोकारवाला निकायहरूले चाडपर्वका वेला बजार अनुगमन गरी म्याद गुज्रेका सामग्री नष्ट गराउँदै आएको भए पनि लहान क्षेत्रमा आर्थिक जरिवाना भने पहिलोपटक गरिएको हो।