
त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको विभागीय प्रमुखमा डा. पासाङ शेर्पा नियुक्त भएका छन् । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सहप्राध्यापकसमेत रहेका शेर्पालाई समाजशास्त्र विभाग प्रमुख र भाषा विज्ञान केन्द्रीय विभाग प्रमुखमा डा. करुणाखर खतिवडा नियुक्त गरेको छ ।
विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर एमाले र कांग्रेसनिकट विद्यार्थी संगठनबिच विवाद चर्किएको थियो । दुई दलका विद्यार्थी नेताहरूले आ–आफ्नो पार्टीनिकट व्यक्तिलाई नियुक्ति गर्नुपर्ने भन्दै उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई दबाब दिएका थिए । विद्यार्थी नेताहरूबाट सोही विषयलाई लिएर धम्कीसमेत आउन थालेपछि पदाधिकारीहरू प्रमुखहरू बिदामा समेत बसेका थिए ।
सामान्य विषयमा विवाद चर्किएपछि त्रिवि कार्यकारी परिषद्ले पहिलो वरीयताको हिसाबमा पहिलो नम्बरमै रहेका व्यक्तिलाई नियुक्ति गरेको हो । त्रिविका रेक्टर प्रा.डा खड्ग केसीका अनुसार वरीयताका आधारमा शेर्पालाई चार वर्षका लागि नियुक्ति गरिएको हो । एमालेनिकट विद्यार्थी संगठनले शेर्पा र कांग्रेसनिकट विद्यार्थी संगठनले टीकाराम गौतमलाई विभागीय प्रमुख बनाउनुपर्ने दबाब दिएका थिए ।
मानविकी तथा सामाजिकशास्त्र संकायका डिन कुसुम शाक्यले पहिलो नम्बरमा गौतमको नाम राखेर सिफारिस गरेकी थिइन् । तर, वरीयताको हिसाबमा शेर्पा पहिलो नम्बर पर्छन् । डिन कार्यालयले पहिलोलाई छाडेर दोस्रो नम्बरको व्यक्तिलाई सिफारिस गरेपछि विवाद चुलिएको थियो । विद्यार्थी संगठनहरूले आपत्ति जनाएपछि त्रिवि कार्यकारी परिषद्को बैठकले शेर्पालाई नै नियुक्त गरेको हो ।
गत ३२ साउनदेखि विभागीय प्रमुख डा. युवराज लुइँटेलको चारवर्षे कार्यकाल सकिएपछि सो पद रिक्त थियो । आफ्नो कार्यकाल सकिएपछि नयाँ व्यक्तिलाई जिम्मेवारी प्रदान गर्न लुइँटेलले क्रमशः पहिलो नम्बरमा पासाङ शेर्पा, दोस्रोमा टीकाराम गौतम र तेस्रोमा मनहरि ढकालको नाम मानविकी तथा समाजशास्त्र संकाय डिन कार्यालयलाई दिएका थिए ।