.2024-08-01-11-08-07.jpeg)
एमालेले पार्टी अध्यक्षसहित तीन सय ५५ जना केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । केन्द्रीय तहका नेताहरूलाई अन्तर जिल्ला सरुवा गरेर काममा खटाउने एक वर्षअघिको निर्णय परिवर्तन गर्दै एमाले केन्द्रीय सचिवालयको बिहीबारको बैठकले मूल नेतृत्वसहित सबै केन्द्रीय सदस्यको कार्यविभाजन गरेको हो ।
जसअनुसार तीन सय ८५ सदस्यीय केन्द्रीय कमिटीमा मनोनीत भएका १६ केन्द्रीय सदस्य, पदेन केन्द्रीय सदस्यहरू रहेका केन्द्रीय निकाय र सात प्रदेश, केन्द्रीय कार्यालय सचिवसहित तीन विशेष प्रदेश अध्यक्षहरूको मात्र कार्यविभाजन भएको छैन, उनीहरूले सम्बन्धित कमिटीको नेतृत्व गर्नेछन् भने केन्द्रीय कार्यालय सचिवले कार्यालयको जिम्मेवारी सम्हाल्नेछ ।
एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनयन गर्नुका साथै एकीकृत समाजवादीबाट प्रवेश गरेका नेताहरूलाई पनि जिम्मेवारी दिएको छ । तत्कालीन उपाध्यक्ष सुबास नेम्वाङको निधनबाट रिक्त रहेको पदमा स्थायी कमिटी सदस्य तथा वागमती इन्चार्ज बराललाई मनोनयन गरेको हो । एकीकृत समाजवादी परित्याग गरेर प्रवेश गरेका मुकुन्द न्यौपाने स्थायी कमिटी सदस्य मनोनीत भएका छन् । पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ पनि स्थायी कमिटीमा मनोनीत भएका छन् । दक्षिण कोरियाका लागि राजदूत नियुक्त डा. शिवमाया तुङ्बाहाम्फेले राजीनामा दिएपछि रिक्त स्थानमा श्रेष्ठ मनोनीत भएका हुन् ।
उपाध्यक्ष युवराज ज्ञवालीले मन्त्रीहरूलाई सरकारकै जिम्मेवारीमा केन्द्रीत गरेर सबै केन्द्रीय सदस्यहरूलाई एक व्यक्ति ः एक मुख्य जिम्मेवारीको मापदण्डअनुसार नयाँ कार्यविभाजन भएको जानकारी दिए । उनका अनुसार सबै नेतालाई आफ्नै प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीत गर्ने उद्देश्यअनुसार नयाँ कार्यविभाजन भएको छ । सचिव रघुवीर महासेठले पोलिटब्यूरो सदस्य भएका जिल्लामा उनीहरूमध्येबाटै इन्चार्ज तोकिएको र नभएका जिल्लामा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिँदै अन्य केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्र केन्द्रीत जिम्मेवारी दिइएको बताए ।
यस्तो छ पदाधिकारीको कार्यविभाजन
पदाधिकारीहरूमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवको जिम्मेवारी यथावत् राखेर एमालेले सचिवहरूको जिम्मेवारी भने हेरफेर गरेको छ । जसअनुसार अध्यक्ष ओलीले समग्र नेतृत्व, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान प्रमुख र नीति तथा अनुसन्धानसँग सम्बन्धित विभागको जिम्मेवारी सम्हाल्नेछन् ।
सचिवहरू रघुवीर महासेठ विदेश विभाग प्रमुख, योगेश भट्टराई संसदीय विभाग प्रमुख, गोकर्ण विष्ट भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुख, छविलाल विश्वकर्मा स्थानीय तह विभाग प्रमुख, पद्यमा अर्याल लुम्बिनी इन्चार्ज र लेखराज भट्ट सुदूरपश्चिम इन्चार्ज भएका छन् । यसअघि महासेठ कोशी प्रदेश, भट्टराई मधेश प्रदेश, विष्ट गण्डकी प्रदेश, विश्वकर्मा सुदूरपश्चिम प्रदेश, अर्याल लुम्बिनी नै र भट्ट कर्णाली प्रदेश इन्चार्ज थिए ।
गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी भने स्थायी कमिटी सदस्य किरण गुरुङले पाएका छन् । उपाध्यक्ष विष्णु पौडेलबाहेक अन्य उपाध्यक्षहरूलाई यसअघि दिइएको केन्द्रीय विभागको अनुगमन र संयोजनको जिम्मेवारी यथावत् छ भने उपमहासचिवमध्ये प्रदीप ज्ञवालीले स्कुल विभाग, विष्णु रिमालले निर्वाचन विभागको जिम्मेवारी सम्हाल्नेछन् । संसदीय विभाग प्रमुख रहेका अर्का उपमहासचिव पृथ्बीसुब्बा गुरुङ भने मन्त्री भएकाले सरकारकै काममा केन्द्रीत हुनेछन् ।
यस्तो छ, स्थायी समिति सदस्यहरूको जिम्मेवारी
स्थायी समिति सदस्यहरू भीमप्रसाद आचार्य–पयर्टन तथा नागरिक उड्डयन विभाग, किरण गुरुङ गण्डकी इन्चार्ज, लालबाबु पण्डित सम्पर्क समन्वय इन्चार्ज, खगराज अधिकारी सहकारी तथा गरिवी निवारण विभाग, काशिनाथ अधिकारी संगठन विभाग, रघुजी पन्त संस्कृति विभाग, कृष्णगोपाल श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या विभाग, भानुभक्त ढकाल जनसंगठन समन्वय प्रमुख, शेरधन राई कोशी इन्चार्ज, यमलाल कँडेल मुख्यमन्त्री कर्णाली, अग्नि खरेल ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग, डा.राजन भट्टराई बागमती इन्चार्ज, सीता पौडेल महिला फाँट, बिन्दा पाण्डे अर्थ तथा योजना विभाग, गोरखबहादुर बोगटी कर्णाली, कर्णबहादुर थापा संघीय मामिला तथा सामान्य प्रशासन विभाग, राजेन्द्र गौतम प्रचार तथा प्रकाशन विभाग, थममाया थापा आदिवासी जनजाति फाँट, शेरबहादुर तामाङ सहरी विकास विभाग, हिक्मत कार्की मुख्यमन्त्री कोशी, मुकुन्द न्यौपाने श्रम तथा रोजगार विभाग, लीलानाथ श्रेष्ठ मधेश इन्चार्ज भएका छन् ।
सात प्रदेशमा इन्चार्ज तोकिए
एमालेले सातवटै प्रदेशमा स्थायी कमिटी सदस्यहरूबाट नयाँ इन्चार्ज तोकेको छ । जसअनुसार कोशी शेरधन राई, मधेश लीलानाथ श्रेष्ठ, बागमती डा. राजन भट्टराई, गण्डकी किरण गुरुङ, लुम्बिनी पद्मा अर्या, कर्णाली गोरखबहादुर बोगटी र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएका छन् ।
पोलिटब्यूरो सदस्यहरूको जिम्मेवारी हेरफेर
पोलिटब्यूरो सदस्यहरू अरुण नेपाल बुद्धिजीवी फाँट इन्चार्ज, देवी ज्ञवाली चितवन, पर्शुमेघी गुरुङ कोशी प्रदेश स्कुल प्रमुख, पुरुषोत्तम पौडेल, युवा तथा खेलकुद विभाग प्रमुख, आनन्दप्रसाद पोखरेल काठमाडौं, गोकुल बाँस्कोटा काभ्रे, महेश बस्नेत भक्तपुर, लीला गिरी रूपन्देही, जगत विश्वकर्मा खानेपानी तथा सरसफाइ विभाग, कमल चौंलागाईं रामेछाप, ईश्वरबहादुर रिजाल बागमती स्कुल, जितबहादुर दर्जी उत्पीडित जातीय फाँट, विनोद श्रेष्ठ मजदुर फाँट, सुमनराज प्याकुरेल सप्तरी, पार्वत गुरुङ दोलखा, भैरवसुन्दर श्रेष्ठ जाजरकोट, रामदयाल मण्डल महोत्तरी, दलबहादुर राना भूमि व्यवस्था विभाग, गोकुल घर्ती रोल्पा, टुकराज सिग्देल गण्डकी स्कुल, बैजनाथ चौधरी इन्जिनियरिङ फाँट, खेममान खड्का रुकुम र भूतपूर्व सैनिक, प्रहरी फाँट, राजेन्द्रसिंह रावल सुदूरपश्चिम स्कुल, नारदमुनि राना कैलाली, लीलाबहादुर थापा बाग्लुङ–२, सुजिता शाक्य उपत्यका विशेष, ज्वालाकुमारी साह बारा, मोहन बानिया मुगु, मञ्जुकमारी चौधरी उदयपुर, अच्युतप्रसाद मैनाली मधेश प्रदेश स्कुल, विशाल भट्टराई खोटाङ, गणेशसिंह ठगुन्ना दार्चुला, खिमलाल भट्टराई रूपन्देही–३ तथा विपद व्यवस्थापन स्वयंसेवक विभाग, दधिराम न्यौपाने उपभोक्ता तथा हित सुशासन विभाग, देवेन्द्र दाहाल मन्त्री, रामेश्वर फुयाँल काठमाडौं २, ठाकुर गैरे पाल्पा, तिलकुमार मेयाङ्बो ताप्लेजुङ, जुली महत्तो धनुषा, गौरी ओली डोटी, निरुदेवी पाल कञ्चनपुर, लीलाकुमारी भण्डारी कैलाली ५, शान्ता चौधरी दाङ ५, सीता गिरी ओली प्रतिष्ठान समन्वय, नरुलाल चौधरी दाङ, कृष्ण राई काठमाडौं ४ र ७, लक्ष्मी पोखरेल दैलेख, सूर्य थापा प्युठान, मनकुमारी जिसी बाग्लुङ, सुशीला नेपाल सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग प्रमुख भएकी छिन् ।
बर्तौलासहित १६ केन्द्रीय सदस्य मनोनीत
एमालेले प्रमुख सचेतक महेश बर्तौलासहित १६ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । जसअनुसार सुभाष कर्माचार्य सिन्धुपाल्चोक, जितेन्द्र देव सप्तरी, रामप्रीत राम सिराहा, कृष्णभक्त पोखरेल चितवन, कमल तिमिल्सिना अछाम, गोविन्द पुन सल्यान, केदार सिग्देल तनहुँ, मनोहर पौडेल विक पर्वत, हरदेव जोशी दार्चुला, हरि उप्रेती सर्लाही, इन्द्र भण्डारी झापा, महेश बर्तौला मकवानपुर, सरिता भुुसाल अर्घाखाँची, प्रभा कोइराला कास्की, मञ्जु शर्मा चालिसे बागलुङ, आशा जवेगु पाँचथर छन् । उनीहरूमध्ये कर्माचार्य, सिग्देल, चालिसे एकीकृत समाजवादीबाट आएका हुन् । बैठककले केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय अनुशासन आयोगलगायतका कमिटीमा पनि मनोनीत गरेको छ ।
कम्फरटेबल महसुस गरेको छु, परिणाम दिनसक्छु भन्ने आत्मविश्वास छ : ओली
प्रधानमन्त्री केपी ओलीले तेस्रोपटक प्रधानमन्त्री बन्दा बढी ‘कम्फरटेबल’ महसुस गरेको बताएका छन् । ‘म तेस्रोपटक प्रधानमन्त्री बनेको छु, कांग्रेससँगको सहकार्यमा यसपटक प्रधानमन्त्री बन्दा धेरै कम्फरटेबल महसुस गरेको छु,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘त्यसैले राम्रो परिणाम दिन सकिन्छ भन्ने आत्मविश्वास जागेको छ ।’ ओलीले कांग्रेससँग सहकार्य गर्न सहज बनेको र सभापति शेरबहादुर देउवासँग पनि राम्रो समन्वय र परामर्श भइरहेको जानकारी दिँदै काम गर्ने कुरामा धेरै सहज भइरहेको अनुभूति सुनाएका थिए । ‘पहिले निर्णय गर्न अप्ठ्यारो हुन्थ्यो, प्रचण्डको कुनै भर पनि थिएन, तर अहिले त्यस्तो अवस्था छैन, देउवाजीसँग राम्रो समन्वय भइरहेको छ, उहाँ सहज पनि हुनुहुन्छ, त्यसैले कुनै पनि काम गर्न समस्या देखिएको छैन,’ उनको भनाइ थियो ।
संक्रमणकालीन न्यायको मुद्दामा कार्यदलस्तरमा सहमति जुटेर शान्ति प्रक्रिया करिब टुंगोमा पुग्ने सकारात्मक र सुःखद परिणाम देखिएको भन्दै ओलीले यो सबैका लागि खुसीको विषय भएको बताएका थिए । आफ्नो नेतृत्वमा सरकार बन्नेबित्तिकै देश र जनतामा नयाँ उत्साह देखिएको भन्दै अर्थतन्त्र चलायमान हुँदै गएको अवस्था र सेयर बजारमा देखिएको उत्साहको परिघटनाले सकारात्मक सन्देश दिएको भनाइ राखेका थिर्ए ।