भारतीय कम्युनिस्ट पार्टी(मार्क्सवादी)का महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि श्वासप्रश्वास प्रणालीको संक्रमणसँग जुधिरहेका थिए । ‘हाम्रा प्यारा कमरेड सीताराम यचुरीको आज नयाँदिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । उहाँलाई लाल सलाम,’ पार्टीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा भनिएको छ । यचुरीलाई देखिएको रोग ‘श्वासप्रश्वास प्रणालीको विषम संक्रमण’ चर्किएपछि उनलाई केही समयदेखि ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)’को आइसियूमा राखेर उपचार गरिँदै थियो ।
सन् १९५२ अगस्ट १२ मा चेन्नईमा जन्मिएका यचुरी सन् २०१५ देखि मृत्युपर्यन्त भाकपा (मार्क्सवादी)का महासचिव थिए । यचुरीको राजनीतिक उदय विद्यार्थीकालमा दिल्लीबाट भएको थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको आपत्काल(सन् १९७५–७७) को समय यचुरी नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा अर्थशास्त्रमा स्नातकोत्तर पढिरहेका थिए ।
सन् १९७५ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका यचुरी जेएनयुको वामपन्थी विद्यार्थी संगठनमार्फत आपत्कालको विरोधमा सक्रिय भए । अन्य धेरै नेतासँगै यचुरी पक्राउ पनि परे । आपत्कालको विरोध गर्दै राजनीति सुरु गरेका कैयौँ नेता पछि गएर राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका थिए, जसमध्ये यचुरी पनि एक हुन् । गिरफ्तारीका कारण यचुरीको विद्यावारिधि अध्ययनसमेत सधैँका लागि रोकिन पुग्यो ।
सन् २०१५ अप्रिल १९ मा विशाखापटनममा भएको भाकपा(मार्क्सवादी)को २१औँ सम्मेलनबाट उनी प्रकाश कारातका उत्तराधिकारीका रूपमा पार्टीको पाँचौँ महासचिव भए । पछिल्लो समय यचुरी विपक्षी ‘इन्डिया’ गुटका नेता राहुल गान्धीका राजनीतिक सल्लाहकारमध्ये एक मानिन्थे । यचुरी सन् २००५ देखि ०१७ बिच १२ वर्ष राज्य सभा सदस्य रहे । यचुरीको निधनमा धेरै भारतीय नेतासहित प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा समवेदना व्यक्त गर्दै मोदीले लेखेका छन्, ‘श्री सीताराम यचुरीजीको निधनले दुःखी बनाएको छ । वामपन्थको बलियो ज्योति यचुरी सबै तप्काका राजनीतिज्ञसँग जोडिन सक्ने क्षमताका लागि परिचित थिए । उनले प्रभावकारी सांसदको छापसमेत छोडे । यस दुःखद घडीमा उनको परिवार तथा समर्थकप्रति मेरो समवेदना छ । ओम शान्ति ।’ यचुरीका श्रीमती सीमा चिस्टी यचुरी र दुई सन्तान छन् ।