१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 19 May, 2025
२o८१ असोज ७ सोमबार o७:४४:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्देशक समिति नबन्दा अन्योलमा  कांग्रेसका भ्रातृ संस्थाको अधिवेशन

महाधिवेशन हुन नसकेर नेतृत्व हस्तान्तरण हुन नपाएका र तदर्थ समिति बनाएर पटक–पटक म्याद थप मात्र भएका भ्रातृ संस्था प्रभावहीन बन्दै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o७:४४:oo

पार्टीका भ्रातृ संस्थाको महाधिवेशन सुनिश्चित गर्न कांग्रेसले निर्देशक समिति गठनको निर्णयमा ढिलाइ गर्दै आएको छ । महाधिवेशन हुन नसकेर लामो समयदेखि नेतृत्व हस्तान्तरण हुन नपाएका र तदर्थ समिति बनाएर पटक–पटक म्याद थप मात्र भएका भ्रातृ संस्थाको विषयमा नेतृत्व गम्भीर नहुँदा अलमलको स्थिति देखिएको हो । 

कांग्रेसले भ्रातृ संस्थालाई नेतृत्व उत्पादनको ‘नर्सरी’का रूपमा लिने गरेको छ । तर, माउ पार्टीले निर्णय गरेर पनि निर्देशक समिति नबनाउँदा अप्ठ्यारो स्थिति आएको नेताहरू बताउँछन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पार्टीलाई चाँडै निर्देशक समिति बनाइदिन अनुरोध गरेको बताए ।

समिति गठन भए चैत मसान्तभित्र नेविसंघ महाधिवेशन गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘निर्देशक समिति बनाउने भनेर पार्टीले नै निर्णय गरिसकेको छ । हामीले छिटो निर्देशक समिति बनाइदिन पार्टीलाई अनुरोध गरेका छौँ । भ्रातृ संस्था भएकाले नीति–नियमहरू अन्ततः पार्टीसँग नै गएर जोडिन्छन् । निर्देशक समिति बनेको अवस्थामा पार्टीसँगको समन्वय र महाधिवेशनको प्रक्रिया अगाडि बढाउन सहज हुन्छ,’ उनले भने, ‘समिति गठन भई चैत मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्न प्रतिबद्ध छौँ ।’

महिला संघकी अध्यक्ष उषा राउत मिश्र निर्देशक समिति नबन्दा पदाधिकारीसँगको छलफलका आधारमा महाधिवेशनको काम अगाडि बढाएको बताउँछिन् । विषयगत निर्देशक समिति बनेमा पार्टीसँगको समन्वयमा सहज हुने र महाधिवेशन सुनिश्चित हुने उनको भनाइ छ । ‘हामीले पार्टी पदाधिकारीसँग छलफल गरेर काम गरिरहेका छौँ । अग्रजहरूको निर्देशक समिति बन्दा पार्टीसँगको समन्वयमा सहज हुनेछ । महिला संघले फागुनमा महाधिवेशनको कार्यतालिका बनाएर तयारी गरिरहेको छ । मंसिरबाट जिल्ला अधिवेशन हुँदै छ । त्यसवेलासम्म निर्देशक समिति बन्ला,’ उनले भनिन्, ‘भ्रातृ संस्थामा आउने समस्या अन्ततः पार्टीमा गएर जोडिन्छन् । समिति बन्दा सहजीकरण हुन्छ ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत छिट्टै निर्देशक समिति बन्ने दाबी गर्छन् । उनले निर्देशक समितिसँगै तोकेको समयावधिभित्रै महाधिवेशन सुनिश्चित गर्ने जिकिर गरे । ‘पार्टीले आवश्यकता हेरेर नै निर्णय लिएको हो । एक–दुई दिनमै निर्देशक समिति बन्छ, यसले महाधिवेशनलाई सहजीकरण गर्नेछ । पार्टीको निर्णयअनुसार नै चैत मसान्तभित्र भ्रातृ संस्थाका महाधिवेशन हुनेछन्,’ उनले भने ।

गत १९ असारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर निर्देशक समिति बनाउने निर्णय गरेको थियो । ‘महाधिवेशन सम्पन्न नगरेका कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गर्ने,’ कांग्रेसको निर्णयमा भनिएको छ ।

निर्देशक समितिहरूलाई ०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश तोकिएको छ । यसका लागि ६ महिना मात्रको समयावधि छ । तर, महाधिवेशनको तयारी अगाडि बढेको भने छैन । भद्रगोल अवस्थामा रहेका कांग्रेसका १३ मध्ये दुईबाहेक अन्यको महाधिवेशन हुन सकेको छैन । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेविसंघ, तरुण दल, महिला संघ, किसान महासंघ, दलित संघ, लोकतान्त्रिक खेलकुद संघ, प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र थारू संघको महाधिवेशन हुन बाँकी छ ।

जनजाति महासंघ र मुस्लिम संघले भने महाधिवेशन सम्पन्न गरेका छन् । नेपाल ठाकुर समाजको विवादका कारण बनेको तदर्थ समितिसमेत खारेज गरिएको छ । हालसम्म नयाँ तदर्थ समिति बनेको छैन । पछिल्लोपटक पटक–पटक गरी १५ असारसम्म म्याद थप गरिएकोमा यस अवधिमा पनि अधिवेशन नहुने भएपछि अधिवेशन सुनिश्चित गर्न शीर्ष तहको छलफलले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न फरक–फरक निर्देशक समिति बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । यस आधारमा १९ असारमा केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय र केन्द्रीय कार्यसमिति बैठकले निर्णयले अनुमोदन गरिसकेको छ । 

 आठ वर्षदेखि हुन सकेका छैनन् अधिकांश भ्रातृ संस्थाको महाधिवेशन
नेविसंघको ०७३ पछि महाधिवेशन हुन सकेको छैन । ९ चैत ०७८ देखि दुजाङ शेर्पाको संयोजकत्वमा तदर्थ समिति बनेको छ । तरुण दलको पनि ०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन । ९ चैत ०७८ मा विद्वान गुरुङलाई तदर्थ समितिको अध्यक्ष बनेका थिए । महिला संघको पनि ०७३ पछि महाधिवेशन भएको छैन । २६ साउन ०७९ देखि उषा राउत मिश्रको संयोजकत्वमा तदर्थ समिति छ । ०६४ पछि नेपाल किसान महासंंघको महाधिवेशन हुन सकेको छैन । १० असार ०७९ मा गणेशचन्द्र तिमल्सिनाको संयोजकत्वमा तदर्थ समिति बनेको थियो ।

नेपाल भूतपूर्व सैनिक संघको महाधिवेशन २३ जेठ ०७३ पछि भएको छैन । १२ मंसिर ०८० मा मेघराज टण्डनलाई तदर्थ समिति संयोजक तोकिएको छ । प्रजातन्त्र सेनानी संघको ०६४ पछि महाधिवेशन हुन सकेको छैन । १२ मंसिर ०८० देखि बालकृष्ण दाहाल तदर्थ समिति संयोजक छन् । दलित संघको ०६९ पछि महाधिवेशन हुन सकेको छैन । १३ असोज ०८० मा लोकबहादुर विश्वकर्मा तदर्थ समिति संयोजक बनेका छन् । राष्ट्रिय लोकतान्त्रिक अपांग संघको महाअधिवेशन ०६६ पछि हुन सकेको छैन । १२ मंसिर ०८० मा प्रकाश पन्थको संयोजकत्वमा तदर्थ समिति बनेको छ । नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले २ साउन ०७९ मा केन्द्रीय समितिबाट नयाँ मान्यता पाएका थिए ।

 नेतृत्वअनुकूलको तदर्थ समिति, पटक–पटक म्याद थप 
कांग्रेसले १६ साउन ०७७ मा केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरी तरुण दल, नेपाल विद्यार्थी संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद ६ महिना थप गरेको थियो । तर, थप भएको समयभित्र कुनै पनि भ्रातृसंस्थाको अधिवेशन हुन सकेन ।

निर्धारित समयमा अधिवेशन हुन नसकेपछि १३ माघ ०७७ मा केन्द्रीय समिति बैठकमार्फत पुनः ६ महिना म्याद थप्ने निर्णय गरेको थियो । तर, दोस्रोपटक थपिएको अवधिमा पनि अधिवेशनको प्रक्रिया अगाडि बढ्न सकेन । त्यसपछि ३० साउन ०७८ मा केन्द्रीय समिति बैठकले विद्यार्थी संघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि फेरि ६ महिना थप गर्ने निर्णय भएको थियो ।

३ फागुन ०७८ मा कांग्रेस कार्यसमिति बैठकले महाधिवेशन हुन नसकेका १० भ्रातृ संस्थाको कार्यसमिति विघटन गर्दै फागुन मसान्तभित्र तदर्थ समिति बनाउने निर्णय गर्‍यो । यसको जिम्मा सभापति शेरबहादुर देउवालाई दिइयो । तर, देउवाले ९ चैतमा मात्रै तरुण दल र नेविसंघको संयोजक तोके । 

केन्द्रीय समितिको निर्णयमा तीनै तहको निर्वाचन परिणाम आएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने र समयमा सम्पन्न गर्न नसके कार्यसमिति स्वतः विघटन हुने निर्णय गरेको थियो । तर, यो अवधिमा कुनै पनि भ्रातृ संस्थाको अधिवेशन हुन सकेन । निर्वाचन सकिएको ६ महिनासम्म पनि कुनै संस्थाको महाधिवेशन हुन सकेन । यसबिचमा कांग्रेसले भ्रातृ संस्थाका विधानमा एकरूपता दिने र नयाँ विधानअनुसार महाधिवेशन गर्ने गृहकार्य थालेको थियो । 

दुजाङ शेर्पा, अध्यक्ष, नेविसंघ
निर्देशक समिति बनाउने भनेर पार्टीले नै निर्णय गरिसकेको छ । हामीले छिटो निर्देशक समिति बनाइदिन पार्टीलाई अनुरोध गरेका छौँ । भ्रातृ संस्था भएकाले नीति–नियमहरू अन्ततः पार्टीसँग नै गएर जोडिन्छन् । निर्देशक समिति बनेको अवस्थामा पार्टीसँगको समन्वय र महाधिवेशनको प्रक्रिया अगाडि बढाउन सहज हुन्छ ।

उषा राउत मिश्र, अध्यक्ष
नेपाल महिला संघ

हामीले पार्टी पदाधिकारीसँग छलफल गरेर काम गरिरहेका छौँ । अग्रजहरूको निर्देशक समिति बन्दा पार्टीसँगको समन्वयमा सहज हुनेछ । महिला संघले फागुनमा महाधिवेशनको कार्यतालिका बनाएर तयारी गरिरहेको छ । मंसिरबाट जिल्ला अधिवेशन हुँदै छ । त्यसवेलासम्म निर्देशक समिति बन्ला ।