
लाइडर (लाइट डिटेक्सन एन्ड रेन्जिङ) विधिमार्फत गण्डकी प्रदेशको भूगोलको विस्तृत सर्वेक्षण, प्रणाली तयार हुन अझै दुई वर्ष लाग्ने, विस्तृत अध्ययन र विश्लेषण हुन सके पहिरोको पूर्वसूचना प्रणाली क्षति न्यूनीकरणका लागि सहयोगी हुने भूगर्भविद्को भनाइ
आर्टिफिसियल इन्टेलिजेन्स(एआई)मा आधारित भएर सरकारले पहिरोको पूर्वसूचना प्रणाली बनाउने काम सुरु गरेको छ । खानी तथा भूगर्भ विभागमार्फत पहिरोको जोखिमबारे एक वर्षदेखि अध्ययन भइरहेको छ । पहिरोको पूर्वसूचना प्रणाली नेपालमा पहिलोपटक बन्न लागेको हो ।
देशको सबै क्षेत्रको भूगोलको परीक्षण गरी कुन ठाउँमा कति पानी पर्दा पहिरो आउन सक्छ भनेर विश्लेषण गरी मोबाइल एपमार्फत पूर्वसूचना दिने प्रणाली बनाउन लागिएको हो । यो प्रणाली तयार हुन अझै दुई वर्ष लाग्ने खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाले बताइन् ।
उनका अनुसार जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यस्तो प्रणाली बन्न लागेको हो । यस कामका लागि विभागले परियोजना नै बनाएर विभागमा भूगर्भविद्हरूको टोली खटाएको छ । ‘हामीले गण्डकी प्रदेशको भूगोलको विस्तृत अध्ययन गरेर अहिले डाटा प्रशोधन गरिरहेका छौँ,’ उपमहानिर्देशक झा भन्छिन्, ‘त्यहाँकै भूगोलसँग मिल्ने देशका अन्य क्षेत्रको पनि त्यसैलाई आधार बनाएर एआईको सहयोगमा पहिरोको जोखिम विश्लेषण गर्दछौँ ।’
लाइडर (लाइट डिटेक्सन एन्ड रेन्जिङ) विधिमार्फत विभागले गण्डकी प्रदेशको भूगोलको विस्तृत सर्वेक्षण गरेको हो । विभागले गण्डकी प्रदेशलाई एक सय १७ वटा रेखामा विभाजन गरी त्यहाँको भूबनोटको विश्लेषण हो । त्यसरी विभाजन गरिएका हरेक रेखामा पर्ने भूगोलको हेलिकोप्टरमार्फत भूसतहको तस्बिर खिचिएको थियो ।
१० दिन लगाएर यसरी अध्ययन टोलीले हेलिकोप्टरमार्फत भूगोलको अध्ययन गरी तस्बिर लिएको छ । तीनै उच्च गुणस्तरयुक्त तस्बिरको आधारमा त्यहाँको भूबनोटको विश्लेषण भइरहेको झा बताउँछिन् ।
परियोजनाको नाम ‘इप्लिमेन्टेसन अफ कन्ट्रिवाइज अर्ली वार्निङ सिस्टम फर जिओटेक्निकल इमरजेन्सी एन्ड रिस्क रिडक्सन इन नेपाल’ राखिएको छ । यसका लागि ‘गुगल अर्थ’को समेत सहयोग लिइएको छ । पहिरो आउन सक्छ भनेर अनुमानका आधारमा चेतावनी दिनेबाहेक नेपालमा हालसम्म पहिराको पूर्वसूचना प्रणाली छैन ।
तथ्यांक विश्लेषणको काम सकिएपछि पहिरोको जोखिमयुक्त ठाउँहरू राखेर विभागले नक्सा बनाउनेछ । साथै, मोबाइल एपमार्फत ठूलो पानी पर्ने वेलामा सचेतना सन्देश पठाउने उद्देश्य छ । यो एआईमा आधारित एप हुने उपमहानिर्देशक झा बताउँछिन् । ‘हामीले राखेका तथ्यांक र जल तथा मौसम विज्ञान विभागको वर्षासम्बन्धी पूर्वानुमान तथ्यांक विश्लेषण गरी कुन ठाउँमा पहिरो जाने जोखिम छ भन्ने एपले अलर्ट दिन्छ,’ उनी भन्छिन्, ‘सम्भवतः नेपालमा सरकारी निकायले औपचारिक रूपमा एआईको प्रयोग गरेको यो पहिलोपटक हुन सक्छ । स्विट्जरल्यान्डमा यो प्रविधि सफल देखिएको छ ।’
पहिरोको जोखिम विश्लेषणका लागि विभिन्न मानकहरू बनाइएको छ । भूबनोट, चट्टानको अवस्था, जमिनमुनिको पानीको अवस्था, नदी कटानको अवस्थालगायतको विश्लेषण गरी जोखिमको मूल्यांकन गर्ने योजना छ । यी तथ्यहरू राखेर निश्चित सूत्र बनाउने र त्यसैका आधारमा एआईले विश्लेषण गरी चेतावनी सन्देश जारी गर्नेछ ।
एआईले सही विश्लेषण गरे–नगरेको विषयमा दोहोरो जाँचको काम पनि हुने विभागका अधिकारी बताउँछन् । पहाडी भूबनोटका आधारमा नेपाल अत्यधिक पहिरोको जोखिममा रहेकाले यो प्रणाली प्रभावकारी हुने अध्ययनमा संलग्न भूगर्भविद्हरू बताउँछन् । तर, उद्देश्यअनुसार कति सफल होइन्छ भन्नेमा भने कार्यान्वयनपछि नै थाहा हुने उपमहानिर्देशक झा बताउँछिन् । ठूलो पानी परेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई जल तथा मौसम विभागसँग मिलेर हाल सामान्य पूर्वजानकारीसम्म दिने गरिएको बताउँछन् । ‘हरेक पहाडको अध्ययन गर्नुपर्ने भएकाले पहिरोको पूर्वसूचना प्रणाली नै बनाउन कठिन छ,’ उनी भन्छन्, ‘धेरै पानी पर्ने भएपछि पहिरो जान सक्छ भनेर हामीले त्यो क्षेत्रमा सतर्कता अपनाउन भन्ने गरेका छौँ ।’
प्राधिकरणले हाल केही स्थानीय तह र मौसम विभागसँग मिलेर पहिरोको पूर्वजानकारी दिने प्रयास गरिरहेको छ । तर, यसमा सम्बन्धित भूगोलको अध्ययन र विश्लेषण भने भएको छैन । पहाडको चट्टानको बसाइसमेत अध्ययन गर्नुपर्ने भएकाले पहिरो पूर्वसूचना प्रणाली बनाउन चुनौतीपूर्ण हुने प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा बताउँछन् । तर, विस्तृत अध्ययन र विश्लेषण हुन सकेमा भने यो प्रणाली क्षति न्यूनीकरणका लागि सहयोगी हुने उनको भनाइ छ ।
कुन ठाउँमा पहिरो जाने जोखिम छ भन्ने एपले अलर्ट दिन्छ : मोनिका झा, उपमहानिर्देशक, खानी तथा भूगर्भ विभाग
हामीले गण्डकी प्रदेशको भूगोलको विस्तृत अध्ययन गरेर अहिले डाटा प्रशोधन गरिरहेका छौँ । त्यहाँकै भूगोलसँग मिल्ने देशका अन्य क्षेत्रको पनि त्यसैलाई आधार बनाएर एआईको सहयोगमा पहिरोको जोखिम विश्लेषण गर्दछौँ ।हामीले राखेका तथ्यांक र जल तथा मौसम विज्ञान विभागको वर्षासम्बन्धी पूर्वानुमान तथ्यांक विश्लेषण गरी कुन ठाउँमा पहिरो जाने जोखिम छ भन्ने एपले अलर्ट दिन्छ । सम्भवतः नेपालमा सरकारी निकायले औपचारिक रूपमा एआईको प्रयोग गरेको यो पहिलोपटक हुन सक्छ । स्विट्जरल्यान्डमा यो प्रविधि सफल देखिएको छ ।
मनसुनका ६५ दिन : विपतकाे क्षति दोब्बर, बाढीपहिरो र चट्याङमा परी १७३ को मृत्यु, ४२ बेपत्ता
यस वर्ष मनसुनको पहिलो ६५ दिनमा बाढीपहिरोको घटनामा उल्लेख्य वृद्धि भई धेरै मानवीय क्षति भएको छ । यस अवधिमा बाढीपहिरो र चट्याङमा परी १७३ जनाको मृत्यु भएको छ । ४२ बेपत्ता र २१४ जना घाइते भएका छन् । यो क्षति गत वर्षको दुई महिनाको तुलनामा दोब्बर हो । गत वर्ष २९ साउनसम्म मनसुनजन्य विपत्का ७२१ घटनामा परी ७४ जनाको मृत्यु भएको थियो भने २८ बेपत्ता भएका थिए ।
गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार २८ जेठदेखि २९ साउन (दिउँसोसम्म) बाढीपहिरो र चट्याङका १२५५ घटना भएका छन् । जसमा पहिरोमा १११, बाढीमा ३७ र चट्याङबाट २५ को मृत्यु भएको हो । जसमध्ये सबैभन्दा बढी मानवीय क्षति भएको गण्डकीमा ५४ जनाको ज्यान गएको छ । बागमतीमा ३९, लुम्बिनीमा ३३, कोशीमा २४, सुदूरपश्चिममा ११, कर्णालीमा आठ र मधेशमा चारजनाको मृत्यु भएको छ ।
विपत्मा परी २०५ घर पूर्ण क्षतिग्रस्त बनेका छन् भने १८० घरमा आंशिक क्षति भएको छ । तीन हजार ११५ परिवार प्रभावित भएका छन् । ११९ गोठमा क्षति र ८२२ चौपाया मरेका छन् । १३ पुलमा क्षति पुगेको छ । यस अवधिमा १५ करोड ९६ लाखको भौतिक क्षति भएको आकलन गरिएको छ ।
यस वर्ष सबैभन्दा ठूलो पहिरोको घटना चितवनको भरतपुरस्थित सिमलतालमा भएको छ । २८ असारमा सिमलतालमा पहिरो खस्दा दुई बस त्रिशूली नदीमा बगेका थिए । ६२ यात्रु नदीमा बगेकामा २४ जनाको मात्र शव फेला परेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
गत वर्ष २९ साउनसम्म पहिरोबाट ४२, चट्याङबाट २१ र बाढीबाट ११ जनाले ज्यान गुमाएका थिए । गत वर्ष दुई महिनामा १०२ जना घाइते भएका थिए । २०६ घर पूर्ण र ६९९ घरमा आंशिक क्षति पुगेको थियो । ४१ गोठमा क्षति हुँदा ४५१ चौपाया मरेका थिए ।