१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
विजय प्रसाद
Invalid date format ११:२४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भेनेजुएली जनताले दिए बोलिभेरियन क्रान्तिलाई निरन्तरता

Read Time : > 2 मिनेट
विजय प्रसाद
नयाँ पत्रिका
Invalid date format ११:२४:oo

भेनेजुएलाको तेल निर्यातलाई सहज बनाउन अमेरिकाले उग्र–दक्षिणपन्थी समूहबाट आफूलाई टाढा राख्नुपर्छ र मदुरोसँग संवाद गर्नुपर्छ

२८ जुलाईमा ह्युगो चाभेजको ७०औँ जन्मदिनमा निकोलस मदुरो भेनेजुएलाका राष्ट्रपति चुनिएका छन् । यो चुनाव सन् १९९९ मा बोलिभेरियन संविधान अनुमोदनयताको पाँचौँ निर्वाचन हो । मदुरोले जनवरी २०२५ मा आफ्नो तेस्रो ६ वर्षे कार्यकाल सुरु गर्नेछन् । सन् २०१३ मा चाभेजको निधनपछि बोलिभेरियन क्रान्तिको नेतृत्व मदुरोले सम्हाल्दै आएका छन् । त्यसयता उनले नेताका रूपमा आफ्नै वैधानिकता स्थापना गर्ने, भेनेजुएलाको तेल–निर्भर राजस्वलाई गम्भीर रूपमा प्रभावित गर्ने गरी सन् २०१४ को मध्यमा तेलको मूल्यमा आएको गिरावटलाई व्यवस्थापन गर्ने, अमेरिकी प्रतिबन्धको प्रतिक्रिया दिनेलगायत चुनौती सामना गर्नुपरेको थियो । यी कठिनाइका बाबजुद मदुरो एक दशकदेखि सत्तामा छन् ।

सन् २०१३ मा मदुरोको पहिलो विजयपछि उग्र–दक्षिणपन्थी विपक्षीले चुनावी प्रक्रियाको निष्पक्षतामा प्रश्न उठाइरहेका छन् । विगत एक दशकमा पुरातनपन्थी राजनीतिज्ञसँगको मेरो अन्तर्वार्ताले भेनेजुएलाको मजदुर वर्गमा चाभिस्मो विचारधाराको बलियो प्रभाव र मदुरोको संयुक्त समाजवादी पार्टी र कम्युन एवं युवा संगठन समावेश गर्ने व्यापक चाभिस्ता सञ्जालको संगठनात्मक शक्ति बलियो रहेको उनीहरूलाई अवगत छ । भेनेजुएलाका करिब आधा मतदाताले बोलिभेरियन परियोजनालाई निरन्तर समर्थन गर्दै आएका छन् र यसको सफलतासँग मेल खाने अर्को कुनै राजनीतिक शक्ति छैन, अर्थात् विपक्षीले चुनाव जित्न असम्भव महसुस गर्छन् । नतिजा दक्षिणपन्थीको रणनीति मदुरोको सरकारलाई भ्रष्टका रूपमा बदनाम गर्ने र चुनाव निष्पक्ष नभएको दाबी गर्नु रहेको छ । र, अहिले मदुरोको विजयपछि पनि उग्र–दक्षिणपन्थी विपक्षी, अमेरिका र यसका समर्थकले चुनावको आलोचना गरेका छन् ।

युरोपलाई अमेरिकी तेलको आवश्यकता : अमेरिका आफैँले सिर्जिएको द्विविधासँग जुधिरहेको छ । इरान र रुस दुवैमाथि कडा प्रतिबन्ध लगाएपछि अमेरिका अब आफ्ना युरोपेली सहयोगीलाई भरपर्दो ऊर्जा स्रोत उपलब्ध गराउन संघर्ष गरिरहेको छ । अमेरिका सजिलै प्रशोधित, उच्च मात्राको तेलको स्थिर आपूर्ति चाहन्छ, र भेनेजुएलाको तेलले यी मापदण्ड पूरा गर्छ । तर, भेनेजुएलामाथि अमेरिकी प्रतिबन्धका कारण यो तेल युरोपेली बजारमा पुग्दैन । अमेरिका यस मामिलामा सीमित विकल्पबीच फसेको छ ।

रुसी तेल प्रतिबन्धले निम्त्याएको क्षति पूरा गर्न जुन २०२२ मा अमेरिकाले एनी स्पा (इटलीको कम्पनी) र रेप्सोल एसए (स्पेनी कम्पनी) लाई भेनेजुएलाको तेल युरोपमा ढुवानी गर्न अनुमति दियो । यसले रुसमाथिको प्रतिबन्धका कारण भेनेजुएलाको तेलको आवश्यकतालाई स्वीकार गर्दै अमेरिकी रणनीतिमा परिवर्तन ल्यायो । त्यसयता अमेरिकाले बोलिभेरियन क्रान्तिको विरोध र भेनेजुएलाको उग्र–दक्षिणपन्थी विपक्षीसँगको सम्बन्धसाथ भेनेजुएलाको तेलको आवश्यकतालाई सन्तुलनमा राख्दै आएको छ ।

अमेरिका र भेनेजुएलाको उग्र–दक्षिणपन्थ : समाजवाद ल्याउने उद्देश्यले बनेको चाभिस्मो अभियानको उदयले नाटकीय रूपमा भेनेजुएलाको राजनीतिक परिदृश्यलाई नयाँ आकार दियो । परिणामतः एक्सिओन डेमोक्रासिया र कोपेईजस्ता परम्परागत दक्षिणपन्थी पार्टीको पतन भयो । सन् २००० र २००६ को चुनावमा मध्य–वामपन्थी समूहबाट नयाँ विपक्ष आयो र एक नयाँ दक्षिणपन्थी गुट देखा पर्‍यो, जसले पुँजीवाद, चाभिस्मोविरोधी र अमेरिकी समर्थकसँग गठबन्धन गर्‍यो । यस गुटमा लियोपोल्दो लोपेज, एन्टोनियो लेदेज्मा र मारिया कोरिना मचादोजस्ता प्रमुख व्यक्तित्व थिए । लोपेजले सन् २०१४ मा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेपछि उनलाई गिरफ्तार गरियो र उनी अहिले स्पेनमा बस्छन् । लेदेज्मा पनि सन् २०१७ मा स्पेन सरेका थिए र मचादोसँगै भोक्सद्वारा आयोजित उग्र–दक्षिणपन्थी म्याड्रिड चार्टरमा हस्ताक्षर गरेका थिए । मचादोले भेनेजुएलाको तेल उद्योगलाई निजीकरण गर्नुपर्छ भन्दै वकालत गर्दै आएकी छिन् ।

चाभेजको निधनपछि भेनेजुएलाको दक्षिणपन्थीले आफ्ना नेताबीच एकताको अभाव र प्रतिस्पर्धा गर्ने अहंकारसँग संघर्ष गरेको थियो । अमेरिकाले विपक्षीलाई एक एकीकृत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने प्रयास गर्‍यो, जसमा सबैभन्दा उल्लेखनीय प्रयास जनवरी २०१९ मा एक गुमनाम पात्र जुआन गुआइदोलाई राष्ट्रपतिका रूपमा पदोन्नति गर्नु थियो । यो प्रयास असफल भयो र डिसेम्बर २०२२ मा गुआइदोलाई उग्र–दक्षिणपन्थी विपक्षको नेताबाट हटाइयो । उनको निलम्बनपछि भेनेजुएला सरकार र विपक्षीबीचको सीधा वार्ता सहज बन्यो । 

अमेरिकाले प्रतिबन्ध कम गर्ने र भेनेजुएलाको तेललाई युरोपेली बजारमा पुर्‍याउने लक्ष्य राख्दै उग्र–दक्षिणपन्थी विपक्षीलाई भेनेजुएला सरकारसँग वार्ता गर्न दबाब दिएको थियो । यसले अक्टोबर २०२३ मा बार्बाडोस सम्झौता गरायो, जसले प्रतिबन्धमा राहत गर्ने कदमका रूपमा २०२४ को चुनावका लागि आह्वान गरेको थियो । २८ जुलाईको निर्वाचन यही सहमतिको परिणाम हो । उसो त मचादोलाई चुनावमा प्रतिबन्ध लगाइएको थियो, उनले आफ्नो छद्म उम्मेदवार एडमन्डो गोन्जालेजमार्फत चुनाव लडिन् र मदुरोविरुद्ध थोरै अन्तरले पराजित भइन् ।

मतदान समाप्त भएको २३ मिनेटपछि अमेरिकी उपराष्ट्रपति एवं आगामी निर्वाचनकी राष्ट्रपतीय उम्मेदवार कमला ह्यारिसले उग्र–दक्षिणपन्थीको हार स्वीकारको संकेत गर्दै ट्विट गरेकी थिइन् । यसले अमेरिकाले आफ्ना उग्र–दक्षिणपन्थी सहयोगीलाई पछ्याउने भेनेजुएला सरकारसँगको सम्बन्धलाई सामान्य बनाउने र युरोपमा तेल निर्यात पुनः सुरु गर्ने लक्ष्य राखेको संकेत देखाउँछ । अमेरिकी सरकारको यो परिवर्तित कदमले अन्य ल्याटिन अमेरिकी उग्र–दक्षिणपन्थी समूहबाट समर्थन खोजिरहेको र चुनावी धाँधलीको दाबीमा केन्द्रित उग्र–दक्षिणपन्थीलाई निराश बनाएको छ । भेनेजुएलाको तेल निर्यातलाई सहज बनाउन अमेरिकाले उग्र–दक्षिणपन्थी समूहबाट आफूलाई टाढा राख्नुपर्छ र मदुरोसँग संवाद गर्न आवश्यक छ । 

(प्रसाद भारतीय इतिहासकार, सम्पादक एवं पत्रकार हुन्) 
पिपुल्स डिस्प्याचबाट