
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक १५ मंसिरदेखि नेपाल प्रिमियर लिग आयोजना गर्दै छ । क्यानले सोमबार एक कार्यक्रमबीच लोगो र मिति सार्वजनिक गरेको हो । खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् । यसअघि क्यानले प्रधानमन्त्री केपी ओलीबाट लोगो अनावरण गर्ने भनिएको थियो । तर, प्रधानमन्त्री ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि खेलकुदमन्त्री चौधरीले लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा बल र ब्याटको मिश्रण देखिन्छ । बलमा नेपालको चन्द्र सूर्य राखिएको छ । प्रतियोगिता ६ पुससम्म हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । चन्दका अनुसार फ्रेन्चाइज टोली किन्न क्यानले टेन्डर आह्वान गरेको छ । क्यानले ६ सहरलाई फ्रेन्चाइज नाम दिएर लिग गर्ने छ । नेपालका उच्च कर्पोरेट घरानाले फ्रेन्चाइज टोली लिनका लागि क्यानमा आवेदन दिएको उनले बताए ।
यसअघि क्यानले २०७९ पुष ९ देखि २७ सम्म नेपाल टी–२० लिग आयोजना गरेको थियो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग मिलेर क्यानले गरेको नेपाल टी–२० लिग निकै विवादास्पद बन्यो । दुई वर्षअघि गरेको नेपाल टी–२० लिगमा म्याच फिक्सिङदेखि खेलाडीले पारिश्रमिक नपाएको विवाद बाहिर आएको थियो । अहिलेसम्म लिगका विजेता लुम्बिनीले पुरस्कार रकम पाएको छैन । यसैगरी, प्रतियोगितामा सहभागी फारवेस्ट युनाइटेड र काठमाडौँले पनि पुरा रकम पाएका छैनन् ।
नेपाल टी–२० लिग निरन्तरता नहुने भएपछि क्यानको नेतृत्वले नयाँ प्रतियोगिताका रूपमा नेपाल प्रिमियर लिग घोषणा गरेको हो । अघिल्लो पटक यो प्रतियोगिता आमिर अख्तरले सञ्चालन गरेका थिए । क्यानले सो प्रतियोतिगाको स्वामित्व आफूहरूसँग मात्र हुने र निजी कम्पनीसँग नहुने स्पष्ट पारेपछि अख्तर प्रतियोगिता आयोजना गर्नबाट पछि हटेका थिए । क्यानका अध्यक्ष चन्दले सबैको साथ र सहयोगमा लिगलाई सफल बनाउने बताएका छन् ।
क्यानका सचिव पारस खड्काले प्रतियोगितासँगै घरेलु क्रिकेटमा नयाँ युगको सुरु भएको बताए । ‘यसले घरेलु क्रिकेटमा नयाँ युगको सुरुवात भएको छ । साथै क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्नेछ,’ खड्काले भने । यसपटक आफैँ आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगमा आबद्ध हुने फ्रेन्चाइज टोली घोषणापछि खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउने सचिव खड्काले जानकारी दिए ।
सन्दीप बने ब्रान्ड एम्बासडर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीका ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । बृज इन्टरनेसनल र सन्दीपबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको छ । कन्सल्टेन्सीले दुई वर्षका लागि सन्दीपलाई एम्बासडर सम्झौता गरेको जनाएको छ ।
कन्सल्टेन्सीले सम्झौता रकम भने खुलाएको छैन । ‘हामीले विश्व क्रिकेटकै चर्चित खेलाडी सन्दीपलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका छौँ । दुई पक्षबीचको सहमतिअनुसार अनुबन्ध रकम अहिले हामीले खुलाउन चाहेनौँ,’ कन्सल्टेन्सीका निर्देशक भुवन गिरीले बताए । सन्दीपले चर्चित कन्सलटेन्सीसँगको सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् ।