मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिएपछि सर्वत्र विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४१:oo

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेको घटनाप्रति नेपाल पत्रकार महासंघसहित पत्रकारसम्बद्ध विभिन्न संघ–संगठनले विरोध जनाउँदै भर्त्सना गरेका छन्।

बिहीबार बागबजारस्थित हार्दिक होटेलमा कार्यक्रमस्थल पुगेर ब्युरोको सादा पोसाकको टोलीले विनाकारण अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको, तर पत्रकारहरूको सामूहिक प्रतिवादपछि पछि हटेको चौतारीका महासचिव हिरामान लामाले बताए। बस्नेत जनता टाइम्स अनलाइनका सञ्चालक पनि हुन्।

अनलाइनमा प्रकाशित समाचारको विषयमा उजुरी परेपछि प्रहरीले सोधपुछ गर्न खोजेको बताइए पनि उसले आधिकारिक धारणा भने अझै बाहिर ल्याएको छैन। 

यसैबिच, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले बस्नेतलाई पक्राउ गर्न खोजेको घटनाले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। 

महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति निकालेर संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको उल्लेख गरेका छन्। काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरेको भन्दै उनले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको बताएका छन्।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, चौतारीका महासचिव हिरामान लामाले समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुँदाहुँदै समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रूपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनकोसमेत ठाडो उल्लंघन भएको जनाएका छन्।

घटनाको निन्दा र भर्त्सना गर्दै उनले छानबिनको मागसहित आगामी दिनमा त्यस्ता घटना दोहोर्‍याइए उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी पनि दिएका छन्। 

प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, नेपाल प्रेस युनियन, अकोराबलगायत पत्रकारसम्बद्ध विभिन्न संगठनहरूले घटनाको भर्त्सना गरेका छन्।