१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Sunday, 13 October, 2024
कास मुडे/ग्याब्रियेला ग्रिलिंगर
२o८१ भदौ २८ शुक्रबार १o:२५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के युरोपका उग्र–दक्षिणपन्थी पार्टी मजदुरमैत्री छन् ?

Read Time : > 2 मिनेट
कास मुडे/ग्याब्रियेला ग्रिलिंगर
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १o:२५:oo

उग्र–दक्षिणपन्थीको मतदान व्यवहारले एक मनोवृत्ति प्रकट गर्छ, जुन कामदारको अधिकारप्रति शत्रुतापूर्ण वा उदासीन छ 

अमेरिका र युरोपमा उग्र–दक्षिणपन्थी राजनीतिक दललाई प्रायः मजदुरको रक्षक, ‘भुलाइएका’ वा उत्तर–औद्योगिक कालका ‘छुटेका’ जनताका प्रतिनिधिका रूपमा चित्रण गरिन्छ । मजदुरलाई ‘वामपन्थी’ले धोका दिएका कारण अधिकांश मजदुर दक्षिणपन्थतर्फ झुकाव राख्छन् भन्ने गरिन्छ । यसबाहेक उग्र–दक्षिणपन्थी पार्टी रोजगारीका अधिकारजस्ता सामाजिक आर्थिक मुद्दामा वामपन्थतर्फ सरेका दाबी पनि गरिन्छन् । र, यी उग्र–दक्षिणपन्थी पार्टी सामाजिक लोकतान्त्रिक पार्टीलाई प्रतिस्थापित गर्दै ‘नयाँ श्रमिक वर्गीय पार्टी’ बनेका दाबी पनि सुनिन्छन् ।

हामीले विभिन्न सामाजिक आर्थिक मुद्दामा उग्र–दक्षिणपन्थी समूहको मतदान व्यवहारको अध्ययन गरेका थियौँ । हाम्रो अध्ययनको दायरा बहिर्गमन हुन लागेको युरोपेली संसद् (सन् २०१९ देखि २०२४) मा रहेका दुई उग्र–दक्षिणपन्थी समूहमा थियो । पहिलो, हालै विभाजित आइडेन्टिटी एन्ड डेमोक्रेसी (आइडी) समूह, जसको मरिन ले पेनको नेसनल र्‍यालीले नेतृत्व गरेको थियो । दोस्रो, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीको ब्रदर्स अफ इटलीको नेतृत्वमा रहेको युरोपियन कन्जर्भेटिभ्स एन्ड रिफर्मिस्ट्स (इसिआर) थियो । हामीले हंगेरीमा विक्टर ओर्बानको फिडेज पार्टीलाई पनि हेर्‍यौँ । फिडेजले हालैको युरोपेली चुनावपछि आइडीको अनौपचारिक उत्तराधिकारीका रूपमा हेरिने पेट्रियट्स फर युरोप (पिएफई) समूहको नेतृत्व गर्छ । हामीले मजदुरलाई पर्याप्त न्यूनतम पारिश्रमिक दिने, तलबमा पारदर्शिता सुनिश्चित गर्ने, गुणस्तरीय तालिम प्रदान गर्ने र बहुराष्ट्रिय कम्पनीका लागि विश्वव्यापी न्यूनतम कर निर्धारण गर्नेलगायत आठ मुद्दामा सबै उग्र–दक्षिणपन्थी पार्टीका मतलाई हेरेका छौँ ।

युरोपियन ट्रेड युनियन इन्स्टिट्युटका लागि हामीले गरेको अनुसन्धानले उग्र–दक्षिणपन्थीले गर्ने मजदुर निकटताको दाबीका बाबजुद यिनका प्रस्तावित युरोपियन युनियन निर्देशनमा देखिएको मतदान ढाँचाले सामाजिक आर्थिक मुद्दामा मजदुर पक्षधरता देखिँदैन, अर्थात् वाम झुकावको भाष्यलाई प्रतिबिम्बित गर्दैन । वास्तवमा हामीले अध्ययन गरेका मुद्दामा उग्र–दक्षिणपन्थीको मतदान व्यवहारले एक मनोवृत्ति प्रकट गर्छ, जुन कामदारको अधिकारप्रति शत्रुतापूर्ण वा उदासीन छ । एक स्पष्ट उदाहरणका रूपमा विशेषतः पूर्व–आइडी समूहका उग्र–दक्षिणपन्थी पार्टीले पारदर्शिता भुक्तानीको कडा विरोध गरेका थिए र पर्याप्त न्यूनतम पारिश्रमिकका सन्दर्भमा युरोपियन युनियनको निर्देशन अस्वीकार गरेका थिए । 

थप महत्वपूर्ण के छ भने हामीले उग्र–दक्षिणपन्थी पार्टीबिचको मतदान ढाँचामा पनि महत्वपूर्ण भिन्नता भेट्टायौँ, जुन युरोपेली संसद्मा अन्य राजनीतिक समूहका मतदान व्यवहारसँग तीव्र रूपमा भिन्न छन् । धेरैजसो राजनीतिक समूहले सामाजिक आर्थिक मुद्दामा लगभग सर्वसम्मतिले मतदान गर्ने झुकाव राख्दा दुई उग्र–दक्षिणपन्थी समूह विशेषतः इसिआरको मतदान व्यवहार विभाजित देखिएको छ । उदाहरणका लागि कर्पोरेट करको युरोपियन युनियनव्यापी न्यूनतम दरको प्रस्ताव, जसलाई ९२ प्रतिशत युरोपेली सांसदले समर्थन गरेका थिए, त्यस मुद्दामा आइडी र इसिआरमा भएका सांसद विभाजित थिए । अल्टरनेटिभ फर ड्युसल्यान्ड (एएफडी) सहित तीन आइडी पार्टीले निर्देशनको विपक्षमा मतदान गरेका थिए भने तीनवटा पार्टीले पक्षमा मतदान गरे र दुई पार्टीले मतदान गरेनन् । इसिआरका सन्दर्भमा यसका १० उग्र–दक्षिणपन्थी पार्टीमध्ये आधाले विपक्षमा मतदान गरे, चारले मतदान गरेनन् र केवल एकले पक्षमा मतदान गरे । समूहभित्रको कमजोर मतदान अनुशासनले सामाजिक आर्थिक मामिला उग्र–दक्षिणपन्थीका लागि मुख्य मुद्दा होइनन् भन्ने संकेत गर्छ । चाखलाग्दो के छ भने हंगेरीको फिडेजको मतदान व्यवहार कुनै पनि उग्र–दक्षिणपन्थी समूहसँग मेल खाएन र अन्य उग्र–दक्षिणपन्थी पार्टीका तुलनामा युरोपियन युनियनभरि वैश्विक कम्पनीका लागि न्यूनतम कर तय गर्ने धारणामा बढी सहयोगी देखिएको थियो ।

अर्को रोचक कुरा के छ भने इटलीको लेगा (आइडी), मेलोनीको ब्रदर्स अफ इटली र ग्रिसको ग्रिक सोलुसन (इसिआर) जस्ता दक्षिणी युरोपका उग्र–दक्षिणपन्थी पार्टीले मजदुरका अधिकारको सबैभन्दा बढी समर्थन गरेका थिए । अर्कातर्फ स्विडेन डेमोक्य्राट, एस्टोनियाली कन्जर्भेटिभ पिपुल्स पार्टी र डेनिस पिपुल्स पार्टीले सबैभन्दा बढी विरोध गरेका थिए । यो विरोध सम्भवतः यी पार्टीका मुलुकमा पहिल्यै स्थापित मजदुर अधिकारविरुद्ध प्रतिक्रिया हुन सक्छ ।

हाम्रो अनुसन्धानले इसिआरले आइडी सदस्यभन्दा सामाजिक आर्थिक मुद्दामा बढी ध्यान केन्द्रित गर्छ, तर उग्र–दक्षिणपन्थी दलबिचको मतदान ढाँचामा महत्वपूर्ण भिन्नता र उनीहरूको मतदान स्थिरताको कमीले मजदुरको अधिकार अझै पनि न्यून प्राथमिकतामा रहेको तथ्यलाई झल्काउँछ । यो मुद्दा शरणार्थी र आप्रवासनभन्दा फरक हो । यो मुद्दामा उग्र–दक्षिणपन्थी एक ठाउँमा आउँछन्, जहाँ हामीले दुवै समूहमा ‘किल्लायुक्त युरोप’ (बाहिरियालाई निषेधित युरोप) अडानका लागि बलियो एवं संयुक्त समर्थन पायौँ । 

उसो त उग्र–दक्षिणपन्थीले बढ्दो वाम झुकावयुक्त बयानबाजी गरेर मजदुर अधिकारलाई समर्थन गर्ने दाबी गरे पनि यिनको मतदान ढाँचाले यिनले प्रायः मजदुर अधिकारविरुद्ध काम गरेको देखिन्छ । हाम्रो अनुसन्धानले मजदुरलाई उग्र–दक्षिणपन्थी झुकाव राख्ने समूहका रूपमा हेर्नु सरलीकरण वा तथ्यात्मक रूपमा गलत हो भन्ने देखाउँछ । यो एउटा पाठ पनि हो, अर्थात् हामीले उग्र–दक्षिणपन्थीले के भन्छ भन्नेमा मात्र नभई तिनले वास्तवमा के गर्छन् भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्छ । नजिकबाट हेर्दा सन्देह घट्दै जान्छ, अर्थात् उग्र–दक्षिणपन्थी मजदुरविरोधी छन् । 

(मुडे जर्जिया विश्वविद्यालयको सार्वजनिक एवं अन्तर्राष्ट्रिय मामिला अध्ययनका प्राध्यापक हुन्, ग्रिलिंगर जर्जिया विश्वविद्यालयका विद्यावारिधिका विद्यार्थी हुन्) 
द गार्डियनबाट