१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:२६:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश खेलकुद विकास परिषदमा लामा र नीति तथा योजना आयोगमा नेपाल नियुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२६:oo

बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा दीपक लामा र नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुई महत्त्वपूर्ण पदमा लामा र नेपाललाई नियुक्ति गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए।

परिषद्को सदस्यसचिवमा लामालाई सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो। सदस्यसचिवमा नियुक्त लामा नुवाकोटका स्थानीय हुन्। उनी उसुका राष्ट्रिय खेलाडी हुन्।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास परिषद्को संशोधन प्रस्ताव पनि स्वीकृत गरेको छ। प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रहे पनि कानुनी रूपमा सामाजिक विकास मन्त्रालय लेखिएको र केही प्रावधानहरू संशोधन गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृति प्रदान गरेको प्रवक्ता लामिछानेले बताए।

युवा तथा खेलकुदमन्त्री महर्जनको पहलमा उक्त संशोधन प्रस्ताव संसदमा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो। मन्त्री महर्जनका अनुसार विभागीय जिम्मेवारी लिएदेखि नै ऐन संशोधन गरेर अधिकार मन्त्रालयअन्तर्गत ल्याउन भूमिका खेलेका थिए। लामो समय आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रोकिएको उक्त प्रस्ताव अघि बढ्न सकेको थिएन। 

मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै सो प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ताका लागि पठाइने मन्त्री महर्जनले जानकारी दिए। आगामी प्रदेश सभा बैठकमा सो प्रस्ताव संसदमा पेस गरी छलफलसहित पारित गरिने मन्त्री महर्जनको भनाइ छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुपाल्चोक हेलम्बुका गंगादत्त नेपाललाई नियुक्त गरेको छ। नेपाल खानेपानी सरसफाइ तथा जलवायु परिवर्तनका विज्ञ मानिन्छन्। 

जर्मन र नेपालबाट मास्टर्स गरेका तथा खानेपानी तथा जलवायु सम्बन्धमा पिएचडी गरेका नेपालसँग २१ वर्ष नेपाल सरकारको कर्मचारीको रूपमा काम गरेकाे अनुभव छ।

मन्त्रिपरिषद् बैठकले आयोगमा दुई सदस्यसमेत नियुक्त गरेको छ। आयोगको सदस्यमा काठमाडौंका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तानलाई नियुक्त गरेको हो। 

आयोगमा अझै एक महिलासहित दुई सदस्य नियुक्त हुन बाँकी रहेको र केही समयमै नियुक्ति प्रक्रिया टुंग्याउने मन्त्री एवं सरकारका प्रवक्ता लामिछानेले बताए।